१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
कार्ला नोर्लोफ
२o८१ बैशाख १९ बुधबार १o:५१:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

स्विडेनको नेटो सदस्यताको अर्थ

पछिल्ला मत सर्वेक्षणमा झन्डै ६८ प्रतिशत स्विडिस नागरिक नेटोको सदस्यताप्रति सकारात्मक देखिए

Read Time : > 3 मिनेट
कार्ला नोर्लोफ
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:५१:oo

मार्च ७ मा स्विडेनले २०० वर्षभन्दा लामो तटस्थताको नीति त्याग्दै ‘नर्दन एट्लान्टिक ट्रिटी अर्गनाइजेसन(नेटो)’को सदस्यता लियो । यो निर्णय धेरै हदसम्म सन् २०२२ मा रुसले युक्रेन आक्रमण गरेपछि बदलिएको सुरक्षा वातावरण तथा भौगोलिक परिस्थितिबाट प्रभावित थियो । इतिहासमा पटक–पटक रुससँग लडेपछि विशेषतः १९औँ शताब्दीको सुरुमा रुससँगको युद्धमा फिनल्यान्ड गुमाएपछि स्विडेनले तटस्थताको नीति अंगिकार गरेको थियो ।

अहिले रुसको उग्रतापछि फिनल्यान्डले नाटकीय रूपमा मार्ग परिवर्तन गरेको छ । यस कदमले क्षेत्रीय सन्तुलनमाथि निकै ठूलो प्रभाव पार्नेछ । ‘ग्रेट नर्दन वार (सन् १७००–१७२१)’पछि स्विडेनले पक्षधरताभन्दा तटस्थता उसको सार्वभौमसत्ता र राष्ट्रिय सुुरक्षाका लागि बढी हितकर हुने निष्कर्ष निकालेको थियो । त्यसपछि उसले सैन्य द्वन्द्वबाट पछि हट्यो, शक्ति राष्ट्रबीचको प्रभाव क्षेत्रमाथिको संघर्षबाट आफूलाई अलग राख्यो, सैन्य गठबन्धनमा अरुचि देखायो र आफूलाई अन्तर्राष्ट्रिय शान्ति प्रयास तथा मानवीय अग्रसरतामा केन्द्रित राख्यो ।

शीतयुद्धको समयमा स्विडेनले लिएको नीतिलाई ‘युद्धको समयमा तटस्थ रहनका लागि शान्तिको समयमा असंलग्नता’का रूपमा परिभाषित गरिन्थ्यो । जबकि त्यस अवधिमा ऊ आर्थिक, सांस्कृतिक तथा सैन्य रूपमा अमेरिकासँग अभिन्न रूपमा जोडिएको थियो । तथापि स्विडेनको नीतिमा क्रमिक विकास आउन थालिसकेको थियो । सन् १९९४ मा उसले नेटोको ‘पार्टनरसिप फर पिस (शान्तिका लागि साझेदारी) मा आबद्ध भएर नेटोका सैन्य अभियान, इयू नेतृत्वको ‘¥यापिड रेस्पोन्स फोर्स’ र बहुराष्ट्रिय सुरक्षा अग्रसरतामा सक्रिय सहभागिता लिन सुरु गरेको थियो । उसले विभिन्न अभियानका लागि खटाइने शान्ति सेनालाई विशेष तालिम प्रदान गरिरह्यो । 

दुई सय वर्षभन्दा लामो समयको तटस्थतापछि स्विडेनले नेटोको सदस्यता लिएर एउटा पक्ष छानेको छ । उसको सदस्यताले क्षेत्रीय शक्ति सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ ।

स्विडेनको नेटो सदस्यतालाई युरोपभर चलिरहेको (रक्षा) सैन्यकरणको बृहत्तर प्रवृत्तिको एक हिस्साको रूपमा पनि बुझ्न सकिन्छ । युक्रेनमाथिको रुसी आक्रमणले सुरक्षा चासो बढायो । यही युद्धका कारण ऊर्जा आपूर्ति अवरुद्ध बन्दा युरोपेली नेताहरू रणनीतिक स्वायत्तता हासिल गर्ने र रुसी अतिक्रमणविरुद्ध सामूहिक प्रतिक्रिया दिनेमा तिनको ध्यान देखिन्छ । एक सम्भावित खतराको उल्लेख गर्नुपर्दा बाल्टिक सागर ‘नेटो दह’मा बदलिँदा क्रेमलिनले कलिनिनग्राद र बेलारुसबीचको सानो पोलिस भूमिलाई कब्जा लिन सक्छ । यस जोखिमका माझ युरोपेली संघ रक्षा खर्च बढाउने, ऊर्जा तथा आपूर्ति–शृंखला सुरक्षित बनाउने ‘युद्ध अर्थतन्त्र’को योजना अघि सारेको छ । युरोपेली संघको युद्ध अर्थतन्त्रतर्फको संक्रमणले रक्षा क्षेत्रमा उलेख्य उछाल ल्याउनेछ । 

