१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o७:४६:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

रैथाने नाम र विशेषता खोज्दै उपत्यकाका स्थानीय तह

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:४६:oo
  •  काठमाडौं र ललितपुर महानगरपालिका मौलिक तथा प्राचीन नाम संरक्षण गर्ने अभियानमा
  •  तीन वर्षको अवधिमा महानगरपालिकाभित्र रहेका सबै स्थानको नाम रैथाने तथा प्राचीन राखिने 
  •  धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठमन्दिर, बहाल, वही, धारा, सत्तल, पार्टीहरूको प्राचीन नाम खोजी हुँदै

उपत्यकाका स्थानीय तहहरू आ–आफ्नो क्षेत्रभित्र पर्ने स्थानको मौलिक तथा प्राचीन नामको खोजीमा लागेका छन् । काठमाडौं र ललितपुर महानगरपालिका, मध्यपुर थिमि नगरपालिका, भक्तपुर नगरपलिकालगायतले पुरानै नाम प्रयोगमा ल्याउन नाम र ठाउँको विशेषताको खोजी गर्न थालेका हुन् । 

उत्यकाका अधिकांश स्थानको नाम यहाँका संस्कृति, सम्पदा, मौलिकता र नेवार समुदायसँग जोडिएको पाइन्छ । तर, समयक्रमसँगै यहाँका मौलिक नाम लोप हुने क्रममा छन् । तिनै रैथाने र पुराना नामको खोजीमा स्थानीय तह लागेका हुन् । पहिले कुनै ठाउँ, समुदाय, स्थानलगायत विशेषताका आधारमा उपत्यकाका अधिकांश ठाउँको नामकरण भएको पाइन्छ । तर, आधुनिकताका नाममा मौलिक नाम हटाउन थालिएको भन्दै स्थानीय तहहरू मौलिक नामको खोजी र जर्गेनामा लागेका हुन् । 

एक वर्षअघि ललितपुरको झक्सीखेलको नाम मेटिने अवस्थामा थियो । स्थानीय होटेल व्यवसायीले उक्त ठाउँको नाम झमेल राखेका थिए । काठमाडौंमा ‘ठमेल’ भनिएजस्तै स्थानीयले यहाँको नाम फेरेर झमेल राख्न खोजेका थिए । तर, प्राचीन तथा मौलिक नाम मेटिन ललितपुर महानगरपालिकाले दिएन । टोलको नाम परिवर्तन गर्न थालेका स्थानीयलाई महानगरले पुरानो नाम नहटाउन निर्देशन दियो । हाल ललितपुर महानगरपालिकाले महानगरभित्र रहेको विभिन्न स्थानमा नाम र तीनको विशेषताबारे खोजी गरिरहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । 

 संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्को सहयोग लिँदै
काठमाडौं महानगरपालिका पनि मौलिक तथा प्राचीन नाम संरक्षण गर्ने अभियानमा छ । महानगरले तीन वर्षको अवधिमा महानगरपालिकाभित्र रहेका सबै स्थानको नाम रैथाने तथा प्राचीन राखिने गरी अध्ययनसमेत थालेको छ ।

महानगरपालिकाले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, बहाल, वही, धारा, सत्तल, पाटीहरूको अध्ययन गरिरहेको छ भने केही स्थानको प्राचीन नाम खोज्न संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्हरूसँग सहयोग लिएको छ । हालसम्म महानगरपालिकाले पाँचवटा वडाभित्र रहेको स्थानहरूको प्राचीन नामबारे तथ्य संकलन गरिसकेको छ । 

महानगरको अध्ययनअनुसार वडा नं ५ मा पर्ने हाँडीगाउँको प्राचीन नाम नरः हो । वडा नं ६ मा पर्ने बौद्धको प्राचीन नाम खस्योरः/खास्ती हो भने ७ मा पर्ने चाबहिलको प्राचीन नाम चावहीः हो । वडा नं १८ मा पर्ने नरदेवीको प्राचीन नाम ङेतः हो । त्यस्तै वडा नं २४ मा पर्ने मखनको प्राचीन नाम मखं हो भने त्यस वडाभित्र रहेका स्थानहरूको नाम पनि महानगरपालिकाले खोजी गरेको छ । 

