१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार २२:५९:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

एक करोड ५६ लाख नेपाली आर्थिक क्रियाकलापमा सक्रिय

८२ लाख ६९ हजार नेपाली आर्थिक गतिविधिभन्दा बाहिर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २२:५९:oo

एक करोड ५६ लाख ८९ हजार नेपाली विभिन्न आर्थिक क्रियाकलापमा सक्रिय देखिएका छन् । राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको अन्तिम प्रतिवेदनले यस्तो देखाएको हो । 

नेपालको दुई करोड ९१ लाख ६४ हजार कुल जनसंख्यामध्ये दुई करोड ३९ लाख नेपाली आर्थिक क्रियाकलाप गर्न योग्य छन् । योग्य जनसंख्याको ६५.६ प्रतिशत नागरिक आर्थिक क्रियाकलापमा आबद्ध रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार ८२ लाख ६९ हजार नेपाली आर्थिक क्रियाकलापमा आबद्ध हुन सकेका छैनन् । 

तथ्यांकअनुसार ८१ लाख ९६ हजार पाँच सय आठजना (७१.३ प्रतिशत) पुरुष र ७४ लाख ९३ लाखजना (६०.४ प्रतिशत) महिला आर्थिक रूपमा सक्रिय छन् । तथ्यांकअनुसार एक करोड १४ लाख ९३ हजार पुरुष र एक करोड २४ लाख ६ हजार महिला आर्थिक क्रियाकलाप गर्न योग्य छन् ।

पारिस्थितिक क्षेत्रका आधारमा हिमालका १४ लाख ३७ हजारमध्ये ७४.३ प्रतिशत, पहाडको ९८ लाख ४३ हजारमध्ये ६८.४ प्रतिशत र तराईको एक करोड २६ लाख २० हजारमध्ये ६२.५ प्रतिशत नेपाली आर्थिक क्रियाकलापमा आबद्ध छन् । 

कार्यालयका अनुसार वस्तु तथा सेवा उत्पादन गरी आम्दानी गरिरहेकालाई आर्थिक क्रियाकलापमा सक्रिय नागरिक भनिएको छ । १० वर्षमाथि उमेर भएका नागरिकहरू अध्ययनमा समावेश गरिएका छन् । 

घरायसी काम गरेर आम्दानी गर्नेलाई पनि आर्थिक क्रियाकलापमा सक्रिय मानिएको छ । विद्यार्थी र गृहिणीलगायतलाई आर्थिक रूपमा निष्क्रिय नागरिकका रूपमा वर्गीकरण गरिएको कार्यालयका उपप्रमुख तथा प्रवक्ता डा. हेमराज रेग्मीले बताए । 

मधेशमा आर्थिक रूपमा सक्रिय नागरिक न्यून 
मधेश प्रदेशमा आर्थिक क्रियाकलापमा सक्रिय जनसंख्याको अनुपात सबैभन्दा कम देखिएको छ । मधेशमा आर्थिक क्रियाकलाप गर्न योग्य जनसंख्या ४७ लाख ६५ हजार छ, त्यसको ५७.३ प्रतिशत नागरिक मात्रै आर्थिक क्रियाकलापमा आबद्ध छन् । 

यो अन्य ६ प्रदेशको तुलनामा सबैभन्दा कम हो । त्यसमा पनि ४७.६ प्रतिशत महिला मात्रै आर्थिक रूपमा सक्रिय छन् । आर्थिक क्रियाकलापमा आबद्ध पुरुषको अनुपात भने ६७.३ प्रतिशत छ । मधेशमा २७ लााख ३० हजार नागरिक आर्थिक क्रियाकलापमा सक्रिय छन् । 

भौगोलिक रूपमा सुगम मानिने मधेश प्रदेशमा आर्थिक गतिविधि पनि उच्च मात्रामा हुने गर्छ । मधेशमा उद्योग, कालकारखना पनि धेरै छन् । तर, सोही प्रदेशमा आर्थिक क्रियाकलापमा संलग्न नागरिकको अनुपात न्यून भएको प्रतिवेदनले पुष्टि गरेको छ । 

कार्यालयका उपप्रमुख डा. रेग्मीले मधेशमा जनसंख्याअनुसारको आर्थिक अवसर नहुँदा यस्तो अवस्था आएको बताए । ‘मधेशमा जनसंख्या बढ्दो छ । आर्थिक क्रियाकलाप बढी भए पनि त्यहाँको जनसंख्यालाई पुग्ने गरी आर्थिक अवसर सिर्जना हुन सकेको छैन,’ उनले भने, ‘त्यसैले यस्तो आँकडा देखिएको हो ।’

कर्णालीका आर्थिक क्रियाकलापमा आबद्ध हुने नागरिक धेरै
तथ्यांकअनुसार भौगोलिक रूपमा दुर्गम मानिने कर्णाली प्रदेशका भने धेरै मानिस आर्थिक क्रियाकलापमा सक्रिय देखिएका छन् । त्यहाँ १३ लाख ३१ हजार मानिस आर्थिक गतिविधि गर्न योग्य छन् । 

त्यसको ७२ प्रतिशत अर्थात् नौ लाख ५८ हजार नागरिक आर्थिक क्रियाकलापमा सक्रिय छन् । अनुपातका आधारमा यो अन्य प्रदेशको तुलनामा धेरै हो । 

अन्य प्रदेशमा कस्तो छ अवस्था ? 
तथ्यांकअनुसार कोशीका ७१.१ प्रतिशत नागरिक आर्थिक क्रियाकलापमा आबद्ध छन् । कोशीमा आर्थिक क्रियाकलाप गर्न योग्य नागरिक ४१ लाख २३ हजार छन्, त्यसमध्ये २९ लाख ३२ हजार नागरिक आर्थिक क्रियाकलापमा आबद्ध छन् । 

यसैगरी, बागमतीका ६४.८ प्रतिशत नागरिक आर्थिक क्रियाकलापमा आबद्ध भएको देखिन्छ । बागमतीमा ५२ लाख ५७ हजार नागरिक आर्थिक क्रियाकलाप गर्न योग्य छन्, त्यसमा ३४ लाख चार हजार नागरिक आर्थिक क्रियाकलापमा आबद्ध भएको तथ्यांकले देखाएको छ । 

यसैगरी, गण्डकीमा ६६.५ प्रतिशत नागरिक आर्थिक क्रियाकलापमा आबद्ध छन् । त्यहाँ २० लाख ६९ हजार नागरिक आर्थिक क्रियाकलाप गर्न योग्य छन् । त्यसमध्ये १३ लाख ७६ हजार नागरिक आर्थिक क्रियाकलापमा सक्रिय देखिएका छन् । 

लुम्बिनीमा भने ६५.९ प्रतिशत नागरिक आर्थिक क्रियाकलापमा सक्रिय छन् । त्यहाँ ४१ लाख ७३ हजार नागरिक आर्थिक क्रियाकलाप गर्न योग्य छन्, त्यसमध्ये २७ लाख ५२ हजारले कुनै न कुनै आर्थिक गतिविधि गरेका छन् । 

यसैगरी, सुदूरपश्चिमका ७०.४ प्रतिशत मानिस आर्थिक क्रियाकलापमा आबद्ध छन् । सुदूरपश्चिममा २१ लाख ८० हजार नागरिक आर्थिक क्रियाकलाप गर्न योग्य छन्, त्यसमध्ये १५ लाख ३५ हजारले कुनै न कुनै आर्थिक गतिविधि गर्दै आएका छन् ।

ad
ad