१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
शुरोजंग पाण्डे काठमाडाैं
प्रेम गौतम काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:२६:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

मन्त्रालय बाँडफाँटमा विलम्ब

सरकारमा सहभागी हुने दलहरूको संख्या यकिन नहुँदा तथा शक्तिशाली मन्त्रालयहरूमा ठूला दलको दाबीले बाँडफाँटमा कठिनाइ, एकीकृत समाजवादी र अन्य साना दललाई समेत सामेल गर्ने गरी मन्त्रिपरिषद् विस्तार केही दिन ‘होल्ड’ गरेर गठबन्धनका दलहरू आन्तरिक कसरतमा

Read Time : > 2 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२६:oo

आठबुँदे सहमतिसहित चार राजनीतिक दलबीच नयाँ गठबन्धन बने पनि मन्त्रालय बाँडफाँटमा विलम्ब देखिएको छ । सरकारमा सहभागी हुने दलहरूको संख्या यकिन नहुँदा तथा केही शक्तिशाली मन्त्रालयमा ठूला दलको दाबीले मन्त्रालय बाँडफाँटमा विलम्ब भएको हो । 

गठबन्धन चुनावसम्म बलियो बनाउन रास्वपा र जसपाबाहेक एकीकृत समाजवादी र अन्य साना पार्टीलाई समेत सामेल गर्ने गरी मन्त्रिपरिषद् विस्तारलाई केही दिन होल्डमा राखेर दुवै नेता आन्तरिक कसरत र दौडधुपमा सक्रिय छन् । साथै नयाँ समीकरण बनेपछि एमाले, माओवादी, रास्वपा र जसपाले मन्त्रिपरिषद् विस्तारको प्रारम्भिक गृहकार्य सुरु गरेका छन् ।

चार दलबीच आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने र बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने सहमति छ । उनीहरूबीच नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सहभागी हुन अन्य दलसँग पनि आवश्यक संवाद अघि बढाउने सहमति छ । यसैअनुसार एकातिर कार्यदलले काम गरेको छ भने शीर्ष नेता अन्य दलसँग संवादमा छन् । 

देव गुरुङ, 
महासचिव, माओवादी

गठबन्धनमा सहभागी हुने दलहरूको टुंगो लागेपछि भागबन्डाको विषय टुंगिन्छ । कुन–कुन दल गठबन्धनमा सहभागी हुने भन्नेमै छलफल भइरहेको छ । गठबन्धनमा समेटिने दलहरूको टुंगोपछि कुन मन्त्रालय कसलाई दिने भन्ने विषय टुंगिन्छ । 


२५ सदस्यीय मन्त्रिपरिषद्मा २१ वटा मन्त्रालय छन् । जसअनुसार अघिल्लोपटककै भागबन्डालाई आधार मान्ने मोटामोटी समझदारी भए पनि शक्ति परिचालन, विकास निर्माण र अन्य मन्त्रालयलाई तीन भागमा वर्गीकरण गरेर बाँडफाँट गर्ने तयारी छ । एमालेबाट सरकारमा आठ, माओवादीबाट पाँच, रास्वपाबाट तीन, जसपाबाट दुई, जनमत पार्टीबाट एक मन्त्री सरकारमा सामेल थिए । 

एमालेबाट उपाध्यक्ष विष्णु पौडेलले अर्थ मन्त्रालयसहित सरकारको नेतृत्व गरेका थिए । अर्थ मन्त्रालय पाएको खण्डमा पौडेलको नेतृत्वमा सरकारमा पठाउने अन्यथा उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई नेतृत्वसहित पठाउने विषयमा प्रारम्भिक छलफल चलिरहेको अध्यक्ष ओलीनिकट स्रोतले बताएको छ । 

‘उहाँहरूमध्ये एक या दुवैजनालाई सरकारमा पठाउने गरी प्रारम्भिक छलफल चलेको छ,’ निकट स्रोतले भन्यो, ‘त्यसबाहेक पदाधिकारीबाट अरू दुईजनालाई पठाउने तयारी छ ।’ पदाधिकारीमध्ये सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट र रघुवीर महासेठमध्येबाट पठाउने र बाँकी मन्त्रीहरू पुरानै अनुहार दोहो¥याउने गरी नै पार्टीभित्र छलफल चलिरहेको स्रोतको दाबी छ । 

