१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०८० चैत १३ मंगलबार ०८:४६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

क्यालेन्डर निर्माणमा त्रिवि उपकुलपतिको ध्यान : परीक्षा सकिएको तीन महिनामा नतिजा प्रकाशन, तीन संकायलाई छुट्टै नियम 

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०८० चैत १३ मंगलबार ०८:४६:००

त्रिभुवन विश्वविद्यालय उपकुलपति प्रा.डा. केशरजंग बराल नयाँ क्यालेन्डर निर्माणमा केन्द्रित भएका छन् । विगतका वर्षहरूमा जारी भएका क्यालेन्डर फितलो र समयसापेक्ष नभएको भन्दै उनी विद्यार्थी र अभिभावकको आकर्षण बढाउन नयाँ क्यालेन्डर निर्माण र कार्यान्वयनमा लागेका हुन् ।

उपकुलपति बरालले नयाँ क्यालेन्डरमा त्रिविले गर्ने तिथिमितिसहित हरेक कार्यक्रम समेट्ने गरी ड्राफ्ट तयार पार्न परीक्षा नियन्त्रण कार्यालय बल्खुलाई निर्देशन दिइसकेका छन् । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगन्द्रप्रसाद दाहालका अनुसार क्यालेन्डर व्यवस्थित गर्न डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यालयसँग तथ्यांक तथा विवरण माग गरिसकिएको छ । यसपटक नयाँ क्यालेन्डर बनाउँदा मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकायलाई छुट्टै मापदण्ड बनाउने योजनामा उपकुलपति छन् । यी संकायको परीक्षा तालिका डामाडोल हुँदा विद्यार्थीमा नैराश्यता छ भने पलायन हुने क्रम बढ्दो छ ।

प्रा.डा. केशरजंग बराल, उपकुलपति, त्रिभुवन विश्वविद्यालय
मेरो पहिलो योजना भनेको त्रिविको क्यालेन्डर लागू गरी शैक्षिक क्षेत्र सुधार्ने हो । क्यालेन्डर तय हुँदै छ, यसमा सबैले साथ दिनुपर्छ । पदाधिकारी पनि मेरो ‘च्वाइस’को हुनुपर्छ, यसो भयो भने काम गर्न सहज हुन्छ । अनुकूल टिम भए मात्रै त्रिवि सुधार गर्न सकिनेबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको छु ।

नयाँ क्यालेन्डर निर्माण गर्दा नतिजा सार्वजनिक गर्ने पुरानो शैली पनि परिवर्तन गरिँदै छ । उपकुलपति बरालले आगामी वैशाखदेखि हुने सबै परीक्षाको नतिजा तीन महिनाभित्र अनिवार्य रूपमा निकाल्न परीक्षा नियन्त्रक कार्यालय बल्खुलाई निर्देशन दिएका छन् । उनले यो विषय नयाँ क्यालेन्डरमा पनि समेटेका छन् । उक्त शैक्षिक क्यालेन्डर एक साताभित्रै सार्वजनिक हुनेछ । नयाँ क्यालेन्डरमा कपी जाँच भएको मितिको विवरण अनिवार्य भर्नुपर्ने, शिक्षकले घरमा वा बाहिर लगेर उत्तरपुस्तिका चेकजाँच गर्न नपाउने, उत्तरपुस्तिका चेकजाँचको समयसीमा तोक्ने, नतिजा निकाल्दा विषयगत विवरण एकैपटक सार्वजनिक गर्नुपर्ने, रेगुलर र ‘ब्याक’ तर्फको परीक्षा र नतिजा छुट्टाछुट्टै सार्वजनिक गर्नुपर्नेलगायत व्यवस्था छ । 

शिक्षामन्त्री सुमना श्रेष्ठले पनि नयाँ क्यालेन्डर तय गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिइसकेकी छिन् । ‘योजनाअनुसार काम गर्न त्यहीअनुसारको क्यालेन्डर चाहिन्छ, त्यसकारण उपकुलपतिज्यूले नयाँ क्यालेन्डर बनाउदा नयाँ विषय समेट्दै हुनुहुन्छ,’ सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख दाहालले भने, ‘भर्ना प्रक्रिया, क्रेडिट आवर र विद्यार्थीको समय खेर जाने अवस्थालाई बढी ख्याल गरिएको छ ।’ उपकुलपति बरालले पनि क्यालेन्डर सच्चियो भने त्रिविको शैक्षिक गतिविधिमा आमूल सुधार हुने विश्वास व्यक्त गरे । 

