१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:o१:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भूकम्पले भत्किएका सात सय विद्यालय भवन पुनर्निर्माणका लागि चार अर्ब स्रोत सुनिश्चित

०७२ को भूकम्पपछिको पुनर्निर्माणमा खर्च नभएको तीन अर्ब पनि विद्यालय पुनर्निर्माणमा खर्च गरिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:o१:oo

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम खारेज गरी बजेट पुनर्निर्माणमा खर्च गरिने
१६ असोजमा बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पले भत्काएको बाजुरा त्रिवेणी नगरपालिका– ५ किम्नीको जनज्योति आधारभूत विद्यालयको भवनमा जोखिम मोलेरै पठनपाठन । भूकम्पले एक दुईकोठे र एउटा इसिडी कक्षा सञ्चालन हुने भवन भत्काएको छ । जनज्योतिमा कक्षा तीनसम्म पढाइ हुन्छ । तस्बिर : गगन अयडी/नयाँ पत्रिका

सरकारले चार वर्षअघि सुरु भएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम खारेज गरी उक्त बजेट भूकम्पबाट भत्किएका विद्यालय भवन पुर्निर्माणमा खर्च गर्ने तयारी गरेको छ । जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएका भूकम्पको पुनर्निर्माणमा कम्तीमा एक खर्ब दायित्व थपिने भएपछि स्रोतको चापमा रहेको सरकारले उपलब्धिविहीन कार्यक्रम खारेज गर्ने क्रममा राष्ट्रपति शैक्षिक सुधारलाई पहिलो प्राथमिकता राखेको हो ।

शिक्षा मन्त्रालयका अन्य कार्यक्रमसँग जुधेको र बजेट दुरुपयोग भएको भन्दै आलोचना भइरहेका वेला आगामी आर्थिक वर्ष ०८१/८२ देखि यो कार्यक्रममा बजेट विनियोजन नगर्नेबारे अर्थमन्त्री वर्षमान पुन र शिक्षामन्त्री सुमना श्रेष्ठसहितको छलफल भएको छ । मन्त्री पुनका अनुसार राष्ट्रपति शैक्षिक सुधारको चालू आवमा विनियोजन भएको बजेट विद्यालय भवन पुनर्निर्माणमा खर्च गरिनेछ भने आगामी आवबाट यो कार्यक्रममा बजेट विनियोजन हुने छैन । 

‘पछिल्ला भूकम्पका पूर्ण र आंशिक गरी करिब सात सय विद्यालय भवन भत्किएका छन्, पुनर्निर्माण गर्नुपर्नेछ । आगामी आवबाट राष्ट्रपति शैक्षिक सुधारमा बजेट विनियोजन हुँदैन, पुनर्निर्माणमा खर्च हुन्छ,’ मन्त्री पुनको भनाइ उद्धृत गर्दै प्रेस संयोजक दयानिधि भट्टले भने । 

शिक्षामन्त्री श्रेष्ठका निजी सचिव प्रकाश सापकोटाका अनुसार यो वर्ष राष्ट्रपति शैैक्षिक सुधार कार्यक्रममा एक अर्ब बजेट विनियोजन भएको छ, जुन अहिलेसम्म खर्च भएको छैन । 

०७२ को भूकम्पपछिको पुनर्निर्माणमा खर्च नभएको तीन अर्ब पनि विद्यालय पुनर्निर्माणमा खर्च हुने
०७२ को भूकम्पपछिको पुनर्निर्माणमा खर्च नभएको शिक्षातर्फको तीन अर्ब १५ जिल्लामा विद्यालय भवन पुनर्निर्माणमा खर्च गरिने भएको छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा)का उपसचिव जीवनबहादुर भण्डारीका अनुसार एसियाली विकास बैंक र जाइकाले पनि जोगिएको तीन अर्ब पछिल्लो भूकम्पछिको पुनर्निर्माणमा खर्च गर्न तयार भएका छन् । 

‘एडिबी र जाइकाले विद्यालय भवन पुनर्निर्माणमा सघाएका थिए, जोगिएको रकम जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएका भूकम्पछिको पुनर्निर्माणमा खर्च हुने तय भएको छ,’ उनले भने ।

जाजरकोटको बारेकोट गाउँपालिका– १ लामिडाँडा केन्द्रबिन्दु भएर १७ कात्तिक राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसअघि १६ असोजमा बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको थियो । दुबै भूकम्पका कारण १५ जिल्लामा पूर्ण र आंशिक गरी करिब ७ सय विद्यालय भवन भत्किएका तथ्यांक रहे पनि बजेट अनुमान भइसकेको छैन ।