१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नवीन अर्याल काठमाडाैं
Invalid date format १२:o७:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

आठ महिनामा निर्यात खर्ब नाघ्यो

१० खर्ब ३० अर्बको आयात, व्यापार घाटा नौ खर्ब २९ अर्ब

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:o७:oo

चालू आर्थिक वर्षको आठ महिनामा नेपालबाट भएको निर्यात बल्ल एक खर्ब नाघेको छ । यस अवधिमा एक खर्ब ६२ करोड रुपैयाँबराबरको वस्तु एक सय १९ देशमा निर्यात भएको भन्सार विभागले जनाएको छ । नेपालको निर्यात बल्लतल्ल अर्ब नाघ्दा आयात भने १० खर्ब ३० अर्ब २२ करोडबराबरको भएको छ । आठ महिनामा नेपालमा एक सय ५२ देशबाट वस्तु भित्रिएको देखिन्छ । निर्यातभन्दा आयात धेरै हुँदा यो अवधिमा व्यापार घाटा नौ खर्ब २९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।     

देशमा मन्दीको प्रभाव कायमै रहँदा यस वर्ष आयात र निर्यात दुवै घटेको छ । गत आव ०७९/८० को आठ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा निर्यात ३.९९ प्रतिशत र आयात २.६६ प्रतिशतले घटेको देखिन्छ । भन्सार विभागको तथ्यांकले आयातभन्दा निर्यात धेरै घटेको देखाउँछ । गत वर्षको तुलनामा यस वर्ष आयात घटेको देखिए पनि राजस्व संकलन भने बढेको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बताए । चालू आवको आठ महिनामा देशभरका भन्सार कार्यालयबाट दुई खर्ब ७१ अर्ब राजस्व संकलन भएको छ । गत आवको यसै अवधिमा दुई खर्ब ४३ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । भन्सार अनुगमन तथा निरीक्षण र राजस्व नीतिमा गरिएको सुधारका कारण आयात घट्दा पनि राजस्व संकलन बढेको उनको भनाइ छ । 

भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल भन्छन्– गत वर्षको तुलनामा यस वर्ष आयात घटेको देखिए पनि राजस्व संकलन भने बढेको छ । भन्सार अनुगमन तथा निरीक्षण र राजस्व नीतिमा गरिएको सुधारका कारण आयात घट्दा पनि राजस्व संकलन बढेको छ । 

 यी हुन् धेरै निर्यात भएका १० वस्तु 
नेपालबाट आठ महिनामा सबैभन्दा धेरै फलामे पाता निर्यात भएको छ । यो अवधिमा आठ अर्ब चार करोडको फलामे पाता निर्यात भएको विभागको तथ्यांक छ । यस्तै, सात अर्ब ४७ करोडको सेन्थेटिक यार्न, ६ अर्ब ९३ करोडको ऊनी गलैँचा तथा कार्पेट, पाँच अर्ब ८५ करोडको तयारी कपडा, पाँच अर्ब ३३ करोडको फलफूलको जुस, पाँच अर्ब १७ करोडको अलैँची, चार अर्ब ९४ करोडको प्लाइउड, चार अर्ब ६३ करोडको प्रशोधित पाम आयल, तीन अर्ब १० करोडको जुटका बुनिएका कपडा र तीन अर्ब आठ करोडको जमोठ कपडा निर्यात भएका छन् ।

प्लाइउड र सिमेन्टनिर्यातले बढायो आशा
प्लाइउड र सिमेन्ट तथा क्लिंकरको बढ्दो निर्यातले वैदेशिक व्यापारमा उत्साह थपेको छ । चालू आवको आठ महिनामा चार अर्ब ९४ करोड रुपैयाँको प्लाइउड निर्यात भएको छ । गत आवको यसै अवधिमा दुई अर्ब ५८ करोड रुपैयाँको प्लाइउड निर्यात भएको थियो । यो अवधिमा प्लाइउड निर्यात ९१.३४ प्रतिशतले बढेको छ ।

