१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
पवन तिमिल्सिना काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o६:१३:oo
Read Time : > 6 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

२६ वायुसेवा कम्पनीले तिरेनन् भ्याट

Read Time : > 6 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:१३:oo

आर्थिक ऐन भन्छ– कारोबारको सीमा २० लाख रुपैयाँ नाघेको मितिले ३० दिनभित्र कर तिर्नुपर्छ तर, यात्रुबाट उडान शुल्कमै भ्याट जोडेर रकम उठाउने वायुसेवा कम्पनीहरूले सरकारलाई पाँच महिनासम्म पनि बुझाएनन्

नेपालबाट उडान भर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ४९ वायुसेवा कम्पनीमध्ये २६ ले सरकारलाई मूल्य अभिवृद्धि कर (भ्याट) तिरेका छैनन् । सरकारले चालू आर्थिक वर्षदेखि उडान गर्दा अनिवार्य भ्याट तिर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । सोहीअनुसार वायुसेवा कम्पनीहरूले यात्रुबाट टिकटमै कर जोडेर रकम उठाए पनि सरकारलाई बुझाएका छैनन् । 

अन्तरिक राजस्व विभागका अनुसार २२ वायुसेवा कम्पनीले भने मंसिरसम्मको भ्याट तिरिसकेका छन् । त्यस्तै, सबैभन्दा बढी आन्तरिक उडान भर्ने बुद्ध एयरले आर्थिक ऐनले दिएको सुविधा उपभोग गर्दै जहाज खरिद गर्दा तिरेको भ्याटसँग मिलान गरेको छ । 

सबै वायुसेवा कम्पनीहरूको विवरण विभागसँग भएकाले ढिलोचाँडो भ्याट तिर्नैपर्ने अवस्था रहेको आन्तरिक राजस्व विभागका प्रवक्ता अर्जुन भट्टराईले बताए । उनले भने, ‘अहिले कतिपय वायुसेवा कम्पनीहरूले भ्याट तिरिरहनुभएको छ । तर, कतिपयले तिर्नुभएको छैन । यस्तोमा उहाँहरूले उम्किने अवस्था छैन । ढिलोचाँडो तिर्नैपर्ने हुन्छ । ढिलो भएको अवस्थामा जरिवानासहित तिर्नुपर्ने भएकाले जतिसक्दो चाँडो भ्याटको दायरामा आउनु राम्रो हुन्छ ।’ 

सरकारले चालू आर्थिक वर्षमा आर्थिक ऐनमै व्यवस्था गरेर उडान गर्दा अनिवार्य भ्याट तिर्नुपर्ने उल्लेख गरेको थियो । विभागका अनुसार हवाई यातायात सेवामा आर्थिक ऐन, २०८० बाट मूल्य अभिवृद्धि कर लाग्ने भएकाले कर लाग्ने भएको वा कर लाग्ने कारोबारको सीमा २० लाख रुपैयाँ नाघेको मितिले ३० दिनभित्र कारोबार दर्ता गरी कर संकलन गर्नुपर्छ । तर, हवाई भाडादरमा समेत समायोजन गरिसकेका ५४ प्रतिशतभन्दा बढी वायुसेवा कम्पनीले भ्याट नतिरेको विभागबाट प्राप्त तथ्यांकमा देखिन्छ । जसमा आन्तरिक उडानतर्फका ६ र अन्तर्राष्ट्रिय उडानतर्फका २० कम्पनी छन् । 

आन्तरिक उडानतर्फ सन् २०२३ मा सात हजारसम्म यात्रु आवतजावत गराएको एयर डाइनास्टी हेली सर्भिसेजले भ्याट तिरेको छैन । त्यस्तै, सोही वर्ष आन्तरिकतर्फ चार हजार पाँच सय ७२ यात्रु ओसारपसार गरेको सिम्रिक एयरले पनि भ्याट तिरेको छैन । त्यसो त अन्तर्राष्ट्रिय उडान पनि भर्ने यो एयरलाइन्सले सन् २०२३ मा ६ यात्रु बोकेर विदेश गएको थियो । त्यस्तै, श्री हेलिकोप्टर, फिस्टेल एयर, मनाङ एयर र मुस्ताङ हेलिकोप्टरले पनि अहिलेसम्म भ्याट नतिरेको विभागको तथ्यांकमा उल्लेख छ । 