भर्खरै प्रस्ताव गरिएको युरोपेली प्रतिरक्षा औद्योगिक रणनीतिले युरोपेली हतियार निर्माताको लगानी तथा उत्पादन वृद्धि गर्न नयाँ अनुदान कोष निर्माण गर्ने भनेको छ । संकटको समयमा सैन्य सामग्रीको बढ्दो मागअनुरूप आपूर्ति गर्ने र आपूर्ति–शृंखला बलियो बनाउने यस लक्ष्यले नजिकिँदै गरेको अमेरिकी राष्ट्रपतीय चुनावप्रति युरोपको भयलाई पनि झल्काउँछ । (युरोपेली नेता डोनाल्ड ट्रम्पको सम्भावित जितप्रति त्रस्त छन् ।) 

स्विडेनभित्र बदलिँदो आमधारणा पनि असाधारण रह्यो । पछिल्ला मत सर्वेक्षणमा झन्डै ६८ प्रतिशत स्विडिस नागरिकहरू नेटोको सदस्यताप्रति सकारात्मक देखिए, जुन सन् २०१९ मा ३० प्रतिशत मात्र थियो । राजनीतिक दलहरूमा पनि नेटो सदस्यताप्रति आम समर्थन देखिन्छ । (ग्रिन्स र कम्युनिस्ट पार्टीले मात्र खुला रूपमा यसको विरोध जनाए ।) रुससँगको स्विडेनको राजनीतिक निकटतालाई नजरअन्दाज गर्न सकिँदैन । स्विडिसहरूलाई के थाहा छ भने तिनको देश रुसी हवाई फौज तथा नौसेनाको आक्रमण क्षेत्रभित्र पर्छन् । रुसले बाल्टिक सागर क्षेत्रमा सामुद्रिक उपस्थिति, अभ्यास तथा गतिविधि बढाएर स्विडिस अर्थतन्त्र र सामुद्रिक मार्गमा उलेख्य जोखिम पार्दै आएको थियो । 

वरपरको रुसी समुद्रमुनिको गतिविधिले राष्ट्रिय–सुरक्षा चिन्ताहरू खडा गरेको छ । स्विडेनमा अहिले सन् १९८१ मा घटेको ‘ह्विस्की अन द रक्स’ घटनाको स्मरण गरिन्छ, जब दुई स्विडिस माझीको तिनको देशको सामुद्रिक भागमा अनधिकृत रूपमा प्रवेश गरेका सोभियत पनडुब्बीसँग जम्काभेट भएको थियो । यसबाहेक, रुसको क्रुज मिसाइल, जमिनबाट आकाशमा मार हान्न सक्ने मिसाइल र कालिनिनग्रादमा तैनाथ आणविक हतियारबाट पनि स्विडेनलाई खतरा छँदै छ ।

त्यसमाथि सशस्त्र द्वन्द्व नभड्काई ‘मिश्रित युद्ध’मा सरिक हुने रुसी रणनीतिले बाल्टिक क्षेत्रलाई तनावग्रस्त बनाएको छ । यी जोखिमले बलियो प्रतिरक्षा तत्परता र आक्रमणलाई रोक्न हरदम उच्च सतर्कताको आवश्यकता देखिन्छ । रुसले ‘ग्रेट बेल्ट स्ट्रेट’ हुँदै अवतरण गरिने जहाज तैनाथ गरेपछि स्विडेनले बाल्टिक सागरको गोटल्यान्ड टापुमा आफ्नो सैन्य उपस्थिति बढाइसकेको छ । अब, नेटोको सामूहिक–रक्षा ढाँचामा समाहित भएपछि स्विडेनको खतरा सामना गर्ने क्षमता थप बढ्नेछ । 

