१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
रासस झापा
Invalid date format १३:oo:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोशीमा तीन महिनामा ४८८ आगलागीका घटना

Read Time : > 1 मिनेट
रासस, झापा
नयाँ पत्रिका
Invalid date format १३:oo:oo

सुक्खायाम सुरु भएसँगै आगलागीका घटना बढेका छन्। कोशी प्रदेश प्रहरी कार्यालयले विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका चार सय ८८ घटना भएको जनाएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार पुस १ देखि चैत ८ सम्म तीन महिनामा प्रदेशमा आगलागीबाट १२ जनाको मृत्यु र २४ जना घाइते भएका छन्। विद्युत् सर्ट, ग्यास चुहावट, भान्सा र गोठको आगो नियन्त्रणबाहिर जाँदा आगलागीका घटना हुने गरेका उनले बताए।

स्थानीय जंगलमा पनि डढेलो लाग्ने गरेको भन्दै प्रउ पोखरेलले पहाडी जिल्लाका वनमा लागेको डढेलो नियन्त्रणबाहिर गएमा मानव बस्तीमा समेत आगलागी हुने गरेको बताए।

यही चैत ३ गते भोजपुरको हतुवागढी गाउँपालिका– ७ मा आगलागी हुँदा एकै परिवाका तीन बालबालिकाको मृत्यु भएको थियो। मृत्यु हुनेमा तीन वर्षीय देउनिस कार्की, पाँच वर्षीय प्रनिश कार्की र सात वर्षीया दीप्तिका कार्की रहेका जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलबहादुर राईले जानकारी दिए।

‘आमाबुबा खेतबारीमा काम गर्न जानुभएको रहेछ,’ घटनाबारे जानकारी दिँदै उनले भने, ‘गोठबाट सल्किएको आगोले घरमा खेलिरहेका बालबालिकालाई लपेटेछ। उनीहरू भाग्नै सकेनन्।’

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीका अनुसार जिल्लामा बितेको दुई सातामा आगलागीका दुई दर्जन घटना भइसकेका छन्। झापाको गौरीगन्ज गाउँपालिका– १ का ५५ वर्षीय नीलकण्ठ घिमिरेको बुधबार तरकारी बारीमा सल्किएको आगोले जलेर घटनास्थलमै मृत्यु भयो।

गत पुस १ गते धनकुटा नगरपालिका– ५ कर्मीटारमा गोठमा खोले पकाउने चुलोबाट सल्केको आगोले विश्वबन्धु थापा र काजीनारायण श्रेष्ठको घर, गोठ जलेर रु. ११ लाखबराबरको क्षति भएको प्रहरीको भनाइ छ।

गत फागुन २८ गते मेचीनगर नगरपालिका– १५ मा रहेको देशकै ठूलो प्लाइउड कारखाना भगवती लेमिनेट्स् प्रालिमा भीषण आगलागी हुँदा रु. १५ करोडको क्षति भएको छ। काठको गोलियामा सल्किएको आगो निभाउन नेपालका आठवटा र भारतको एउटा दमकललाई तीन दिन लागेको प्रदेश प्रहरी कार्यालयका प्रउ पोखरेलले जानकारी दिए।

यही चैत २ गते झापाको रतुवामाई वृक्षरोपण आयोजनामा ठूलो डढेलो लागेको थियो। आयोजनाको धरमपुर, केर्खा र झिलझिलेनजिक वनमा लागेको आगो निभाउन आयोजनाले चासो नदेखाएको स्थानीयवासीको आरोप छ।

घरको भान्सा, परालको कुन्यु र चुरोटको ठुटाबाट समेत आगलागीका दुर्घटना निम्तिने गरेका छन्। बालबालिकाले सलाई र लाइटरजस्ता आगो निस्कने वस्तु खेलाउँदा कतिपय आगलागी भएका छन्।