१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
उकी गोनी
२o८१ जेठ ६ आइतबार o९:२७:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

सत्तामा मिलेईका सय दिन : ट्रम्पवादभन्दा खतरनाक मार्गमा छन् अर्जेन्टिनी राष्ट्रपति

Read Time : > 3 मिनेट
उकी गोनी
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o९:२७:oo

ट्रम्पीय पपुलिजमका केही तत्व अँगालेको भए पनि मिलेई ट्रम्पभन्दा बढी दक्षिण अमेरिकाको इतिहासमा देखिइरहने बलवान नेताजस्ता छन् । उनी देशलाई बचाउने नाममा असाधारण शक्ति खोजिरहेका छन् । 

अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले पदभार सम्हालेको सय दिन पूरा भएको छ । डिसेम्बर १० मा शपथग्रहण गरेदेखि उग्र दक्षिणपन्थी लिबरटारियन नेता मिलेई उनकै शब्दमा अघिल्लो सरकारले सुरु गरेको ‘सार्वजनिक खर्चको लुट’लाई अन्त्य गर्ने मिसनमा लागेका छन् । मिलेईको अस्तव्यस्त कपाल, तिखो बोली र अर्जेन्टिनालाई ‘पुनः महान् बनाउने’ नाराका कारण धेरैले उनलाई अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग तुलना गरेका छन् । ट्रम्पजस्तै बाह्य उम्मेदवारका रूपमा चुनाव उठेर जितेका मिलेईले अहिले उनकै देशमा आफ्नो दृष्टिकोणमा विश्वास दिलाउन कठिनाइ भोगिरहेका छन् । 

स्वघोषित ‘अराजकतावादी–पुँजीवादी’ मिलेईले राज्यमाथि स्वतन्त्र–बजारको हस्तक्षेपमार्फत अर्जेन्टिनाको आकासिँदो उच्च मुद्रास्फीति अन्त्य गर्ने वाचा गरेर नोभेम्बरमा राष्ट्रपतिको दौड जितेका थिए । तर, अहिलेसम्म उनी आफ्नो चुनावी वाचा पूरा गर्न असफल भएका छन् । उनले पद सम्हालेको पहिलो महिनामा मुद्रास्फीति बढेर दोब्बर भएको थियो । यद्यपि अहिले यसमा केही सुस्तता आएको छ । त्यस्तै मिलेई राष्ट्रपति बनेपछि गरिबीको दर पनि बढेको छ, खुद्रा सामग्रीको बिक्री घटेको छ । यसले मिलेईविरुद्ध सडकमा ठुल्ठूला विरोध सुरु भएको छ । सदनले उनका सुधारका प्रस्ताव एकपटक होइन, दुईपटक अस्वीकृत गरिसक्यो । मिलेईका अनुसार यी प्रस्ताव पारित हुँदा अर्जेन्टिना ‘पुनः विश्व शक्ति’ मा रूपान्तरण हुनेछ । उनको सरकारले उतारचढाव सामना गर्दा अर्जेन्टिनामा एक बहस चलिरहेको छ । आखिर वास्तविक जेभियर मिलेई को हुन् ? आर्थिक दूरद्रष्टा कि शक्तिका भोका खलनायक, जसविरुद्ध हजारौँले देश बिक्रीलाई होइन भन्ने नारा लगाइरहेका छन् ? 

एउटा कुराचाहिँ निश्चितताका साथ भन्न सकिन्छ, मिलेई डोनाल्ड ट्रम्प भने होइनन् । संस्थापनविरोधी व्यक्तित्व र भड्काउ बयानबाजीले कतिले उनमा पूर्वअमेरिकी राष्ट्रपतिको व्यक्तित्व देखिन्छ, तर मिलेई दक्षिण अमेरिकी महादेशको त्यो लामो इतिहासका उत्पादन हुन्, जहाँ अधिनायकवाद आमअभ्यास र लोकतन्त्र अपवाद रह्यो । यद्यपि उनले उत्तर अमेरिकाबाट दक्षिण अमेरिकातर्फ बगेको ट्रम्पीय पपुलिजमका केही तत्वलाई अँगालेका भए पनि मिलेई ट्रम्पभन्दा बढी दक्षिण अमेरिकाको इतिहासमा देखिएका बलवान् नेताजस्ता हुन् । अझ उनलाई भेनेजुएयलाका पूर्वराष्ट्रपति ह्युगो चाभेजसँग तुलना गर्न सकिन्छ । वैचारिक रूपमा विपरीत कित्तामा रहेका भए पनि मिलेईले भेनेजुएलाका शक्तिशाली राष्ट्रपति ह्युगो चाभेजले जस्तै देशलाई बचाउने नाममा असाधारण शक्ति खोजिरहेका छन् । 