हुन त स्विडेनले पहिलेदेखि नै नेटोसँग विभिन्न रूपमा सहकार्य गर्दै आएको थियो । अब पूर्ण सदस्यताले यस सम्बन्धलाई थप सघन बनाउनेछ । औपचारिक सदस्य बनेसँगै नेटो सन्धिअन्तर्गत धारा ५ को सुरक्षा स्विडेनले पनि पाउनेछ । (जसअनुसार नेटोको कुनै सदस्यमाथि आक्रमण भए बाँकी सबै सदस्य प्रतिरक्षामा उत्रिनेछन्) । अत्याधुनिक सैन्य प्रविधि र गुप्तचरीमाथिको पहुँचले वायु, समुद्री, पनडुब्बी र साइबर खतराविरुद्धको स्विडेनको क्षमता बढ्नेछ । स्विडेनको सदस्यताले विशेषगरी उत्तरी युरोपमा गठबन्धनको रणनीतिहरूलाई आकार दिन ठूलो भूमिका खेल्नेछ । 

स्विडेनको सदस्यताले नेटोले पनि फाइदा लिन सक्छ । स्विडेनको रणनीतिक क्षेत्रमा गोटल्यान्ड (कुनै पनि द्वन्द्वको समयमा फौज तैनाथ गर्न सकिने महत्वपूर्ण स्थल) समावेश छ । त्यसबाहेक स्विडेन बलियो रक्षा उद्योग भएको देश हो, जहाँ विश्वस्तरीय सैन्य उपकरण उत्पादन हुन्छ (जसमा उन्नत ग्रिपेन लडाकु जेट पनि समावेश छ) । स्विडेनसँग आधुनिक र अनुभवी पनडुब्बी फौज छ ।

स्विडेनको नेटो सदस्यतासँगै अब सबै नर्डिक देशहरू ( डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड, नर्वे र स्विडेन) एउटै सुरक्षा छाताभित्र आएका छन् । यसले नेटोको बाल्टिक सागरको उत्तरी र पूर्वी भागमा नेटोको क्षमता र दायित्वलाई सुदृढ गर्नेछ । यसबाहेक, स्विडेनको नीतिगत परिवर्तनले अस्ट्रिया र आयरल्यान्डजस्ता अन्य तटस्थ युरोपेली देश पनि नेटोमा सामेल हुन आकर्षिक गर्न सक्छ । त्यस्तो भएमा युरोपव्यापी सुरक्षा गठबन्धनको ठूलो रूपान्तरण हुनेछ । 

निःसन्देह, नेटोको विस्तारले सामूहिक प्रतिरक्षालाई बढाउँछ । तर, सँगसँगै युरोपको सुरक्षा द्विविधा तीव्र बन्नेछ । रुसले कुनै पनि नयाँ सदस्यतालाई रणनीतिक अतिक्रमणको नजरबाट हेर्छ, जसले तनाव बढाउन सक्छ । स्विडेनको नेटो सदस्यताविरुद्ध प्रतिक्रिया दिने वाचा गरिसकेको क्रेमलिनले थप आक्रामक नीति पछ्याउन सक्छ । यसबाहेक उसले भविष्यमा सैन्य अभ्यास बढाउने र नेटो–राष्ट्र नजिक उन्नत हतियारहरूको तैनाथी गराउन सक्छ ।

स्विडेनले उसको नेटो सदस्यता रक्षात्मक पूर्वसावधानी मात्र भएको र रुसको रक्षा तथा व्यावसायिक हितमा सम्मान गर्ने देखाउन बाल्टिक सागरमाथिको उसको पहुँच खुला रहेकोमा निरन्तर जोड दिनुपर्छ । रुस र चीनका लागि बढ्दो महत्वको क्षेत्र आर्कटिकतर्फ नेटोको विस्तारले सन्तुलित रणनीतिको माग गर्छ । रुसले यसलाई निःसन्देह नेटोले उसलाई घेर्न खोजेको भन्नेछ । तर, उसले यसविरुद्ध ठ्याक्कै कसरी जवाफ दिनेछ भन्ने प्रश्न यो क्षेत्र र नेटोका लागि सबैभन्दा महत्वपूर्ण रणनीतिक प्रश्न हुनेछ । 
 प्रोजेक्ट सिन्डिकेटबाट

ad
ad