१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २८ सोमबार १५:३७:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

इलामको रमणीय पाखामा गुन्जँदै नेपथ्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २८ सोमबार १५:३७:००

सात दशकअघि मुलुकका मूर्धन्य साहित्यकार भेला भएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका गुन्जिने भएको छ।

आगामी चैत ३ गते शनिबार बेलुकी चर्चित ब्यान्ड नेपथ्य इलामको सूर्योदय नगरपालिका करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा उपस्थित हुँदै छ। लाप्चा भाषामा ‘करफोक’ भनेको ढुकुर हो।

नेपालमा काठमाडौं उपत्यकाबाहिर विरलै बृहत् साहित्यिक कार्यक्रम हुने समयमा २००९ सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौड्याल, नाटककार बालकृष्ण सम, महानन्द सापकोटा, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली, शंकर लामिछानेलगायतका साहित्यकार भेला भएर करफोकमा ‘पहिलो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन’ आयोजना गरेको इतिहास छ।

त्यस भेगकै अर्को ऐतिहासिक महत्व राख्ने करफोक विद्यामन्दिरको परिसरमा नेपथ्य सांगीतिक प्रस्तुति दिन लागेको हो। ‘राजमार्ग भएर गुज्रँदा वरिपरि चियाबारी, सल्लाघारी र वनजंगलले घेरिएको पूर्वी पहाडकै लोभ्याउने यस पाखामा एकपटक आफूलाई प्रस्तुत गर्ने इच्छा धेरै पहिलेदेखिको हो,’ नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘यसपटक इलामका साथीहरूले जोग मिलाइदिनुभएकोमा असाध्यै खुसी लागेको छ।’

न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ  ‘इलाम गुरुङ समाज’ले कन्सर्ट आयोजना गरेको हो। इलाम नगरपालिका– ६ को गढीथुम्कामा यो गुम्बा निर्माण भइरहेको छ। सभाकक्ष, पूजा हल, भण्डार र पाहुना कोठासहित तीनतले गुम्बा ०८३ सालमा निर्माण सम्पन्न भई सञ्चालनमा आउने लक्ष्य राखिएको छ। कन्सर्टमा टिकटको मूल्य एक हजार एक सय रुपैयाँ राखिएको छ।