भ्याट नतिर्ने अन्तर्राष्ट्रिय उडानतर्फका वायुसेवा कम्पनीहरूमा एयर अरेबिया, एयर अरेबिया अबुधाबी, एयर इन्डिया, श्रीलंकन एयरलाइन्स, विमान बंगलादेश, भुटान एयरलाइन्स, एयर चाइना, चाइना इस्टर्न, क्याथवे प्यासिफिक एयरवेज, सिचुवान एयरलाइन्स, चाइना साउदर्न, फ्लाई दुबई, जजिरा एयरवेज, कुवेत एयर, कोरियन एयर, मालिन्दो एयर, तिब्बत एयरलाइन्स, थाई स्माइल एयरवेज, थाई लायन एयर र भिस्टारा एयर छन् । यी २० अन्तर्राष्ट्रिय एयरलाइन्सले सन् २०२३ मा १० लाख २८ हजार ६५८ यात्रु नेपालबाट उडाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांक छ ।

सरकारी संयन्त्र आफैँले अग्रसरता देखाएर कर उठाउने प्रणाली (प्रोएक्टिभ)को विकास नहुँदा नयाँ कर कार्यान्वयन गर्न जटिल भएको राजस्व व्यवस्थापन महाशाखा प्रमुख रितेशकुमार शाक्यले स्विकार गरे । उनले भने, ‘नयाँ कर व्यवस्था लागू गर्न करदाता आफैँले तदारुकता देखाउनुपर्ने कानुनी जटिलता छन् । तर, एउटाले तिर्न थालेपछि अर्काे स्वतः तिर्न सुरु गर्ने विगतका अभ्यासले देखाउँछ । अटेरी गर्ने त जरिवानामा पर्ने भइहाले ।’ ऐनमा गरिएको व्यवस्थाअनुसार वायुसेवा कम्पनीहरूले नै आफूले गरेको कारोबारका आधारमा आन्तरिक राजस्व कार्यालयहरूमा भ्याट दाखिला गर्नुपर्छ । कुन कम्पनीले कति भ्याट तिर्नुपर्ने भन्ने त्यसपछि मात्रै राजस्व विभागलाई जानकारी हुन्छ । 

सरकारले आर्थिक ऐनमा व्यवस्था गरी भ्याट लागू गर्न खोजेपछि ट्राभल एजेन्टका छाता संगठनले गत ११ साउनमा सर्वाेच्च अदालतमा रिट दायर गरेको थियो । अदालतले १४ साउनमा यो कर लागू नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि एक महिनासम्म भ्याट लागू हुन सकेन । तर, १६ भदौमा यो आदेशले निरन्तरता नपाएपछि सरकारलाई भ्याट लगाउन बाटो खुलेको थियो । 

२२ वायुसेवाले तिरे एक अर्ब ३० करोड भ्याट
आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने २२ वायुसेवा कम्पनीले आर्थिक वर्षको सुरुका पाँच महिनामा एक अर्ब ३० करोड ५० लाख १५ हजार २९ रुपैयाँ भ्याट तिरेका छन् । जसमा सात विदेशी र १५ स्वदेशी वायुसेवा कम्पनी छन् । 

