वन कार्यालयले सडक निर्माणमा अवरोध गरेको भन्दै सिगास गाउँपालिका–१ का वडाध्यक्ष रामचन्द्र ऐरीसहित स्थानीय आन्दोलनमा उत्रिएका छन् । उनीहरूले वडा कार्यालयमा ताला लगाउनुका साथै पालिका जोड्ने दुदिलाखन–गाँजरी सडकमा रुख ढालेर नौ दिनदेखि ठप्प पारेका छन् ।
बैतडी–बझाङ राजमार्गको दुदिलाखनबाट गाँजरी हुँदै सिगास गाउँपालिका जोड्ने दुईवटा सडक निर्माणाधीन छन् । जसमध्ये गाँजरीबाट कुर्चेनेटा हुँदै सिगास गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माण वन कार्यालयले रोकेको छ । संरक्षित वनबाट सडक बनाउन नपाउने अडान वन कार्यालयले राखेको छ भने अर्काे रुट धौलाडी भएर सडक बनाउन चट्टान र भिर अवरोधका रूपमा रहेको स्थानीयको भनाइ छ । त्यही भएर कुर्चेनेटाबाट पालिका जोड्ने सडक बन्नुपर्ने माग राखेको वडाध्यक्ष ऐरीले बताए ।
डिभिजन वन कार्यालयका वन अधिकृत दीलिपकुमार यादवले संरक्षित वनभित्र सडक खन्न प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइई) स्वीकृत गराउनुपर्ने र त्यसपछि सडक निर्माण गर्ने निकायले संरक्षित वनको जग्गा सरकारबाट प्राप्त गर्ने बताए ।