१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ९ शुक्रबार १६:०४:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

वैदेशिक लगानी बढाउने प्रयासमा अर्थमन्त्री, आज कोरियाली राजदूतसँग भेटवार्ता

कोरियाली राजदूतले भने, ‘नेपालमा ठूलो वैदेशिक लगानी भित्र्याउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्छौँ’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ९ शुक्रबार १६:०४:००

लगानी सम्मेलनको तीव्र तयारी भइरहेका वेला अर्थमन्त्री वर्षमान पुनले विभिन्न देशका राजदूतहरूसँग लगातार भेटवार्ता गरिरहेका छन् । 

अर्थ मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै राजदूतहरूसँग भेट गरी नेपालमा लगानी भित्र्याउने वातावरण निर्माणमा जुटेका अर्थमन्त्री र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङबीच शुक्रबार भेटवार्ता भएको छ । 

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले नेपालको पूर्वधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर लगानी गर्दै आएकामा कोरिया सरकारलाई धन्यवाद दिए । 

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को लगानीमा शिक्षा, स्वास्थ्य तथा पूर्वधार गरी हाल निर्माणाधीन ११  विभिन्न आयोजनामा लगानी गरेको र ती आयोजनाको प्रगति सन्तोषजनक रहेको जानकारी दिए । 

आगामी वैशाखमा हुने लगानी सम्मेलनमा कोरियाली लगानीकर्ताको उल्लेख्य सहभागिताका लागि प्रेरित गरिदिन राजदूत थेयङलाई आग्रह गरेका पुनले ठूलो अन्तर्राष्ट्रिय लगानी आकर्षित नगरी मुलुकको विकास सम्भव नहुने धारणा व्यक्त गरे । 

नेपालमा लगानी भित्र्याउन आवश्यक नीतिगत र कानुनी अड्चन हटाउन लागिएको अर्थमन्त्रीले जानकारी दिए । उनले नेपालको कृषि, ऊर्जा, पर्यटन र प्रविधिको क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको पनि चर्चा गरेका थिए । 

संसारका धेरै विकसित मुलुक आजको स्थितिमा आइपुग्न दुई वा तीन पुस्ताले योगदान गरेको भए पनि आधुनिक कोरिया निर्माण गरेको पुस्ताले नै समृद्धिको स्वाद चाख्न पाएको अर्थमन्त्रीको भनाइ थियो । 

‘कोरिया एउटै पुस्ताले बनाएको देश हो । जसले भयावह गरिबीको दुस्चक्र पनि भाग्यो र आजको उच्चस्तरको समृद्धि पनि उपभोग गरिरहेको छ,’ अर्थमन्त्री पुनले भने, ‘कोरियाली विकास मोडलबाट हामीले अनुशरण गर्नुपर्ने धेरै कुरा छन् ।’ 

राजदूत थेयङले यसअघिका विकास साझेदारी र रोजजारी प्रणाली (इपिएस) लाई निरन्तरता दिने बताए । नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पुग्न लागेको अवसरमा कोरियाले नेपालमा थप लगानी गर्न चाहेको जानकारी दिए । 

कोइकाले नेपाललाई विगत १५ वर्षदेखि नै प्राथमिकतामा राखेको तथा इपिएस सम्झौता भएका १६ देशमध्ये नेपाल सबैभन्दा अगाडि रहेको जानकारी दिए । नेपालको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई कोरियाले उच्च प्राथमिकतामा राखेको बताए । 

उनले नेपालमा कृषि उत्पादन बढाउन तथा वातावरण परिवर्तनले कृषि उत्पादनमा पारेको नकारात्मक प्रभाव कम गर्न एक केन्द्र स्थापना गरिएको उल्लेख गरे । हाल गण्डकीमा सञ्चालित कोरियन भोकेसनल सेन्टरलाई सातवटै प्रदेशमा विस्तार गर्ने नीति रहेको पनि उनको भनाइ थियो । 

नेपालले आगामी सन् २०२६ भित्र सहश्राब्दी विकास लक्ष्य हासिल गर्नुपर्ने भएका कारण त्यसलाई सघाउ पुग्ने गरी कोरियाले विकास साझेदारीको आयातन बढाउन चाहेको जानकारी राजदूतले दिए । 

आगामी मे महिनाबाट नेपालमै हुन्डाई कम्पनीका गाडी उत्पादन हुन लागेको भन्दै उनले वार्षिक चार हजार पाँच सय गाडी उत्पादन गर्ने लक्ष्य राखिएको बताए । त्यसका लागि केही कानुनी र प्रक्रियागत जटिलता देखिएकाले समाधान गरिदिन आग्रह गरे । 

कोरियाले नेपालमा धेरैधन्दा धेरै विदेशी लगानी भित्रियोस् र रोजगारीका अवसर सिर्जना होओस् भन्ने चाहना राखेकाले लगानी सम्मेलन सफल पार्न सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए । 

‘धेरै देशले नेपालमा लगानीको चाहना राखेको मैले पाएको छु । धेरै देशबाट ठूलो संख्यामा वैदेशिक लगानी भित्रियोस् र नेपालको समृद्धिमा योगदान गरोस्,’ राजदूत थेयङले भने, ‘हामी अन्तर्राष्ट्रिय समुदायलाई त्यसका लागि सहजीकरण गर्छौँ ।’ 

नेपालले दोहोरो कर र लगानी संरक्षण ग्यारेन्टी गर्नुपर्नेमा भने उनको चासो थियो । राजदूत थेयङले रोजगार प्रणालीअन्तर्गत कोरियामा काम गरेर फर्किएका नेपालीहरूका लागि व्यवसायमा सहयोग गर्ने नीति रहेको जानकारी दिए ।