दशकौँदेखि खुला बजारका पक्षपाती अर्थशास्त्रीले प्रगतिशील आर्थिक नीतिले देशमा कसरी विपत्ति ल्याउँछ भन्ने चर्चित उदाहरणका रूपमा अर्जेन्टिनालाई पेस गर्दै आएका छन् । तिनको तर्कअनुसार अर्जेन्टिना १९औँ शताब्दीको उत्तरार्ध र २०औँ शताब्दीको प्रारम्भमा रुढिवादी शासकबाट शासित हुँदा विश्वको शीर्ष अर्थतन्त्रमध्ये एक थियो । जसै वामपन्थीहरू सत्तामा आए, तिनले धान्नै नसक्ने कल्याणकारी कार्यक्रममार्फत राज्यको खर्च बढाए र अर्जेन्टिनाको दीर्घकालीन मुद्रास्फीतिमा समस्या उत्पन्न भयो भन्ने तिनको तर्क छ । डिसेम्बर १० को उद्घाटन सम्बोधनमा मिलेईले अर्जेन्टिनाबारे यही तथ्य बढाइचढाइ गर्दै देश विगतमा ‘विश्वको सबैभन्दा धनी देश’ र ‘पश्चिमको पथप्रदर्शक’ भएको बताए ।

तर, खुला बजार अर्थशास्त्री र मिलेईले गर्व गरेजस्तो अर्जेन्टिनाको विगत त्यस्तो स्वर्णिम थिएन । सन् १८७४ र १९१६ बीचमा भएका चुनावमा धाँधली गर्दै एउटै राजनीतिक दल सत्तामा कायम रहेको थियो । त्यस अवधिमा अर्जेन्टिना कृषि शक्ति रहे पनि भ्रष्टाचार र वैदेशिक ऋण निकै उच्च थियो । त्यस्तै देशलाई एकपछि अर्को वित्तीय संकटबाट ग्रसित भएर कोष खाली हुँदा तत्कालीन सरकारले अहिले मिलेईले जस्तै सरकारी कम्पनी निजीकरण गरेर राज्यकोष बढाउने प्रयास गरेका थिए । अर्जेन्टिनाको वर्तमान लोकतान्त्रिक अवधि सन् १९८३ देखि सुरु भएको हो र यो देशको २०८ वर्षको इतिहासमा सबैभन्दा लामो लोकतान्त्रिक चरण हो । सन् १८१६ मा स्पेनको शासनबाट स्वतन्त्र भएदेखि नै अर्जेन्टिनाको अर्थतन्त्र मुद्रास्फीति, वैदेशिक ऋण र विभिन्न संकटमा फस्ने गरेको छ । यसलाई समाधान गर्न देशका तानाशाह र प्रजातान्त्रिक रूपमा निर्वाचित शासक (चाहे ती वामपन्थी हुन् वा दक्षिणपन्थी) दुवै अक्षम रहँदै आएका छन् । 

मिलेईले गत वर्ष देशले लामो समयदेखि समना गर्दै आएको आर्थिक पीडाको अन्त्य गर्ने वाचाका साथ मतदाताको मत जिते । उनले आर्थिक समस्याको मूल कारण ‘सामाजिक न्यायको विचलन’लाई ठम्याएका छन् । उनले अघि सारेका धेरै आर्थिक नीतिहरू २०औँ शताब्दीका अमेरिकी लिबरटारियन अर्थशास्त्री मरे रोथबार्डको कामबाट प्रेरित छन् । नाजीहरूले यहुदीहरूमाथि गरेको ज्यादती अस्वीकार गर्नेहरूलाई मित्र बनाएका रोथबार्डलाई आलोचकहरूले जातीय विभाजनलाई समर्थन गरेको आरोप लगाएका थिए । चुनावको समयमा मिलेईले भन्ने गरेका ‘कर प्रणाली चोरी हो’ भन्ने नारा र देशको केन्द्रीय बैंक खारेज गर्ने प्रस्ताव खासमा रोथबार्डका विचार हुन् । 