यस्तै, यही अवधिमा नेपालबाट दुई अर्ब ४७ करोड १७ लाख रुपैयाँबराबरको २२ लाख ९६ हजार नौ सय ७३ टन सिमेन्ट र क्लिंकर भारततर्फ निर्यात भएको छ । गत आवको यसै अवधिमा ३० करोड ५५ लाख रुपैयाँबराबरको चार लाख ४३ हजार टन सिमेन्ट तथा क्लिंकर निर्यात भएको थियो । सरकारले निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान र बिजुलीको महसुलमा छुट दिने व्यवस्था गरेसँगै ०७९ असारदेखि भारतीय सीमावर्ती क्षेत्रबाट सिमेन्ट निर्यात सुरु भएको थियो । छोटो अवधिमै सिमेन्ट तथा क्लिंकर धेरै निर्यात भएका प्रमुख ११ वस्तुभित्र पर्न सफल भएको छ । 

निर्यातको थालनी पाल्पा सिमेन्ट उद्योगले गरे पनि अहिले अर्घाखाँची, बालाजी, सर्वोत्तम, सौर्य, सिजीलगायतका उद्योगले सिमेन्ट र क्लिंकर निर्यात गरिरहेका छन् । गत आवभरिमा करिब ७८ करोड मूल्यबराबरको सिमेन्ट र क्लिंकर निर्यात भएको थियो । यस वर्ष निर्यात साढे चारदेखि पाँच अर्ब रुपैयाँ पुग्ने उद्योगीको अनुमान छ । एक अर्ब २८ करोड मूल्यको १९ लाख चार हजार दुई सय २८ टन तयारी सिमेन्ट र एक अर्ब १९ करोड मूल्यको तीन लाख ९२ हजार सात सय ५४ टन क्लिंकर रहेको भन्सार विभागले जनाएको छ 

 धेरै आयात हुने १० वस्तुमा विद्युतीय कार पनि
चालू आवको आठ महिनामा सबैभन्दा धेरै ८८ अर्ब ८८ करोड रुपैयाँको डिजेल आयात भएको छ । ४४ अर्ब ६४ करोडको पेट्रोल, ३५ अर्ब ८८ करोडको एलपी ग्यास आयात भएको छ । यसैगरी, २९ अर्ब ४६ करोडको एचआर सिट, २५ अर्ब ९१ करोडको शुद्ध फलाम, २४ अर्ब ११ करोडको तयारी कपडा, २० अर्ब ३४ करोडको मोबाइल फोन, १७ अर्ब ९६ करोडको एलोपेथिक औषधि, १७ अर्ब ५८ करोडको सुन, १६ अर्ब २४ करोडको विद्युत्बाट चल्ने जिप, कार र भ्यान आयात भएका छन् ।

पछिल्लो समय बिजुलीबाट चल्ने कार, जिप, भ्यान, तीनपांग्रे र दुईपांग्रेको आयात ह्वात्तै बढेको छ । यो अवधिमा ६ हजार चार सय ३५ विद्युतीय कार, जिप र भ्यान भित्रिएका छन् । जसबाट राज्यलाई करिब सात अर्ब रुपैयाँ राजस्व उठेको छ । गत आवको यसै अवधिमा ६ अर्ब १७ करोड रुपैयाँबराबरको दुई हजार एक सय ९८ विद्युतीय गाडी आयात भएका थिए । एक अर्ब ७४ करोड रुपैयाँ राजस्व उठेको थियो । 

आठ महिनामा ५० किलोवाट मोटर क्षमतासम्मका २७ सय ४६ युनिट, ५१ किलोवाटदेखि सय किलोवाटसम्मका तीन हजार पाँच सय ९४ युनिट, एक सय एक किलोवाटदेखि दुई सय किलोवाटसम्मका ७५ र दुई सय एक किलोवाटभन्दा माथिका २० युनिट गाडी आयात भएका छन् । चीनबाट तीन हजार नौ सय ६९ युनिट गाडी भित्रिँदा भारतबाट २३ सय ८० युनिट, इन्डोनेसियाबाट ३४, कोरियाबाट ४२, जर्मनीबाट सातवटा र अमेरिकाबाट तीनवटा कार नेपाल आएका छन् । यसै अवधिमा भारत र चीनबाट ८९ करोड रुपैयाँभन्दा बढीको आठ हजार तीन सय तीन युनिट तीनपांग्रे विद्युतीय रिक्सा (एसेम्बल र एसेम्बल नगरिएका) भित्रिएका छन् ।