१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o७:४८:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

प्रतियुनिट ६.५ सेन्टमा विद्युत् किन्न बंगलादेश सहमत

तत्काल पाँच सय मेगावाट विद्युत् किन्न इच्छुक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:४८:oo

बंगलादेशले नेपालबाट प्रतियुनिट ६.५ सेन्टमा बिजुली किन्न सहमति जनाएको छ । गत फागुन १० गते बंगलादेशमा सम्पन्न नेपाल विद्युत् प्राधिकरण र पावर डेभलपमेन्ट बोर्ड (बंगलादेश)बीच भएको वार्तामा विद्युत् खरिद–बिक्री दरबारे सहमति जुटेको थिएन । तर, अहिले प्रतियुनिट ६.५ सेन्टमा बंगलादेश विद्युत् किन्न सहमत भएको बंगलादेशको दैनिक पत्रिका डेली अब्जर्भरमा उल्लेख छ ।

बंगलादेशको विद्युत् बिक्री महाशाखाका महानिर्देशक मोहम्मद होसेनलाई उद्धृत गर्दै सो पत्रिकाले लेखेको छ । बिहीबारको विनिमयदर (प्रतिडलर १३२.२९) अनुसार बंगलादेश सहमत भएको उक्त दर नेपाली मुद्रामा आठ रुपैयाँ ६० पैसा हो । बंगलादेश सहमत भएको दर भारतसँगको पिपिएभन्दा २० पैसा बढी हो । अहिले भारत र नेपालबीच प्रतियुनिट ५.२५ भारु अर्थात् ८.४० नेपाली रुपैयाँमा  मध्यकालीन विद्युत् व्यापार भइरहेको छ ।  

विद्युत् खरिद–बिक्रीका लागि बंगलादेशले पाँच सेन्ट र नेपालले सात सेन्ट प्रतियुनिट प्रस्ताव गरेका थिए । दुई देशको प्रस्तावमा ठूलो ग्याप देखिएपछि फागुन १० को बैठकमा सहमति हुन सकेको थिएन । तर, केही समयअघि सिंगापुरमा भएको विश्व बैंकको एक कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र बोर्डका अध्यक्ष महबुबुर रहमानबीच यसबारे अनौपचारिक सहमति भएको थियो । अब छिट्टै यसबारे दुई देशबीच अन्तिम सम्झौता हुने प्राधिकरणले दाबी गरेको छ ।

प्राधिकरणका अनुसार बंगलादेशसँग डलरमा पिपिए हुँदै छ । अब बंगलादेशले उक्त दर स्वीकृतका लागि आफ्नो मन्त्रिपरिषद्मा पेस गर्नेछ । त्यहाँबाट स्वीकृत भएपछि नेपाल र बंगलादेशबीच यसबारे अन्तिम सम्झौता हुनेछ । बंगलादेश नेपालबाट पाँच सय मेगावाट विद्युत् किन्न इच्छुक रहेको डेली अब्जर्भरमा उल्लेख छ । 

हाललाई भारतीय प्रसारणलाइन नै प्रयोग गरेर बंगलादेशमा विद्युत् पुर्‍याइनेछ । नेपालले भारतको मुजफ्फरपुरसम्म विद्युत् पु¥याउनुपर्नेछ । त्यसपछि उता भारत–बंगलादेश अन्तरदेशीय प्रसारणलाइन बहरामपुर–भेरमाराबाट बंगलादेश विद्युत् पु¥याइनेछ । मुजफ्फरपुर उताको प्रसारण खर्च स्वयं बंगलादेशले व्यहोर्नेछ । मुजफ्फरपुरमा हुने मिटरका आधारमा बंगलादेशले नेपाललाई भुक्तानी गर्नेछ । 

