१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o९:o९:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

निक्की हेलीले ट्रम्पविरुद्ध देखाएको साहस

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:o९:oo

संयुक्त राष्ट्रसंघका लागि पूर्व अमेरिकी राजदूत निक्की हेलीले रिपब्लिकन पार्टीकी राष्ट्रपति उमेद्वार हुने दौडमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्न सकिनन् । गत बुधबार उनले ट्रम्पलाई रिपब्लिकन पार्टीबाट मनोनयन प्राप्त गर्ने बाटो खुला गर्दै आफ्नो अभियान स्थगित गरेको घोषणा गरिन् । उनको प्राइमरी चुनावी दौडले रिपब्लिकन पार्टीमा ट्रम्पको पकडको प्रतिबिम्ब दिएको विश्लेषकहरू बताउँछन् । 

‘सम्भ्रान्त रिपब्लिकन वृत्तमा ट्रम्प फेरि पनि पहिले कै मनोदशा बोकेर आउँछन् र त्यसले प्रतिद्वन्द्वीलाई सघाउँला भन्ने डर छ,’ अमेरिकी राजनीतिकी लेखिका ओसिता नवानेभुले भनिन् ,‘हेलीको उम्मेदवारले त्यस चिन्तालाई मूर्त रूप दियो । पार्टी ट्रम्पसँग पुरै टाँसिँदा पार्टीलाई हानि पुग्नसक्ने डर बढेको छ ।’ तर, त्यो सन्देश रिपब्लिकन मतदातामाझ प्रतिध्वनित हुन सकेन । त्यसैले सुपर ट्युजडेमा प्राइमरी निर्वाचन भएका १५ राज्यमध्ये उनले केवल एउटा राज्यमा मात्र जित सुरक्षित गर्न सफल भइन् । ट्रम्पको ९९५ पार्टी डेलिगेट्सको तुलनामा त्यस बेलासम्म उनीसँग केबल ८९ डेलिगेट्स थिए । यस्तो स्थितिमा उनले अन्ततः चुनावी दौड समाप्त गरिन् । पार्टीको मनोनयन कसले पाउने भन्ने डेलिगेट्सको उच्च संख्याले गर्छन् ।

दक्षिण क्यारोलिनाकी पूर्वगभर्नर समेत रहेकी हेलीले प्राइमरी निर्वाचनमा ट्रम्पको सामना गर्न फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसलगायत अन्य सबै प्रमुख रिपब्लिकन विपक्षीलाई पछाडि पारिन् । विज्ञहरूका अनुसार हेलीले पार्टीका मतदातालाई नचिढ्याई नरमपन्थीहरूलाई अपिल गर्ने प्रयास गरिन् ।

हेलीले आफूलाई ट्रम्पको एक विकल्पको रूपमा प्रस्तुत गरिरहिन्, जसमा उनी केही सफल भइन्

चुनावी दौरानमा ट्रम्पले विगतमा उनको प्रशासनमा काम गरेकी हेलीलाई ‘मूर्ख’ र ‘नाम मात्रको रिपब्लिकन’ सम्म भन्न भ्याए । हेलीको सुपर ट्युज्डेको हारलाई इंगित गर्दै ट्रम्पले खिस्सी गर्दै लेखे, ‘डेमोक्य्राटहरूलाई भर्मन्ट र अन्य रिपब्लिकन प्राइमरीहरूमा मतदान गर्न अनुमति दिइएको तथ्यका बाबजुद निक्की हेली कीर्तिमानी ढंगले पराजित भइन् । उनले पाएको अनुदान डेमोक्य्राट्सबाट आएको देखियो ।’

विज्ञहरूले हेलीप्रति ट्रम्पको तिखो बयानबाजी आफ्ना समर्थकमा प्रतिध्वनित भएको देखेका छन्, जसले उनको राजनीतिक प्रमाण र भारतीय पृष्ठभूमिको अमेरिकीको रूपमा उनको नागरिकतामाथि पनि प्रश्न उठाए । उदाहरणका लागि ट्रम्पले उनी संयुक्त राज्य अमेरिकामा जन्मिएकी हुन् भन्नैमै प्रश्न उठाए । ट्रम्पले यस्तै षड्यन्त्रपूर्ण सिद्धान्त बराक ओबामाको राष्ट्रपतिकालमा पनि प्रचार गरेका थिए । ‘ट्रम्प र उनका समर्थकले हेलीप्रति देखाएको नकारात्मकताको स्तर सामान्यतया विपक्षी राजनीतिक दलका सदस्यका लागि प्रयोग गरिन्छ,’ सान डिएगोको क्यालिफोर्निया विश्वविद्यालयका राजनीतिक विज्ञानका प्राध्यापक थाड कौसरले अल जजिरालाई भने ।

