एमाले अध्यक्ष केपी ओलीले देश र जनताका समस्या समाधान गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै ओलीले देश अप्ठ्यारो अवस्थामा रहेकाले सबै मिलेर अघि बढ्नुपर्ने बताए ।
‘आजका अखबारमा प्रधानमन्त्री १३–१३ महिना बाँडेको सन्दर्भ अनुचित ढंगले ल्याइएको छ । यस्तो सहमति भएको पनि छैन । हुन पनि सक्दैन । को प्रधानमन्त्री हुन्छ भन्ने महत्वपूर्ण कुरा होइन । मलाई प्रधानमन्त्रीमा रुचि पनि छैन,’ उनले भने, ‘देश समस्यामा छ । कम्तीमा अब देश अघि बढोस् । मिलेर देशको समस्या समाधान गरौँ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले विगतमा आफूले तीन वर्षसम्म देशका समस्या मिलेर समाधान गरौँ भनेर कांग्रेसलाई भनेको स्मरण गरे । ‘मैले तीन वर्षसम्म पटकपटक कुराकानी गरौँ, छलफल गरौँ भनिरहेँ । तर, कांग्रेसले एमालेसँग पानी चल्दैन भने जसरी कुरा चल्दैन भनिरह्यो ।’
उनले देशलाई, लोकतन्त्रलाई बलियो बनाउने सन्दर्भमा सबै दल मिलेर अघि बढ्नुपर्ने अवस्था आएको बताए ।