पहिलो चरणमा बंगलादेशमा बर्खामा मात्रै विद्युत् निर्यात गरिँदै छ । १५ जुनदेखि–१५ नोभेम्बरसम्म अर्थात् बर्खायामका ६ महिनामा विद्युत् निर्यात गर्ने गरी सम्झौता गरिनेछ । अब त्रिपक्षीय सम्झौतालगायत बाँकी प्रक्रिया पूरा गरेर आउँदो बर्खाबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने योजना प्राधिकरणले बनाएको छ । अहिले बंगलादेशसँग हुन लागेको विद्युत् खरिद–बिक्री सम्झौता हो । भारतीय प्रसारणलाइन प्रयोग हुने भएकाले नेपाल, बंगलादेश र भारतबीच छुट्टै सम्झौतासमेत हुँदै छ, त्यसको तयारी अन्तिम चरणमा पुगेको ऊर्जा मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

बंगलादेशमा २३.२८ मेगावाटको त्रिशूली र १९.४० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको विद्युत् बिक्री गरिँदै छ । उक्त आयोजनाको बिजुली आफ्नो प्रसारणलाइन हुँदै बंगलादेश लैजान भारतले यसअघि नै स्वीकृतिसमेत दिइसकेको छ । बंगलादेशमा पनि विद्युत् निर्यात गर्न निश्चित आयोजनालाई स्रोत देखाएर भारतबाट पूर्वस्वीकृति लिनुपर्ने भारतीय सर्त छ । 

प्राधिकरणले गएकै बर्खाबाट बंगलादेशमा विद्युत् बिक्री गर्ने योजना बनाए पनि त्रिपक्षीय सम्झौता नहुँदा त्यो सफल भएको थिएन । गत पुस २० गते सम्पन्न नेपाल–भारत ऊर्जा बैठकमा पनि भारतले त्रिपक्षीय सम्झौता गर्ने प्रतिबद्धता जनाइसकेको छ । बंगलादेश पनि विद्युत् खरिद दरमा सहमत भइसकेको छ । त्यसअनुसार आउँदो बर्खाबाट बंगलादेशमा विद्युत् निर्यात हुने सम्भावना उच्च रहेको प्राधिकरणका एक अधिकारीले बताए । अहिले नेपालले भारतमा विद्युत् व्यापार गरिरहेको छ । अब सीमा नजोडिएको देश अर्थात् क्षेत्रीय विद्युत् व्यापारमा समेत नेपाल प्रवेश गर्दै छ । 

बंगलादेशमा विद्युत् बिक्री गर्न भएका प्रयास
नेपाल र बंगलादेशबीच ऊर्जामा सहकार्य गर्न सन् ०१८ मा सहमति भएको थियो । सोहीअनुसार ऊर्जासचिवस्तरीय संयुक्त निर्देशक समितिसमेत गठन भएको थियो । सोही समितिको बैठक हरेक वर्ष बस्दै नेपाल–बंगलादेशबीच विद्युत् व्यापारको अवधारणा अघि बढाइएको थियो । ०७९ भदौमा काठमाडौंमा सम्पन्न ऊर्जासचिवस्तरीय बैठकमा बंगलादेशले कात्तिक ०७९ भित्रै नेपालबाट ४० देखि ५० मेगावाट विद्युत् किन्ने सहमति गरेको थियो । तर, भारतसँग समयमै समन्वयन नहुँदा त्यो सफल हुन सकेन ।

फागुन ०७९ मा सम्पन्न नेपाल–भारत ऊर्जा बैठकमा भारतले आफ्नो प्रसारण प्रणालीबाट नेपालको ५० मेगावाटसम्म विद्युत् बंगलादेश लैजान दिने सहमति गरेको थियो । त्यसपछि नेपालले बंगलादेशमा विद्युत् बिक्री गर्न थप प्रक्रिया अघि बढाएको थियो । भारतले सहमति जनाइसकेको र बंगलादेश आफैँ अग्रसर भएको अवस्थामा यो सम्भव हुने प्राधिकरणको दाबी छ । सन् ०३५ सम्म बंगलादेशमा पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने सरकारी लक्ष्य छ ।  बंगलादेशको सन् ०४० सम्म छिमेकी मुलुकबाट नौ हजार मेगावाट विद्युत् किन्ने लक्ष्य छ । 

ad
ad