महानगरका अधिकांश स्थानको नाम नेवार भाषा, समुदाय तथा स्थानको विशेषतासँग जोडिएको छ । महानगरले हाँडीगाउँ क्षेत्रमा रहेका ५२ वटा स्थानहरूको प्राचीन नाम खोजिसकेको छ । त्यस्तै, बौद्ध क्षेत्रमा रहेका ५० वटा स्थानको नामको अर्थ पनि खोजिएको छ । चावहीः (चाबहिल) क्षेत्रमा ७१ वटा स्थानका प्राचीन नाम भेटिएका छन् भने ङेत (नरदेवी) मा ३६ वटा नाम खोजी भएको छ । महानगरपालिकाका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतका अनुसार सांस्कृतिक सहरको नाम मेटिने गरी ठाउँको नयाँ नामकरण भएपछि पुरानै नाम खोजी गरिएको हो ।

 महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्र (सिआइयुडी) सँगको सहकार्यका विभिन्न स्थानको प्राचीन नामबारे अध्ययन गरेको हो । नाम खोजी गर्दा लिखित अभिलेख, शिलालेख, सरकारी कागजात (जग्गा नामसारी वा पास गर्दा वा चार किल्ला प्रमाणित गर्दाको नाम), संस्कृतिविद्, इतिहासविद्, पुरातत्वविद्, स्थानीय पाका मानिस, जनप्रतिनिधिको सहायता लिइएको छ । महानगरको टोलीले अध्ययन गर्दा ठाउँहरूको मौलिक नाम ७० वर्ष उमेरमाथिका व्यक्तिहरूले मात्र उच्चारण गर्ने गरेको भेटिएको छ । तर, पछिल्लो पुस्ताले पुरानो नाम र विशेषता भुल्दै आएको अध्ययनले देखाएको छ । 

अध्ययनअनुसार वडा नं १८ मा पर्ने नरदेवीका रूपमा प्रयोग गरिने नामलाई रैथाने मूलवासीहरू अहिले पनि ङेतत्वाः भन्छन् । तर, यो स्थानको मौलिक नाम भने ङ्ततोल हो । यो शब्द व्युत्पत्ति भएर ङ्त भएको बताइन्छ । धेरै ठाउँहरूको नाम अपभ्रंश हुने क्रमले मौलिक नामको स्वरूप परिवर्तन भएको भाषाविद् शरदवीर कसाःले बताए । उनका अनुसार वडा नं ५ को अहिले कोटाल टोलको परिवर्तित नाम क्वेत्वाल हो । यसबाट क्वेतोल भयो र त्यसपछि कोटोल, कोटाल हुँदै कोटाल टोल बन्न पुगेको हो ।

अध्ययनका क्रममा केही नाम नेपालीकरण र अंग्रेजीकरण पनि भएको पनि पाइएको छ । न्हु सतकबाट ‘न्युरोड’ भएको छ । महानगरपालिकाले नामलाई पुनरुत्थान गर्दा रञ्जना लिपि, देवनागरिक लिपि र अंग्रेजी भाषा नामपाटी पनि राख्नेछ । नाम अनुसन्धानकर्ता आर्किटेक्ट अस्मिता श्रेष्ठले नेवार समुदायका महिलाले प्रयोग गर्ने परम्परागत पोसाक हाकुपटासीमा भएको रातो र कालो रङको पृष्ठभूमिमा ‘नामपाटी’ (नेम प्लेट) राखिने बताइन् ।

सांस्कृतिक सहरको पहिचान संरक्षण हुनेछ
आशामान संगत, संयोजक, सम्पदा तथा पर्यटन समिति, काठमाडौं महानगर

यहाँको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक पहिचान मेटिँदै गयो । सांस्कृतिक सहरको नाम मेटिने गरी ठाउँको नयाँ नामकरण भएपछि पुरानै नाम खोजी गरिएको हो । प्राचीन नामले सांस्कृतिक सहरको मर्म ग्रहण गर्छन्, पहिचान संरक्षण हुन्छ ।

ad
ad