१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
टेकराज थामी काठमाडाैं
मञ्जु टेलर काठमाडाैं
२०८० फाल्गुण ३० बुधबार ०६:४७:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सवारी दुर्घटनाबाट एक वर्षमा एक लाखभन्दा धेरै पुग्छन् अस्पताल

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
मञ्जु टेलर, काठमाडाैं
२०८० फाल्गुण ३० बुधबार ०६:४७:००
  • ज्यान गुमाउनेमा ८३ प्रतिशत पुरुष 
  • ९० प्रतिशतभन्दा बढी दुर्घटनाको कारक ‘मानवीय गल्ती’ 

पछिल्लो एक वर्षमा सवारी दुर्घटनामा घाइते भएका एक लाखभन्दा धेरै नागरिक उपचारका लागि अस्पताल पुगेका छन् । स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार ०७९/८० मा दुर्घटनामा परेका एक लाख एक हजार नौ सय ४७ जना अस्पताल गएका हुन् । 

विभागको तथ्यांकअनुसार ९४ हजार ६ सय ६५ घाइते अस्पतालका ओपिडी र गम्भीर घाइते भएका सात हजार दुई सय ८२ इमर्जेन्सीमा पुगेका थिए । सोही वर्ष दुई हजार आठ सय ८३ जनाले दुर्घटनामा ज्यान नै गुमाए । विभागले गत वर्षदेखि मात्रै सवारी दुर्घटना र यसबाट हुने घाइतेलगायत विवरण संकलन गर्न थालेको हो । दुर्घटनाले मृत्यु, अपांगता र अन्य दीर्घकालीन शारीरिक समस्या निम्त्याउँछ । 

राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै दैनिक उपचारका लागि आउनेमध्ये २० प्रतिशत बिरामी सवारी दुर्घटनाका हुने गरेका छन् । दुर्घटनाका यी घाइतेमध्ये पनि ६० देखि ७० प्रतिशतमा गम्भीर चोटपटक हुने गरेको अस्पतालको तथ्यांकले देखाएको छ । 
सामान्य चोटपटक लागेका घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउने भएकाले प्रायः गम्भीर अवस्था भएकाहरू मात्रै ट्रमा सेन्टरसम्म आइपुग्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजाल बताउँछन् । ‘सवारी दुर्घटनाबाट घाइते भएर आएका केसहरूमध्ये ७० प्रतिशतभन्दा बढीलाई अपरेटिभ केयर दिनुपर्ने खालका हुन्छन् । अधिकांश बिरामी हात, खुट्टा तथा ढाडका हड्डीहरू भाँचिएका र घाउसहितका हुन्छन् ।

घाउचोटका कारण संक्रमण हुने जोखिमका कारणसमेत कतिपयमा तत्काल हड्डीको शल्यक्रिया गर्न नमिल्ने हुन्छ,’ उनले भने, ‘यसबाहेक कम्पाउन्ड फ्याक्चर, लङ बोन फ्याक्चर, हेड इन्जुरी वा स्पाइनल इन्जुरीलगायत विभिन्न जटिल खालका चोटपटकले अपांगता हुने केसहरू पनि अत्यधिक छन् ।’

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार ०७९/८० मा दुर्घटनामा परेका एक लाख एक हजार ९४७ घाइते अस्पताल पुगे सोही वर्ष भएका २३ हजार ५९७ दुर्घटनामध्ये सबैभन्दा धेरै नौ हजार ५७ दिउँसो १२ बजेदेखि साँझ ६ बजेको बीचमा भएको प्रहरीको तथ्यांक

सवारी दुर्घटनामा घाइते भएका कतिपयको कलेजोलगायतका भित्री अंगहरूमा समेत चोटपटक लाग्छ । यसले दीर्घकालीन समस्या निम्तिरहेको अस्पतालले जनाएको छ । कतिपयमा चोटपटकका कारण प्यारालाइसिस हुने तथा अंगहरू नै काटेर फाल्नुपर्ने हुन्छ । उपचारपछि अपांगता बन्ने अनुपात ३ देखि ४० प्रतिशत छ । प्यारालाइसिस हुने र हातखुट्टा बांगो हुने वा अन्य खालका अपांगताहरू धेरैजसोमा देखिने गरेको चिकित्सक बताउँछन् ।

सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये ८२. ६ प्रतिशत पुरुष छन् । पछिल्लो वर्ष सवारी दुर्घटनामा ज्यान गुमाउने र गम्भीर चोटपटक लाग्नेमा अधिकांश पुरुष रहेको तथ्यांकले देखाएको हो । ०७९/८० मा सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेमध्ये दुई हजार तीन सय ६६ पुरुष थिए भने पाँच सय १७ महिला थिए ।

ज्यान गुमाउनेमा पनि दुई र तीनपांग्रे सवारी दुर्घटनाका धेरै छन् । त्यस्तै, दुर्घटनामा मृत्यु भएकामध्ये ३४ प्रतिशत सवारीचालक छन् । ३०.६ प्रतिशत सवारीसाधनमा सवार यात्रु तथा २२.७ प्रतिशत पैदल यात्रु छन् । नै जनासम्म यात्रु वा ३५ सय केजीसम्म तौल बोक्न बनाइएका चारपांग्रे गाडी दुर्घटनाबाट ४.५ प्रतिशत, साइकल यात्रु ३.६ प्रतिशत, हेभी भेइकलका चालक र यात्रु गरी ३.५ प्रतिशत र अन्य सवारी दुर्घटनामा १.१ प्रतिशतको मृत्यु भएको छ ।

सवारी दुर्घटनाका कारकहरूमध्ये मानवीय त्रुटि प्रमुख देखिएको छ । सडकको अवस्था कमजोर हुनु, बाटोको सुरक्षामा आधारहरू मापन नहुनु, अनुमति नै नभएको अर्थात् तयार नै नभएको बाटोमा सवारी चलाउनु, प्राकृतिक प्रकोप र मौसमका कारण निम्तिने विभिन्न समस्याले सवारी दुर्घटना भइरहे पनि ९० प्रतिशतभन्दा बढी दुर्घटना मानवीय त्रुटिका कारण हुने गरेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल बताउँछन् । 

‘मानवीय गल्ती भन्नाले चालक मात्रै होइन । यात्री, पैदल यात्रु आदि विभिन्न कारणले सवारी दुर्घटनाबाट गम्भीर घाइते र मृत्यु अत्यधिक छ । सडकको अवस्थाका कारण हुने दुर्घटना जम्मा दुई प्रतिशतको हाराहारीमा छ । नेपालको सन्दर्भमा भने १.६ प्रतिशत रहेको तथ्यांकले देखाउँछ,’ महानिर्देशक ढकालले भने । 

एसिया प्यासिफिक रोड सेफ्टी अब्जरभेटरीका समेत अध्यक्ष रहेका ढकालका अनुसार नेपालमा सडक सुरक्षाका लागि छुट्टै कानुन नहुनु, कार्यक्रममा लगानी नहुनु र कार्यान्वयनको पाटोसमेत फितलो भएका कारण दुर्घटनाको क्षति उच्च छ । ‘दुर्घटनाबारे राम्रोसँग जनचेतना नहुँदासमेत अंगभंग हुने र मृत्यु हुने जोखिम बढिरहेको देखिन्छ । क्षतिबारे बुझाउन नसक्दासमेत ठूलो समस्या निम्तिरहेको छ, जुन हाम्रो कमजोरी हो । यो मानव अधिकारको विषय भए पनि हामीकहाँ सडक सुरक्षा ऐनसमेत बन्न सकेको छैन । जसले गर्दा सडक सुरक्षा काउन्सिलले समेत काम गर्न नसकेको अवस्था छ,’ उनले भने । सन् २०३० सम्ममा सवारी दुर्घटना ५० प्रतिशत घटाउने लक्ष्य लिइए पनि बढ्दो दरमा छ ।