तर, हेलीले आफूलाई ट्रम्पको एक निष्पक्ष विकल्पको रूपमा प्रस्तुत गरिरहिन् । यसमा उनी केही सफल भए पनि आप्रवासन, गर्भपतन र विदेश नीतिजस्ता मुद्दामा भने ट्रम्पकै हाराहारीको दक्षिणपन्थी अडान राखिन् । उनले एकपटक अमेरिकामा लगभग एक करोड अप्रमाणित आप्रवासी रहेको दाबी गर्दै तिनलाई देशनिकाला गर्नुपर्ने भनिन् । उनले देशको सेवानिवृत्तिको उमेर बढाउन पनि जोड दिइन् । जलवायु परिवर्तनलाई सम्बोधन गर्न डेमोक्रेटिक पार्टीले ल्याएको विधेयकलाई ‘कम्युनिस्ट घोषणापत्र’को संज्ञा दिईन् । हालैको एक अन्तर्वार्तामा उनले गाजामा विस्थापित प्यालेस्टाइनीलाई अरब देशहरूमा गाजा फिर्ता गर्नुको साँटो पुनस्र्थापना गर्नुपर्ने बताइन् । तर, युक्रेनप्रतिको उनको दृढ समर्थनले पार्टीको दक्षिणपन्थी पक्ष क्रुद्ध बन्यो । 

ट्रम्प समर्थकले २०२० चुनावको नतिजालाई उल्टाउन अमेरिकी क्यापिटलमा आक्रमण गरेपछि उनले २०२१ को जनवरी ६ मा ट्रम्पको आलोचना गरेकी थिइन् । ‘दंगा भड्किँदा उनले रोक्नुपथ्र्याे,’ उनले एनबिसीको मिट द प्रेसलाई भनेकी थिइन् । तर, हेलीले त्यस प्रकारको आलोचना गर्न राजनीतिक जोखिम मोलिन् । सञ्चारकर्मीसँग बोल्दै उनले ट्रम्पबाट आफू र अरूले सामना गरेको आलोचनाबारे केही टिप्पणी गरेकी थिइन् ‘ जब कसैले ट्रम्पको आलोचना गर्छ, जवाफमा उनले राजनीतिक आक्रमण गर्छन् ।’ हेली अब राष्ट्रपतिको दौडबाट बाहिरिएपछि राष्ट्रपति जो बाइडेनले 

आफ्नो अभियानलाई समर्थन गर्ने चेतनशील मतदातालाई आकर्षित गरिरहेका छन् । गत बुधबार एक विज्ञप्तिमा बाइडेनले ‘डोनाल्ड ट्रम्पबारे सत्य बोल्न’ साहस देखाएकोमा हेलीको प्रशंसा गरे । उनले हेलीका समर्थकलाई ‘आफ्नो अभियानमा स्थान’ रहेको बताए । हालैको क्विनिपियाक सर्वेक्षणले हेली निर्वाचन प्रक्रियाबाट बाहिरिए, उनलाई मतदान गर्ने रिपब्लिकनमध्ये ३७ प्रतिशतले मात्रै बाइडेनको पक्षमा मत हाल्ने देखाएको छ । यद्यपि लगभग आधाले ट्रम्पलाई समर्थन गर्ने देखिन्छ । यसले रिपब्लिकन क्षेत्रमा ट्रम्पको अटल प्रभाव झल्काउने राजनीतिक लेखक नवानेभु बताउँछन् । सन् २०१६ मा कुनै राजनीतिक अनुभवविना अपरिचित उम्मेदवारको रूपमा प्रकट भएदेखि नै ट्रम्पले रिपब्लिकन पार्टीमा निरन्तर प्रभुत्व बढाएका छन् र मतदाताहरू उनको पछि लागेका छन् ।

‘ट्रम्प रिपब्लिकन मतदातामाझ निक्कै लोकप्रिय छन् । सन् २०१६ मा प्रतिस्पर्धा गर्दा उनले बहुमतविना अधिकांश प्राइमरी जितेका थिए,’ नवानेभुले भने । हालैको मतसर्वेक्षणले पनि ट्रम्पलाई बाइडेनभन्दा अग्रस्थानमा देखाएको छ । न्युयोर्क टाइम्स र सियाना कलेज मिलेर गरेको हालैको एक सर्वेक्षणले ट्रम्पले बाइडेनमाथि ४८ देखि ४३ प्रतिशतको अग्रता लिएको देखाएको छ । बाइडेनको लोकप्रियता कीर्तिमानी ढंगले गिरावट भईरहेको छ । ती संख्याहरू रिपब्लिकनका लागि एकताबद्ध सावित भएका छन् । बाइडेनको न्यून लोकप्रियता दरले जटिल सार्वजनिक व्यक्तित्व र कानुनी अड्चनबीच ट्रम्पसँग चुनाव जित्ने क्षमता रहेको देखाएको राजनीतिक विज्ञानका प्राध्यापक कौसर भन्छन् ।
– अलजजिराका लागि ब्रायन ओसगुडको आलेख
 

ad
ad