अर्जेन्टिनाको कल्याणकारी कार्यक्रमहरू कटौती गर्न र शिक्षा र स्वास्थ्य सेवाबाट सरकारको भूमिका कटाउन सुरु गरिसकेका छन् । अहिलेसम्म, मिलेईको लिबरटारियन दृष्टिकोणले राजनीतिक प्रतिरोध सामना गरिरहेको परिप्रेक्ष्यमा अहिलेसम्म उनले लोकतन्त्रलाई कैद गर्ने विचार राखेका छैनन् । कंग्रेस(संसद)को स्वीकृति विनालागत कटौती सुधारसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने अधिकार आफूलाई प्रदान गराउने अध्यादेश सिनेटले उल्टाइदियो । (तथापि, तल्लो सदनले यसलाई खारेज नगरेसम्म यो विधेयक लागू रहन्छ, तथापि सो सदनसँग पनि राष्ट्रपतिको सुमधुर सम्बन्ध छैन ।) 

गत महिना मात्रै विपक्षी दलले मिलेईको खुला बजार सुधारको महत्वाकांक्षी विधेयक फिर्ता लिन बाध्य पारेको थियो । त्यसपछि मिलेईले अध्यादेशको सहारा लिएका थिए । सो विधेयक लागू भएको भए सरकारी कम्पनी निजीकरण गर्ने बाटो खुल्ने थियो । वातावरणीय असर न्यूनीकरण गर्नेसम्बन्धी कानुन र श्रमिक रक्षा गर्ने कानुन खारेज हुने थियो । अर्थतन्त्रका विशाल क्षेत्रमाथि राज्यको नियमन हट्ने थियो । एक रिपोर्टअनुसार मिलेईले आर्थिक विधेयक लागु नहुने अवस्थामा कांग्रेस भंग गर्न सक्नेसम्म सोचेका थिए । 

मिलेईले उनको नीति लागू गर्न अर्जेन्टिनाको उतारचढावपूर्ण लोकतन्त्रको सीमा जाँच गरिरहेका हुन सक्छन् । मिलेईका नीतिहरूले आधारभूत वस्तुहरूको मूल्यलाई नियन्त्रण गरे पनि अर्जेन्टिनी नागरिकले जनस्वास्थ्य नीति खारेज भएको सहन सक्नेछैनन् । न त उनीहरूले निर्वाचित नेताले विधायिका बन्द गर्ने धम्कीलाई नै राम्रो मान्नेछन् । अर्को कुरा, अर्जेन्टिनी अर्थतन्त्र मिलेई र उनका जस्ता विचारधारा बोकेका अर्थशास्त्रीले भनेजस्तो विकराल आर्थिक विपत्तिमा छैन । यहाँ कैयौँ औद्योगिक आधार छन् र यो अझै एक प्रमुख कृषि निर्यातक मुलुक हो । अझै पनि अर्जेन्टिनामा ल्याटिन अमेरिकाको दोस्रो–उच्च मानव विकास सूचकांक छ । मिलेईको जितलाई धनाढ्यहरूले स्वागत गरे पनि उनले अर्जेन्टिनाका बहुसंख्यक मध्यमवर्गलाई पनि मनाउन सक्नुपर्छ । मुद्रास्फीति अर्जेन्टिनाले देशको लामो इतिहासमा बिरलै नियन्त्रण गरेको छ र यदि यसलाई मिलेईले चुनावमा वाचा गरेअनुरुप चाँडै घटाउन सकेनन् भने उनी सफल हुन सक्नेछैनन् । त्यसपछि उनी धनाढ्यले हिरो बनाउन खोजेका नेताका रूपमा होइन, सर्वशक्तिमान नेता हुन खोजेका अर्का दक्षिण अमेरिकी नेताका रूपमा सम्झिइनेछन् । 

– द न्युयोर्क टाइम्सबाट

ad
ad