१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नवराज मैनाली काठमाडाैं
२०८० चैत ११ आइतबार ०८:२४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

आइजिपी वसन्त कुँवरका एक वर्ष : नक्कली शरणार्थीदेखि सुनकाण्डसम्मको अनुसन्धान

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०८० चैत ११ आइतबार ०८:२४:००

गत वर्ष ११ चैतमा वसन्त कुँवरले आइजिपीको दर्ज्यानी चिह्न लगाएको र नक्कली भुटानी शरणार्थी ठगीमा संलग्नले हत्कडी लगाएको दिन एउटै परेको थियो । यो संयोग मात्र थिएन, प्रहरीको एउटा रणनीतिक कदमसमेत थियो । विगतमा गृह प्रशासन तथा प्रहरी प्रशासनको दबाबमा रोकिएको भुटानी शरणार्थी ठगी प्रकरण नेतृत्व फेरिएकै दिनबाट अनुसन्धान अघि बढेको थियो । त्यो अनुसन्धानले प्रहरीको साख बढायो, तर प्रहरी नेतृत्वमाथि भने प्रश्न खडा गर्‍यो । 

प्रहरीले इतिहासमै पहिलोपटक पूर्वगृहमन्त्री, सचिवसहितका हाइप्राफोइल व्यक्तिमाथि पक्राउ गरी अनुसन्धान गरेको थियो । तर, आइजिपी कुँवर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहँदा यसका आरोपीहरूलाई सोधपुछमा बोलाएर पनि अनुसन्धानको दायरामा नल्याएको खुलेपछि उनीमाथिसमेत प्रश्न उठेको थियो । यद्यपि, कुँवरले आइजिपी हुँदा उच्चपदस्थसम्मलाई कानुनी दायरामा ल्याउने कामको नेतृत्व गरे । 

कुँवरले प्रहरी नेतृत्व सम्हालेको एक वर्ष पुगेको छ । अहिले अर्काे हाइप्रोफाइल घटनामा महानिरीक्षकले सशक्त भूमिका खेल्न नसकेको भनेर प्रश्न उठिरहेको छ । ब्रेक सु तथा विद्युतीय चुरोटमा लुकाएर भएको सुन तस्करीमा सिआइबीले निष्पक्ष अनुसन्धान गर्न नसकेको भन्दै जाँचबुझ आयोगले यसमा कारबाही सिफारिस गरेको छ । पहिला, अनुसन्धानलाई सही भनेकामा अहिले गलत ठहर गरी त्रुटि औँल्याएपछि यस प्रकरणमा पनि उनको भूमिकामाथि प्रश्न उठेको छ ।  

डिआइजी भीमप्रसाद ढकाल प्रवक्ता, नेपाल प्रहरी 
यो एक वर्षको अवधिमा अपराध रोकथाम र अनुसन्धानमा महत्वपूर्ण प्रगति भएको छ । संस्थागत सुधारका काम पनि भएका छन्, केही प्रक्रियामै छन् ।

कुँवरको नेतृत्वमा पछिल्लो एक वर्षमा नेपाल प्रहरीले हाइप्रोफाइल घटनाको अनुसन्धान गरेको छ । त्यसमा कतिपय अवस्था प्रहरीले प्रशंसा कमाएको छ भने कतिपयमा आलोचना । तर, समग्रमा एक वर्षको अवधिमा प्रहरीले पहुँचवाला व्यक्तिलाई कानुनी दायरामा ल्याएर कानुनी शासनको राज दिन प्रहरी सफल भएको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । यद्यपि, अनुसन्धानमा भएका कतिपय त्रुटि र बद्नियतले प्रहरी पनि विवादमा पर्दै आएको छ । कुँवरकै नेतृत्वमा बालुवाटार जग्गा हिनामिना मुद्दा पनि अदालतसम्म पुग्यो । यसमा पनि केही व्यक्तिहरू प्रमाण हुँदाहुँदै पनि मुद्दा नचलाएको भन्दै प्रश्न उठेको थियो । 

हाई प्रोफाइल घटनालाई अनुसन्धान गर्ने हिम्मत गरेका आइजिपी कुँवरले प्रहरी अधिकारीको मनोबल भने बढाउन सकेका छैनन् । उदारणका लागि प्रहरीमा डिएसपीबाट एसपीमा बढुवा महिनौदेखि अलपत्र छ । आठ पद रिक्त छन्, तर १२ जना प्रतिस्पर्धीको टक्करका कारण यसको असर आकांक्षीलाई त परेको छ नै, तल्लो तहसम्म बढुवा रोकिएको छ । यसमा प्रहरी महानिरीक्षककै भूमिका कमजोर रहेको प्रहरी अधिकारी बताउँछन् । 

सरुवामा पनि नियमित हुन सकेको छैन । एक वर्षमा हुने एसपी र डिएसपीको सरुवा टक्करकै कारण १३ महिनापछि मात्र भयो । ‘क’ श्रेणीका जिल्लामा एसपी पठाउँदा राजनीतिक नेतृत्व नै हाबी भएको स्रोत बताउँछ । यद्यपि, सरुवामा नयाँ मापदण्ड बनाएर ‘क’ वर्गको जिल्लामा बसेकालाई दोस्रोपटक बस्न नपाउने नियम कार्यान्वयनमा ल्याइएको छ । 

कुँवरको नेतृत्वमा केही सुधारका काम पनि भएका छन् । आइजिपीमा नियुक्त भएलगत्तै उनले काजको विकृतिलाई रोक्ने अभियान चलाए । तर, त्यसमा थोरै मात्र सफल भए । तराईका महत्वपूर्ण कार्यालयमा वर्षाैँदेखि कार्यरत घुमुवालाई भने उनलाई हटाएर संगठनमा शुद्धीकरण अभियान चलाउन सफल भए । जसकारण कतिपय प्रहरीले त राजीनामा नै दिएको एक प्रहरी अधिकारीहरू बताउँछन् । संस्थागत सुधारअन्तर्गत प्रहरी कार्यालयमा वर्षौंदेखि बेबारिसे रहेका सवारीसाधन हटाउने प्रक्रिया अघि बढाएका छन् । अपराधीबाट बरामद गरिएको हतियार नष्ट गर्ने काम पनि उनको कार्यकालमा भएको छ । गर्भवती महिला प्रहरीलाई छुट्टै पोसाक दिनेदेखि प्रहरी चालचलनलाई थप व्यवस्थितजस्ता सुधारका काम पनि भएका छन् । 

प्रहरी प्रवक्ता डिआइजी भीमप्रसाद ढकाल एक वर्षको अवधिमा प्रहरीमा सुधारका धेरै काम भएको बताउँछन् । ‘यो एक वर्षको अवधिमा अपराध रोकथाम र अनुसन्धानमा महत्वपूर्ण प्रगति भएको छ,’ उनले भने, ‘संस्थागत सुधारका कामहरू पनि भएका छन्, केही प्रक्रियामै छन् ।’ एक उच्च प्रहरी अधिकारी भने समग्रमा कुँवरको नेतृत्वमा संगठनभित्र उत्साह थपिन नसकेको बताउँछन् । ‘व्यक्तिगत रूपमा उहाँ इमान्दार मान्छे हो,’ ती अधिकारी भन्छन्, ‘तर, उनको नेतृत्वमा पनि संगठनमा खराब अधिकृतहरू नै हाबी भएको देखिन्छ, कमान्ड पनि त्यति सशक्त हुन सकेको देखिँदैन ।’