Skip This
बागमती सरकारको नेतृत्वमा दुई सांसद रहेको हानेपाको पनि दाबी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
२o८१ बैशाख २७ बिहीबार १८:१४:oo
Read Time : > 2 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

बागमती सरकारको नेतृत्वमा दुई सांसद रहेको हानेपाको पनि दाबी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १८:१४:oo

केन्द्रमा नयाँ सत्तासमीकरण बनेसँगै बागमती प्रदेश सरकारबाट तत्कालीन सत्तासाझेदार दल नेपाली कांग्रेस बाहिरिएको १५ दिन पुग्दै छ। तर, अझै पनि मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वले निरन्तरता पाउँछ कि नयाँ नेतृत्व आउँछ भन्नेमा अन्योलता कायमै छ।

सरकार बनाउन महत्त्वपूर्ण भूमिकामा रहेका साना दलहरुले समेत सरकारको नेतृत्वमा दाबी गर्दा अन्योलता देखिएको हो। नयाँ गठबन्धन बनेपछि बागमतीमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले मात्र नभई नयाँ गठबन्धनलाई बहुमत जुटाउन निर्णायक मानिएको हाम्रो नेपाली पार्टी (हानेपा)ले समेत सरकारको नेतृत्वमा दाबी गरेको छ।

बागमतीमा दोस्रो कार्यकालको नेतृत्वबाटै सरकारमा रहेको माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्वमा आफ्नो दाबेदारी कायम रहेको बताउँदै आएको छ भने एमाले र एकीकृत समाजवादीले पनि अब आफूहरूले नेतृत्व गर्न पाउनुपर्ने अडान लिएका छन्।

प्रदेशमा दुई सांसद रहेको हानेपाले पनि सरकारको नेतृत्वमा दाबी अघि सारेपछि थप अन्योलता सिर्जना भएको छ। उक्त पार्टीको चैत ३ र ४ गते बसेको केन्द्रीय कमिटीको बैठकपछि जारी विज्ञप्तिमार्फत लोकतान्त्रिक पद्धति र जनताको विश्वासलाई कायम राख्न प्रदेश सरकारको नेतृत्व गर्न आफ्नो पार्टी तयार रहेको बताइएको छ।

पार्टीका प्रवक्ता डिल्लीश्वर कार्की (रोहन)ले जारी गरेको विज्ञप्तिमा बागमती प्रदेश सरकारका सम्बन्धमा कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलागी देश र जनताको पक्षमा रहने निर्णय गरेको र बागमती सरकारको नेतृत्वमा आफ्नो पार्टीको समेत दाबी रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा ‘नो नट अगेन’ भन्नेहरूलाई नै काँध हालेर अर्को त्यस्तै प्रवृत्तिलाई बागमती प्रदेश सरकारको शिरमा राख्न आफ्नो काँध प्रयोग हुन नदिने उल्लेख गर्दै लोकतान्त्रिक र नयाँ चरित्रका रूपमा हानेपालाई नेतृत्व दिएर सुशासन र पारदर्शितासहितको नयाँ बाटो हिँड्न चाहेमा पार्टी सहकार्य गर्न र प्रदेश सरकारको नेतृत्वदायी भूमिका निभाउन सक्षम रहेको दाबी गरिएको छ।

सो पार्टीका बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले विगतमा बनेका सरकारहरूलाई विश्वासको मत दिए पनि सरकार बनाउने र ढाल्ने खेल मात्रै भएकाले अब त्यस्तो खेलमा आफूहरू नलाग्ने प्रस्ट पारेका छन्। प्रदेशमा सानो दल भए पनि नेतृत्वमा आफूहरूको दाबी रहेको उनको भनाइ छ। नेता बज्राचार्यले सरकारको नेतृत्व ठूला दलहरूले गरे पनि स्थायित्व नभएकाले अब सानो दललाई अवसर दिएर हेर्न आग्रह गरेका छन्।

‘ठूला दलहरूले पटक-पटक नेतृत्व गर्नुभयो। कहिल्यै स्थायित्व भएन। सबैको सहयोगमा एकपटक सानो दल भए पनि हाम्रो नेपाली पार्टीलाई अवसर दिनुस् हामी पनि सरकारको नेतृत्व गर्न सक्षम छौँ,’ उनले भने।

अर्को निर्णायक राप्रपा मौन
११० सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा माओवादी केन्द्रका २१, एमालेका २७ र एकीकृत समाजवादीका ७ गरी ५५ सांसद छन्। सत्तागठबन्धनका दलहरूलाई सरकार टिकाउन एक सांसद अपुग देखिन्छ। यसका लागि नयाँ गठबन्धनले हाम्रो नेपाली पार्टीको साथ लिन सक्छ। जोसँग २ जना सांसद छन्। तर, अहिलेसम्म न सरकारको नेतृत्व टुंगिएको छ, न सरकारमा सहभागी हुने दलहरूकै टुंगो लागेको छ।

यता १३ सिट रहेको राप्रपा पनि बागमतीमा सरकार बनाउन सहयोगी हुन सक्छ। प्रदेशमा यसअघि बनेको पहिलो गठबन्धनको सरकारमा सहभागी रहेको राप्रपाले यसपटक के गर्छ भन्ने अन्योलता कायमै छ। राप्रपाको केन्द्रले प्रदेशमा सरकार गठनमा स्वतन्त्र भूमिका खेल्न सक्ने अधिकार दिएको भए पनि बागमतीमा राप्रपाको तर्फबाट अहिलेसम्म कुनै औपचारिक धारणा सर्वाजनिक भएको छैन।

३७ सदस्य रहेको प्रदेशको सबैभन्दा ठूलो दल कांग्रेस सत्ता र गठबन्धनबाट बाहिरिसकेको छ। यस्तै, नेपाल मजदुर किसान पार्टीले पनि आफूलाई विशुद्ध प्रतिपक्षी दल भएकाले सत्ताको चलखेलमा नलाग्ने बताउँदै आएको छ। यस्तो अवस्थामा बागमती प्रदेशमा सत्तासमीकरण परिवर्तन भएको १५ दिन पुग्न लाग्दासमेत सरकारको नेतृत्व टुंगो लागेको छैन।

ad
ad