मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format o८:o२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सीप सिकेर स्वरोजगार बन्दै विपन्न महिला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:o२:oo

तिला गाउँपालिका– ७, तुहीगाउँकी २४ वर्षीया रमिता रावत घरेलु हिंसापीडित महिला हुन् । चैत ०७८ मा घरबाट निकालिएपछि सोही पालिकाको राँसा गाउँस्थित आफ्नो माइतीघर बस्दै आएकी रावत अहिले जीविकोपार्जन गर्न कपडा सिलाउने सीप सिकिरहेकी छिन् ।

घरेलु हिंसापछि उनले हालेको सम्बन्धविच्छेदको उजुरी अहिले न्यायालयमा विचाराधीन छ । जीवन कष्टकर बन्दै गएपछि उनी अहिले सीप सिकेर स्वरोजगार हुने बाटोमा लागेकी छिन् । किर्डाक नेपाल जुम्लाले सञ्चालन गरेको ४५ दिने सिलाइकटाइ तालिममा उनले कपडा सिलाउने सीप सिकिरहेकी छिन् । अघिल्लो वर्ष दुई महिनाको तालिममा सामान्यतया कुर्ता–सुरुवाल, बच्चाका कपडा सिलाउन सिकेकी रमिताले अहिले सर्ट–पाइन्ट सिलाउने सीप सिकिरहेकी छिन् । 
सिलाइकटाइको दुई चरणको तालिमपछि तिला गाउँपालिका– ३, त्रिवेणी बजारमा व्यावसायिक रूपमा कपडा सिलाउने पसल सञ्चालन गर्ने योजना रहेको रमिताले बताइन् । उनले भनिन्, ‘यही व्यवसाय सञ्चालन गरेर छोरालाई पालनपोषण र पढाउने सोच बनाएकी छु ।’ 

तिला गाउँपालिका– ७, पोख्री गाउँकी २७ वर्षीया जौकली रोकाया अपांगता भएकी व्यक्ति हुन् । उनको बायाँ आँखा दृष्टिविहीन छ । दुई छोराकी आमा जौकली पनि जीविकोपार्जन गर्न कपडा सिलाउने सीप सिकिरहेकी छिन् । अघिल्लो वर्ष दुई महिना आधारभूत तालिम लिएकी जौकलीले अहिले ४५ दिने स्तरवृद्धिको सिलाइकटाइ तालिम लिएकी हुन् । यही सीप सिकेर आयआर्जन गरी जीविकोपार्जन गर्ने लक्ष्य रहेको उनले बताइन् । ‘सीप सिकेर गाउँमै यही व्यवसाय गरेरै जीविकोपार्जन गर्न योजना रहेको छ,’ उनले भनिन्, ‘घरको सामान्य खेतीपातीले बाह्रै महिना खान–लाउन पुग्दैन । श्रीमान् जीविकोपार्जनकै लागि इन्डिया (भारत) जाने गर्नुहुन्छ ।’ 

रमिता र जौकलीजस्ता १८ विपन्न महिला तिला गाउँपालिका– १, रारालिही बजारमा सिलाइकटाइ सीप सिकिरहेका छन् । उनीहरूलाई सीपमूलक बनाउन किर्डाक नेपाल, वल्र्डभिजन र गाउँपालिकाको समन्वयमा ४५ दिने सिलाइकटाइ तालिम सञ्चालन गरिएको हो ।  

किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक दीपराज रावतका अनुसार ग्रामीण भेगका विपन्न महिलालाई सीप सिकाएर जीविकोपार्जनको आधार बन्ने अपेक्षा गरिएको छ । ‘सीप सिकाउने र उनीहरूको व्यवसायका लागि चन्दननाथ सहकारीमार्फत सहुलियत ऋणको पनि व्यवस्थापन गरेका छौँ,’ उनले भने, ‘किर्डाक नेपाल जुम्लाले सीप सिकेर स्वरोजगार बन्न व्यवसाय गर्ने सहकारीमार्फत सहुलियत ऋण उपलब्ध गराउन चन्दननाथ सहकारी जुम्लालाई १२ लाख रकम अनुदान उपलब्ध गरिएको छ ।’ 

किर्डाकले सिलाइकटाइसँगै कुकिङ, अटो वर्कसप, मोबाइल मर्मत, पम्बिङ, हाउस वाइरिङ, फर्निचरका न्यूनतम एक महिनादेखि ४५ दिनसम्मका सीप सिकाउने तालिम सञ्चालन गरिएको छ । करिब ८० जना युवाले सीप सिकिरहेका छन् । सीप सिकेका युवालाई व्यवसायसँग जोड्न बैंक, वित्तीय तथा सहकारी क्षेत्रसँग पनि सहकार्य भइरहेको संयोजक रावतले बताए ।