१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १४:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राष्ट्रपतिबाट टुँडिखेलमा महाशिवरात्रि बढाइँ अवलोकन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १४:o७:oo

राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६१औँ सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भए। 

सो अवसरमा उनले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरे।  

राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन्। नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ। 

समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०८०’ वार्षिक पत्रिका विमोचन गरे। 

उनले ‘फ्री फल जम्प’मा प्रथम भएका अमलदार टंकबहादुर डाँगी र दोस्रो भएका सेनानी जगनाथ दनैलाई पुरस्कार प्रदान गरे। राष्ट्रपति पौडेलले सेना दिवस समारोहमा ब्यान्ड प्रस्तुत गर्ने भारतीय, बेलायती र अमेरिकी सेनाका टोली प्रमुखलाई सम्झनास्वरूप उपहार प्रदान गरे। 

यसअघि सेनाको हेलिकाेप्टरमार्फत पुष्पवृष्टि गर्नुका साथै राष्ट्रिय झन्डा र ‘सेना दिवस–२०८०’ लेखिएको ब्यानर प्रदर्शन गरियो। त्यस अवसरमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ तथा कवाज प्रस्तुत गरेको थियो। 

समारोहमा सेनाद्वारा विभिन्न रणकौशल तथा परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र संगीतको धुन प्रदर्शन गरियो। कार्यक्रममा मार्चपाससमेत प्रस्तुत गरिएको थियो। 

सो अवसरमा नेपाली सेनाले शान्ति मिसनमा प्रयोग गर्दै आएका विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको प्रदर्शन गरिएको थियो। सेनाको टोलीबाट नेपालको झन्डा, देशको नक्सा, डमरु आकृतिलगायतको प्रस्तुति भएको थियो। सो अवसरमा नेपालको प्रसिद्ध थाल नृत्यसमेत प्रदर्शन गरिएको थियो।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ उपस्थित थिए। उपप्रधानमन्त्री, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका लब्धप्रतिष्ठित महानुभाव पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुगेका थिए। 

शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो। उक्त समारोहको नेपाल टेलिभिजनलगायत विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए । समारोहपछि प्रधानसेनापति प्रभुराम शर्माले समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गरे।  

ad
ad