१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
व्यवसायी दुर्गा प्रसाईंको बडीगार्डबाट बरामद हतियार
शिल्पा कर्ण काठमाडाैं
Invalid date format o६:२४:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मेसिनगन बोकेर सर्वोच्च अदालत पुगेका प्रसाईंका बडीगार्ड पक्राउ

Read Time : > 2 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:२४:oo

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडीगार्डद्वय दीपक खड्का र रामकुमार धिमाल सर्वोच्च अदालतपरिसरबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका छन् । अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएका हुन् ।

सोमबार प्रसाईंको मुद्दामा सुनुवाइ हुँदै थियो । त्यसैका लागि उनी बिहान १० बजे बडीगार्डसहित सर्वाेच्च पुगेका थिए । प्रसाईं र उनका सुरक्षागार्ड खड्का सर्वोच्चको मूलगेटबाट सँगै र अर्का बडीगार्ड धिमाल अर्को गेटबाट छिरेका थिए ।सोही क्रममा गेटमा रहेका सुरक्षाकर्मीले उनको खानतलासी लियो । झोलामा लुकाई राखिएको  ‘अर्मेनिया परिनी एसएलआर–इटाली, मेडइन स्विडेन, जिएसजी–५’ लेखिएको स्वचालित हतियार फेला परेको थियो । प्रहरीले झोलाभित्र हतियारको सानो म्यागजिन २, ठूलो म्यागजिन २, म्यागजिनको होल्ड १ र गोली १०० राउन्ड फेला पारेको छ ।

लाइसेन्स लिइएको हतियार सम्बन्धित व्यक्तिबाहेक अन्यले बोक्न पाउँदैन । प्रहरीका अनुसार बरामद हतियार जिल्ला प्रशासन कार्यालय झापाबाट अनुमति लिइएको छ । अनुमति प्रसाईंका नाममा र बाहकका रूपमा बडीगार्ड खड्काको नाम छ । तर, उक्त हतियार उनका अर्का बडीगार्ड धिमालको साथबाट बरामद भएको छ । जुन कानुनविपरीत हो । 

हातहतियार खरखजाना नियमावली ०२८ को उपनियम ३ अनुसार व्यक्तिले अनुमति लिएर १२, १६, २०, ४१० बोरको टोटावान बन्दुक लिन पाउँछ । तर, जुन व्यक्तिको नाममा अनुमतिपत्र लिइएको छ, सो व्यक्तिबाहेक अन्यले उक्त हतियार लिएर हिँड्न पाउँदैन । र, अनुमति लिँदा तोकिएको क्षेत्रबाहेक अन्यत्र लैजान पाइँदैन । लैजानै परे सम्बन्धित निकायको अनुमति लिनुपर्छ ।  

हातहतियार खरखजाना नियमावली ०२८ को अनुसूची–६ को १ मा ‘इजाजतपत्र (लाइसेन्स) बमोजिमको हातहतियार खरखजाना इजाजतपत्र (लाइसेन्स) मा लेखिएको मानिस र इलाकाको हकमा मात्र लागू हुने हुँदा त्यस्तो इजाजतपत्र (लाइसेन्स) मा तोकिएको हातहतियार खरखजाना कसैलाई दिन वा नियमबमोजिम इजाजतपत्र (लाइसेन्स) स्वीकृत नगराई अन्यत्र लिएर जान हुँदैन,’ भनिएको छ । 

तर, सर्वोच्चको गेटबाट बरामद हतियारको हकमा न अनुमति लिइएको व्यक्तिको साथबाट हतियार बरामद भएको छ, न काठमाडौंसम्म हतियार ल्याउन सम्बन्धित निकायबाट अनुमति नै लिइएको छ । त्यसो हुँदा सर्वोच्चमा प्रसाईंले गरेको गतिविधि गैरकानुनी  देखिएको छ । 

प्रहरीले बरामद हतियारको लाइसेन्सलाई लिएर प्रश्न उठाएको छ । जिल्ला प्रहरीपरिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले स्वचालित मेसिन गन कसैले पनि लिएर हिँड्न नमिल्ने बताए । ‘सर्वोच्चको गेटमा स्वचालित मेसिन गन बरामद भएको छ । यस्तो मेसिन गन लिन अनुमति जारी हुँदैन । अर्को अनुमति नै लिए पनि सम्बन्धित व्यक्तिले नै हतियार बोक्नुपर्ने हुन्छ,’ उनले भने, ‘अनुमति लिइएको हतियार सम्बन्धितबाहेक अन्य क्षेत्रमा लिएर हिँड्न मिल्दैन । तर, सोमबार बरामद हतियार सम्बन्धित व्यक्तिबाहेक अन्यको साथबाट बरामद भएको छ । उक्त हतियार झापाबाट लाइसेन्स लिइएको भनिएको छ । त्यसो हो भने काठमाडौं ल्याउन अनुमति लिनुपर्छ । तर, त्यस्तो भएको देखिएन । अदालत हतियार निषेधित क्षेत्र हो । त्यस्तो ठाउँमा अनधिकृत कसैले पनि हतियार लिएर हिँड्न पाउँदैन ।’

प्रहरीका अनुसार प्रसाईंका बडीगार्ड खड्का र धिमाललाई पक्राउ गरी प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ । बरामद हतियार फरेन्सिक टेस्टका लागि प्रयोगशाला पठाइएको छ । घटना सम्बन्धमा गम्भीर रूपमा अनुसन्धान भइरहेको काठमाडौंपरिसर प्रमुख एसएसपी खत्रीले जानकारी दिए । ‘सर्वोच्च अदालतजस्तो ठाउँमा अनधिकृत व्यक्तिबाट स्वचालित हतियार बरामद हुनु गम्भीर विषय हो । यसलाई प्रहरीले विशेष रूपमा लिई अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘घटनामा संलग्न हुनेलाई कडा कारबाही गर्न प्रहरी प्रयासरत छ । अहिले हतियारको ल्याब टेस्ट हुँदै छ, प्रतिवेदन आएपछि मुद्दाले एउटा रूप लेला ।’  

प्रहरीले उठायो लाइसेन्समाथि प्रश्न
एसएसपी भूपेन्द्र खत्री  प्रमुख, जिल्ला प्रहरी परिसर काठमाडौं

सर्वोच्चको गेटमा स्वचालित मेसिनगन बरामद भएको छ । यस्तो मेसिनगन लिन अनुमति जारी हुँदैन । अर्को अनुमति नै लिए पनि सम्बन्धित व्यक्तिले नै हतियार बोक्नुपर्ने हुन्छ । अनुमति लिइएको हतियार सम्बन्धितबाहेक अन्य क्षेत्रमा लिएर हिँड्न मिल्दैन । तर, सोमबार बरामद हतियार सम्बन्धित व्यक्तिबाहेक अन्यको साथबाट बरामद भएको छ । उक्त हतियार झापाबाट लाइसेन्स लिइएको भनिएको छ । त्यसो हो भने काठमाडौं ल्याउन अनुमति लिनुपर्छ । तर, त्यस्तो भएको देखिएन । अदालत हतियार निषेधित क्षेत्र हो । त्यस्तो ठाउँमा अनधिकृत कसैले पनि हतियार लिएर हिँड्न पाउँदैन ।