त्रिविमा अहिले चुनौतीका चाङ छन् । एकातिर राजनीतिक दबदबा छ भने अर्कातिर भद्रगोल संरचना छन् । खस्कँदै गरेको शैक्षिक क्षेत्र, कर्मचारी र विद्यार्थीपिच्छेका भ्रातृसंगठन, अराजक विद्यार्थी नेता, त्रिविको जग्गा हडप्न कस्सिएका स्थानीय समुदाय, शिक्षक व्यवस्थापनलगायत जिम्मेवारी उनको काँधमा छ । अझ योभन्दा पनि महत्वपूर्ण जिम्मेवारी भनेको आमअभिभावक र विद्यार्थीमा त्रिवि सुधारको संकेत दिने गरी काम गर्नु हो । त्यसका लागि समयमा परीक्षा सञ्चालन गर्ने, समयमा परीक्षा फल सार्वजनिक गर्ने, पाठ्यपुस्तक अपडेट गर्ने, विद्यार्थीलाई आकर्षण गर्न नयाँ प्रयोगात्मक सिकाइका कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थी ड्रपआउट रोक्न ध्यान दिनुपर्छ । 

त्यसो त त्रिविका कतिपय संकायमा पढाइ नै नभएको गुनासो पनि छ । ‘त्रिविका नियमित कक्षा सञ्चालन नहुने, समयमा कोर्स नसकिनेलगायत समस्या पनि छन्,’ उपकुलपति बरालले भने, ‘यी समस्या समाधान गर्न म लागिपर्छु ।’ उनले बाहिर हावा चलेजस्तो त्रिवि नखस्किएको दाबी पनि गरे । तर चारवर्षे कार्यक्रमले विद्यार्थीलाई निरुत्साहित पारेको भने स्वीकार गरे । त्यसका लागि आगामी एक वर्षभित्र स्नातक तहलाई तीन वर्षमा झार्ने गरी काम गर्ने उनको भनाइ छ । ‘त्रिविको क्वालिटी खस्केको होइन, यसको भीमकाय स्वरूप छ, तर व्यवस्थापनमा चुनौती भने छ, यदि व्यवस्थापन सहज भयो भने त्रिविको कायापलट गर्न समस्या हुँदैन,’ उनले भने, ‘सरकारको टियूलाइ रि–इस्ट्रक्चर गर्ने योजना पनि छ ।’ 

‘विश्वविद्यालयमा विद्यार्थी राजनीति हुनुहुँदैन’
उपकुलपति प्रा.डा.बराल विद्यार्थी नेताहरूबाट हुने हस्तक्षेपबारे पनि सचेत छन् । उनी विश्वविद्यालयमा राजनीति दल अनावश्यक भएको धारणा राख्छन् । विद्यार्थी नेताहरूको अवरोध र हस्तक्षेपका कारण त्रिवि अस्तव्यस्त हुने गरेको इतिहास सच्याउने योजनामा छन् । तर, आफूले गरेका जायज काममा पनि पार्टीगत रूपमा विद्यार्थी नेताहरूले विरोध गर्ने र तालाबन्दी गर्न सक्ने भएकाले त्यसले आफूलाई काम गर्न कठिन पर्ने उनले बताए । ‘मैले त्रिविलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न खोजिरहेको छु, विद्यार्थी राजनीति विश्वविद्यालयमा आवश्यक देखिँदैन,’ उनले भने, ‘मैले मात्रै चाहेर मात्रै त्रिविलाई राजनीतिबाट मुक्त गर्न सक्दिनँ, राजनीतिक दल, सरकार, विद्यार्थी अभिभावक सबैले सहयोग गर्नुपर्छ । त्रिविलाई राजनीतिक हस्तक्षेपबाट मुक्त पारेर व्यवस्थित बनाउनुपर्छ ।’ 

ढुंगामुढा गर्ने प्रवृत्ति त्याग्नुपर्छ 
उपकुलपति बरालले राजनीतिक दल र सरकारले विश्वविद्यायल बिग्रिने गरी निर्णय तथा हस्तक्षेप गर्न नहुने भन्दै त्रिविमा ढुंगामुढा गर्ने प्रवृत्ति त्याग्नुपर्ने बताए । ‘जुनसुकै दलमा आस्था राख्ने भए पनि विश्वविद्यालयको ‘मेसिनरी’मा पसेपछि यहाँको ऐनमा बसेर काम गर्नुपर्छ, आफू निष्ठावान बनेर काम गरियो भने त्रिवि सुध्रिन्छ,’ उनले भन, ‘त्रिविका कतिपय चारवर्षे कार्यक्रमलाई तीनवर्षेमा झार्ने योजना पनि छ, यसका लागि विधिविधानअनुसार काम हुन्छ ।’ उनले आफू मेरिटकै आधारमा भिसी भएको र प्रतिस्पर्धाबाट आएको बताउँदै यसबारे कुनै पनि राजनीतिक सम्झौता नभएको दाबी गरे ।