१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o७:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

निक्षेपको ब्याजदर निरन्तर ओरालो

व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर घटेर ७.२५ प्रतिशत कायम, संस्थागत निक्षेपको ब्याजदर औसतमा बढेर ६.०९ प्रतिशत पुग्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:o२:oo

वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिएका छन् । बैंकमा निक्षेप थुप्रिँदै गएपछि चैत महिनाका लागि २० वटा वाणिज्य बैंकमध्ये १९ ले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बुधबार सार्वजनिक तथ्यांकअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ७.२५ प्रतिशत कायम भएको छ । फागुनमा औसत ब्याजदर ७.७५ प्रतिशत कायम थियो । गत भदौमा १०.३३ प्रतिशतसम्म पुगेको यस्तो ब्याजदर अहिले निरन्तर ओरालो लागिरहेको छ । बैंकहरूमा निक्षेप थुप्रिँदै जाने र कर्जा विस्तार पनि सुस्त भएकाले ब्याजदर घट्दो क्रममा छ । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत सोमबारसम्म बैंकहरूमा कुल निक्षेप ४५ खर्ब पुगेको छ । त्यस्तै, कर्जा निक्षेपको अनुपात पनि ७९.९१ प्रतिशत कायम छ । अन्तरबैंक ब्याजदर २.९५ प्रतिशत कायम रहँदा बैंकहरू अधिक तरलताको स्थितिमा रहेको देखाउँछ । जसकारण बैंकहरूले पनि ब्याजदर घटाउनुपरेको हो । 

एनआइसी एसियाले भने ब्याजदर बढाएको छ । बैंकको वित्तीय विवरणलाई लिएर नकारात्मक प्रचार भएपछि छोटो अवधिमै बैंकबाट निक्षेप झिकिएको थियो । जसकारण बैंकले ब्याजदर बढाउनु परेको हो । फागुनमा ब्याजदर घटाएर ८ प्रतिशतसम्म पुर्‍याएको एनआइसी एसियाले चैतमा ब्याजदर बढाएर ८.५४ प्रतिशत पुर्‍याएको छ । 

व्यक्तिगत मुद्दतीतर्फ सबैभन्दा बढी ब्याजदर हुनेमा एनआइसी एसिया नै छ । आठवटा वाणिज्य बैंक सिटिजन्स, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई, कुमारी, हिमालयन, प्रभु, लक्ष्मी सन्राइज र सिद्धार्थ बैंकको मुद्दती ब्याजदर ७.५ प्रतिशतभन्दा बढी छ । नबिल, सानिमा र प्राइम कमर्सियल बैंकको ब्याजदर ७.२५ प्रतिशत कायम छ । नेपाल एसबिआई बैंकको ब्याजदर ७.०१ प्रतिशत पुगेको छ । एनएमबि, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल बैंकको ब्याजदर ७ प्रतिशत कायम भएको छ । एभरेष्ट बैंकको ब्याजदर ६.५ प्रतिशत कायम भएको छ भने कृषि विकास बैंकको ब्याजदर ५.६६ प्रतिशत छ । 

 संस्थागत निक्षेपको ब्याजदर औसतमा बढ्यो
बैंकहरूले व्यक्तिगत मुद्दतीभन्दा १ प्रतिशत विन्दुले कम ब्याजदर संस्थागत निक्षेपमा दिनुपर्ने व्यवस्था छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले २ प्रतिशत विन्दुको यो सीमालाई घटाएर १ प्रतिशत विन्दु कायम गरेको थियो । जसअनुसार अधिकांश बैंकले संस्थागत निक्षेपको ब्याजदर बढाउनुपरेको हो । 

फागुनसम्म ५.७३ प्रतिशतसम्म औसत पुगेको संस्थागत निक्षेपको ब्याजदर चैतमा भने बढेर ६.०९१ प्रतिशत कायम भएको छ । एनआइसी एसिया बैंकले संस्थागत निक्षेपमा दिने ब्याजदर १.५४ प्रतिशत विन्दुले बढाएर ७.५४ प्रतिशत पुर्‍याएको छ । अधिकांश बैंकहरूले संस्थागत निक्षेपको ब्याजदर बढाए पनि पाँच वाणिज्य बैंकले भने घटाएका छन् ।

एनएमबि, हिमालयन, एभरेष्ट, नेपाल एसबिआई र नेपाल बैंकले संस्थागत निक्षेपमा ब्याजदर घटाएका हुन् । नबिल, ग्लोबल आइएमई, कृषि विकास बैंक, सानिमा, प्रभु, कुमारी, लक्ष्मी सन्राइज, सिद्धार्थ बैंक र प्राइम कमर्सियल बैंकले यस्तो निक्षेपमा ब्याजदर बढाएका छन् । राष्ट्रिय वाणिज्य, नेपाल, इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्यान्डर्ड चार्टर्ड, सिटिजन्स र माछापुच्छ्रे  बैंकको ब्याजदर भने स्थिर छ ।

ad
ad