
तल्लोदेखि माथिल्लो तहका कर्मचारीहरू अपराध कर्ममा संलग्न हुने अवस्था किन आउँछ ?
यही कारणले कर्मचारीहरू अपराध कर्ममा लाग्छन् भन्न त सकिन्न । तर, व्यक्तिगत इन्ट्रेस्टका कारण कोही यस्ता कार्यमा लागेका हुन सक्छन् । यसलाई संस्थागत गर्न मिल्दैन । सबै कर्मचारी एकै किसिमका छन् भनेर मुछ्न पनि हुँदैन । नैतिकता, सदाचार र देशका नियम, कानुन बिर्सन थालेपछि यस्तो हुन्छ । आफ्नो पदीय मर्यादा र जिम्मेवारी भुलेर अतिरिक्त आर्जनमा रमाउन थालेपछि यस्तो अवस्था आउँछ । अहिले यो क्रम बढ्यो भन्न मिल्दैन । यस्तो प्रवृत्तिका कर्मचारी जहाँसुकै या जुनसुकै देशमा हुन्छन्, हामीकहाँ मात्र होइन ।
यो प्रणालीगत समस्या हो कि व्यक्तिगत ?
यो प्रणालीगत होइन, व्यक्तिगत समस्या नै हो । हाम्रो प्रणाली केही कमजोर भएर या प्रणालीमा कुनै छिद्र भएर यस्तो भएको हुन चाहिँ सम्भव छ । सेवा प्रवेशसँगै कुनै एजेन्ट, गिरोहसित लहसिने स्वभावले गर्दा पनि यस्तो हुने हो । जे–जे भए पनि यसमा सम्बन्धित व्यक्तिबाहेक अर्को कोही जिम्मेवार हुँदैन ।
यसमा सुधार ल्याउन के गर्नुपर्ला त ?
यसका लागि कानुनी व्यवस्था नभएका होइनन् । सजाय र जरिवानाको व्यवस्था पनि ठीकै छ । राज्यले दिने सेवा सुविधा कमजोर भएर यस्तो भएको भन्ने पनि होइन । किनकि, सेवा प्रवेश गर्दा सेवा, सुविधाबारे पहिल्यै अवगत भएकै हुन्छ । शपथ पनि लिएकै हुन्छ । त्यसैले, प्रणालीमा कमजोरी छन् भने सुधार्न सकिन्छ । तर, त्योभन्दा पहिले व्यक्ति स्वयं इमानदार र नैतिक आचरणयुक्त हुनुपर्छ ।