एकीकृत समाजवादीसहित साना दललाई पनि सरकारमा सामेल गर्ने प्रयास टुंगिएपछि मन्त्रालय भागबन पनि प्याकेजमै टुंग्याउने गरी तयारी अगाडि बढेको छ । अर्कोतिर उपप्रधान तथा गृहमन्त्रीसहित सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा सहभागी हुने तयारीमा छ । विनाविभागीय मन्त्रीको शपथ लिएका उपसभापति डोरप्रसाद अर्यालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय पाउने चर्चा छ । रास्वपा महामन्त्री मुकुल ढकालले सत्तागठबन्धनमा मन्त्रालयको बाँडफाँट टुंगो नलागेकाले पार्टीबाट को–को सरकारमा जाने भन्ने निर्णय नभइसकेको बताए । 

कोटेश्वरमा प्रचण्ड, ओली र नेपालबीच दुई घण्टा वार्ता
एकीकृत समाजवादी नयाँ गठबन्धनमा सहभागी हुन सकारात्मक देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले नयाँ गठबन्धनमा सहभागी हुन गरेको प्रस्तावमा एकीकृत समाजवादी सकारात्मक देखिएको हो । 

प्रचण्ड र ओली मंगलबार साँझ नेपालनिवास कोटेश्वर पुगेर नयाँ गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका थिए । आपसी परामर्शविना प्रचण्डले गठबन्धन बनाएकोमा नेपाल असन्तुष्ट थिए । प्रचण्ड र ओलीले सविस्तार मुलुकका चुनौती र आगामी यात्राबारे प्रस्ट कुरा राखेपछि नेपाल नयाँ गठबन्धनप्रति सकारात्मक बनेको स्रोतको दाबी छ । 

भेटघाटको सुरुमा नेपालले किन चार दल मात्रै गठबन्धनमा हुनुभयो भन्ने प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले आफ्ना कतिपय बाध्यता र सीमा बुझ्न आग्रह गर्दै भविष्यमा मिलेर जाने प्रस्ताव गरेका थिए । गठबन्धनबाट आफू निस्कनुपर्नाको कारणबारे व्याख्या गर्दै प्रचण्डले ‘हामी सँगै जानुपर्छ । अब अगाडि बढौँ’ भनेका थिए । वामपन्थीहरू कोही नछुटी सहकार्य गर्ने र अरू शक्तिहरूसँग सहकार्य गरेर अगाडि जानुपर्छ भन्ने प्रचण्डको जोड थियो । भेटमा ओलीले नयाँ शिराबाट अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका थिए । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सामूहिक चासोका विषयमा छलफल भएको बताए । 

नेपालले बुधबार सचिवालय बैठक बसेर निर्णय लिने जवाफ दिएका छन् । बुधबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको छ । एमाले महासचिव शंकर पोखरेलले आफूहरूले गठबन्धनमा सहभागी हुन अनुरोध गर्दा नेपालले पार्टीको बैठक बसेर निर्णय लिने जवाफ दिएको बताए । 

घनश्याम भुसाल, महासचिव, एकीकृत समाजवादी
वाम पार्टीहरू सकेसम्म एक ठाउँमा भएर, अरू लोकतान्त्रिक शक्तिहरूसँग पनि सम्भव भएसम्म अगाडि जाने विषयमा गहिराइमा छलफल भयो । खासगरी मुलुकको समस्याबारे, हाम्रो आन्दोलनको चुनौतीहरूको बारेमा कुरा भयो । चासो, चिन्तालाई हेर्दा ती मुुलुकको बारेमा छन् । हामी सबैले एक खालले सेयरिङ गर्‍यौँ ।

पार्टी बैठकमा ओलीको ‘ब्रिफिङ’ : ०८४ को निर्वाचनसम्मै गठबन्धनको समझदारी
दुई–दुई वर्षको आलोपालो सत्ता सञ्चालन गर्ने, तर सरकारको स्थायित्व जोडिएकाले बाहिर प्रचार नगर्ने, प्रधानमन्त्रीलाई सहज हुने गरी मन्त्रालय बाँडफाँट गर्ने, समझदारी परिपक्व र राम्रो बन्दै गयो भने ०८४ को चुनावमा पनि मिलेरै जाने, पार्टी एकता तत्काल नगर्ने, तर पर्याप्त गृहकार्य र बहस चलाउँदा परिपक्व परिस्थिति निर्माण भयो भने मात्र निर्णयमा पुग्ने गरी मोटामोटी समझदारी भएको छ । यो गठबन्धनमा राप्रपालाई सामेल गरिँदैन, बरु नयाँ र साना पार्टीहरूलाई लैजान सकिन्छ । अहिलेको मुलुकको परिस्थितिलाई पनि बुझेर हामीले कदम चाल्नुपर्ने अवस्था छ ।

ad
ad