१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o७:o५:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सत्तागठबन्धनको आठबुँदे सहमति परिमार्जन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:o५:oo

सत्तागठबन्धन दलले २१ फागुनको आठबुँदे सहमति पुनर्लेखन गर्दै सातबुँदे अर्को सहमति गरेका छन् । यसअघि चार दलले सहमतिमा हस्ताक्षर गरेकोमा मंगलबार एकीकृत समाजवादी थपिएर पाँच दल भएका छन् । विश्वासको मत लिने एक दिनअगाडि सत्तारुढ दलको संख्या थपिएको हो ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएपछि सत्तारुढ पाँच दलले सातबुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् । यसअघिको सहमतिमा ओली, प्रचण्ड, लामिछाने र यादवले मात्रै हस्ताक्षर गरेका थिए ।

पूर्वसमझदारीअनुसार आठबुँदेलाई पुनर्लेखन गरेर सहमति गरिएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र्र पाण्डेले बताए । सहमतिको पहिलो बुँदामा प्रचण्ड नेतृत्वको सरकारलाई सुदृढ र सफल पार्ने उल्लेख छ । राष्ट्रिय सभाको रिक्त अध्यक्ष पदमा माओवादीका उम्मेदवारलाई समर्थन गर्ने सहमति छ । सहमतिअनुसार राष्ट्रिय सभा अध्यक्षमा माओवादीका नारायण दाहाल निर्वाचन भइसकेका छन् ।

यसअघि उपाध्यक्षमा एमाले उम्मेदवारलाई समर्थन गर्ने बुँदा हटाइएको छ । एकीकृत समाजवादीले उपाध्यक्षमा दाबी गरेपछि थप छलफल गर्ने निष्कर्षसहित उपाध्यक्षको विषय हटाइएको स्रोतले बताएको छ । स्रोतका अनुसार नेपालले प्रधानमन्त्री, राष्ट्रिय सभाको उपाध्यक्ष, मुख्यमन्त्री र मन्त्री एवं अन्य राजनीतिक नियुक्तिमा सम्मानजनक सहमति हुनुपर्ने माग राखेका थिए । प्रचण्डले मिलेर जानुपर्ने आवश्यकता औँल्याउँदै लचिलो हुन तयार रहेको बताएका थिए । ओलीले पनि सहयात्रामा अगाडि बढ्ने क्रममा आफूहरू लचिलो हुन तयार रहेको भन्दै यसअघि सहमतिमा उल्लेख भएको उपाध्यक्षको विषय हटाएर सहमति गर्न प्रस्ताव गरेका थिए । 

तीन नेताबीच प्रधानमन्त्री आलोपालो गर्ने समझदारी पनि भएको स्रोतको दाबी छ । नयाँ सरकार गठन प्रक्रियामा अन्य दलहरूसँग संवाद अघि बढाउने सहमति पनि भएको छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने सहमति भएको हो । उपप्रधानमन्त्रीसमेत रहेका एमाले सचिव रघुवीर महासेठले मिलेर अगाडि बढ्ने समझदारी भएको बताए । माओवादी महासचिव देव गुरुङले सहमतिका विषय सात बुँदामा आएको र बाँकी विषयमा थप छलफल हुने बताए । 

संसदीय दलको बैठकमा ओलीले भने– ‘प्रधानमन्त्रीले एकदम राम्रो काम गर्नुभएको छ, देशलाई अस्थिरतातर्फ जानबाट रोक्न विश्वासको मत दिनुपर्छ एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको कदम स्वागतयोग्य रहेको भन्दै विश्वासको मत दिन सांसदहरूलाई निर्देशन दिएका छन् । मंगलबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिए देश अक्षमहरूको हातमा पुग्नेसमेत बताए ।

‘भोलि प्रधानमन्त्रीले विश्वासको मत पाउनुभएन भने संविधानको धारा ७६ को उपधारा २ को च्याप्टर क्लोज हुन्छ र राष्ट्रपतिले प्रमुख पार्टीको नेताको हैसियतले भोलि नै कांग्रेस सभापतिलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुहुन्छ,’ उनले भने, ‘त्यसपछि अल्पमतको, अयोग्य, दृष्टिकोणविहीन, स्वाभिमानहीन, भवितव्यले आइलागेको, कुनै संकल्प नभएको सरकार बन्छ । हामीले त्यस्तो सरकार बन्न दिनुहुँदैन । देशलाई अस्थिरतातर्फ जानबाट जोगाउन प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्छ ।’

ओलीले एक/डेढ वर्ष पदमा कुनै खतरा नहुँदा पनि फरक ढंगले प्रधानमन्त्रीले कदम चालेको बताए । ‘अहिले प्रधानमन्त्रीले एकदम राम्रो काम गर्नुभएको छ । एकदम अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन उहाँले पहलकदमी लिनुभयो । कमसेकम एक/डेढ वर्ष उहाँको पद कुनै खतरामा थिएन । चलेकै थियो । तर, एक/डेढ वर्ष पदमा बसिरहनु, चल्नु मात्र होइन, देश संकटमा पर्‍यो भन्ने रियलाइजेसन गरेर उहाँले फरक ढंगले कदम चाल्नुभएको छ,’ ओलीले भने, ‘त्यसकारण त्यो कदमलाई इतिहासतिर मात्रै हेरेर हुँदैन । अहिलेको अवस्थामा उहाँले चालेको कदम सकारात्मक छ । देशभक्त, प्रगतिशील, समाजवादउन्मुख, जनमुखी नयाँ समीकरण निर्माण गर्न पहल जुन गर्नुभयो, यो स्वागतयोग्य हो ।’ 

ओलीले मनोवैज्ञानिक रूपमा सरकारले आशा जगाउने काम गरेको बताए । गठबन्धन आफूहरूले परिवर्तन गरेको भन्दै चीनलाई जोड्न आवश्यक नरहेको बताए । उनले भने, ‘यो परिवर्तन हामीले गरेको, गराएको हो । कमसेकम यति जस त हामीलाई दिनुस् । कहाँ चीन पुर्‍याएको यति सानो कामलाई पनि । चीनले बनाइदियो रे, चीन आयो रे, चीनले यो गर्‍यो, चीनले त्यो गर्‍यो रे । यस्तो खालको कुरा नगरे हुन्छ । यो हामीले गरेको हो । यति जस त हामीलाई दिनुस्, यत्रो मेहनत गरेर बनाइएको छ ।’ 

ad
ad