कतार एयरवेजले सबैभन्दा धेरै ३८ करोड १४ लाख ९२ हजार भ्याट तिरेको विभागको तथ्यांक छ । तर, त्रिभुवन विमानस्थलबाट सबैभन्दा बढी यात्रु उडाउनेमा भने कतार एयरवेज दोस्रो नम्बरमा छ । उसले सन् २०२३ मा त्रिभुवन विमानस्थलबाट तीन लाख २६ हजार तीन सय ५१ यात्रु उडाएको थियो भने अन्य १७ यात्रुलाई त्रिभुवन विमानस्थल ट्रान्जिट बनाएर लगेको थियो । धेरै भ्याट तिर्ने दोस्रो नम्बरमा सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम छ । आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान भर्ने निगमले मंसिरसम्म पाँच महिनामा ३७ करोड ८८ लाख भ्याट बुझाएको छ । 

त्यस्तै, अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी थाई एयरवेज इन्टरनेसनल, ड्र्युक एयर कर्पोरेसन, टर्किस एयरलाइन्स, इन्टरग्लोभ एभिएसन (इन्डिगो), सिंगापुर एयरलाइन्स र मलेसिया एयरलाइन्स बरहादले पनि भ्याट तिरेका छन् ।

स्वेदशी कम्पनीहरू हिमालय एयरलाइन्स, सौर्य एयरलाइन्स, सीता एयर, यती एयरलाइन्स, तारा एयर, श्री एयरलाइन्स र समिट एयरले भ्याट बुझाएका छन् । अन्यले आन्तरिक उडानमात्रै गर्ने गरेकोमा हिमालयले बाह्य उडान मात्रै गर्छ । त्यस्तै, आन्तरिक उडान भर्ने पोखरा अल्ट्रालाइट प्रालि, अल्टिच्युड एयर, अन्नपूर्ण हेलिकोप्टर, माउन्टेन हेलिकोप्टर्स, प्रभु हेलिकोप्टर, हेली एभरेस्ट र कैलाश हेलिकोप्टरले पनि भ्याट तिरेका छन् । 

चालू आर्थिक वर्षको आर्थिक ऐनमा गरिएको नयाँ कर व्यवस्थाले धेरैजसो वायुसेवा कम्पनीलाई तिर्नुपर्ने भ्याटको विषयमा द्विविधा भएको पाइएको अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुख रितेशकुमार शाक्यले बताए । उनले भने, ‘सुरुवातमा त वायुसेवा कम्पनी र आन्तरिक राजस्व विभागकै कर्मचारी दुवै पक्षलाई यसमा लाग्ने भ्याटबारे द्विविधा थियो । पछि अर्थ मन्त्रालयले स्पष्ट पार्दै गएपछि भ्याट संकलनमा वृद्धि भइरहेको छ ।’ निगमका कर्मचारी ट्रेड युनियनले पनि भ्याटको विरोध गरेकामा अर्थ मन्त्रालयले सम्झाएपछि भ्याट तिर्न सहमत भएको उनले बताए । 

११ वायुसेवा कम्पनीले तिरे बढी भ्याट, तीनवटाले बुझाए कम, किन भयो यस्तो ?
मूल्य अभिवृद्धि कर ऐनको व्यवस्थाअनुसार वायुसेवा कम्पनीहरूले नै आफूले गरेको कारोबारका आधारमा आन्तरिक राजस्व कार्यालयहरूमा भ्याट दाखिला गर्नुपर्छ । तर, ती राजस्व विभागका अधिकारी र कम्पनीहरूमा भएको द्विविधाका कारण कतिपयले तिर्नुपर्नेभन्दा बढी र कतिपयले कम भ्याट तिरेको देखिएको छ । 

अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुख रितेशकुमार शाक्यका अनुसार अन्तर्राष्ट्रिय उडानको हकमा नेपाली विमानस्थलबाट यात्रु प्रस्थान गर्दा मात्रै भ्याट लाग्ने व्यवस्था छ । तर, सुरुवाती चरणमा प्रस्थान गर्ने र अवतरण गर्ने दुवैखाले उडानमा भ्याट तिर्ने÷तिराउने गरिएको थियो । जसकारण कतिपय वायुसेवा कम्पनीले लाग्नेभन्दा बढी भ्याट तिरेका छन् । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमसहित ११ कम्पनीले तिर्नुपर्नेभन्दा बढी भ्याट तिरेको तथ्यांकमा देखिन्छ । थाई एयरवेज इन्टरनेसनल, श्री एयरलाइन्स, अन्नपूर्ण हेलिकोप्टर, हेली एभरेस्ट, इन्टरग्लोभ एभिएसन (इन्डिगो), यती एयरलाइन्स, सीता एयर, टर्किस एयरलाइन्स, प्रभु हेलिकोप्टर र सिंगापुर एयरलाइन्सले तिर्नुपर्नेभन्दा बढी भ्याट दाखिला गरेका हुन् ।

सन् २०२३ मा ११ हजार नौ सय ८६ जना लिएर विदेश प्रस्थान गरेको थाई एयरवेजले चालू आर्थिक वर्षको मंसिरसम्म ७९ लाख ७७ हजार रुपैयाँ भ्याट तिरे पुग्नेमा दुई लाख ८४ हजार भ्याट तिरेको छ । त्यस्तै, धेरै भ्याट तिर्ने दोस्रो नम्बरमा नेपाल वायुसेवा निगम छ । मंसिरसम्म पाँच महिनामा निगमले ३७ करोड ८८ लाख भ्याट बुझाएको छ । तर, विभागले भने निगमले तिर्नुपर्ने भ्याट ३० करोड ४८ लाख ९२ हजार मात्रै रहेको जनाएको छ । निगमले तिर्नुपर्नेभन्दा सात करोड ३९ लाख ३३ हजार बढी भ्याट तिरेको देखिन्छ । 

आन्तरिक उडानमा एकै वर्षमा ६ लाख पाँच हजार तीन सय ३८ यात्रुलाई सेवा दिएको श्री एयरलाइन्सले तिर्नुपर्नेभन्दा एक लाख ५८ हजार बढी भ्याट बुझाएको छ । मंसिरसम्म श्रीले तीन करोड १० लाखभन्दा बढी भ्याट तिरेको विभागले जनाएको छ । त्यस्तै, एक वर्षमा एक हजार एक सय ११ यात्रु ओसारपसार गरेको अन्नपूर्ण हेलिकोप्टरले एक लाख ५७ हजारभन्दा बढी भ्याट तिरेको छ । हेली एभरेस्टले ६० हजारभन्दा बढी र इन्डिगोले सात हजारभन्दा बढी भ्याट तिरेको उल्लेख छ । यसरी बढी भ्याट तिरेको रकमलाई करदाताले क्रमशः समायोजन गर्दै लैजान सक्ने विभागका सूचना अधिकारी आनन्दकुमार गुप्ताले जानकारी दिए । 

तीन कम्पनीले विभागले उल्लेख गरेभन्दा घटाएर कर तिरेका छन् । स्वदेशी एयरलाइन्स कम्पनीको हकमा हवाई टिकट बिक्रीमा संकलन गरेको करमा व्यवसायसँग सम्बन्धित अरू वस्तु तथा सेवा खरिद गरेको छ भने तिरेको कर घटाई बाँकी कर दाखिला गर्न पाइने आर्थिक ऐनमा व्यवस्था छ । सौर्य एयरलाइन्स र तारा एयरले यो सुविधाको उपभोग गरेका छन् । सौर्यले १३ लाख ३५ हजार तिर्नुपर्नेमा एक लाख ९१ हजार मात्रै भ्याट तिरेको छ । यो कम्पनीले सन् २०२३ मा एक लाख २२ हजार पाँच सय ७१ यात्रु उडान गरेको थियो । ताराले पनि दुई करोड ९९ लाख कम भ्याट तिरेको छ । सन् २०२३ मा तारा एयरले १८ हजार ६ सय ७८ यात्रु ओहोरदोहोर गरेको थियो ।

त्यस्तै, अन्तर्राष्ट्रिय कम्पनी मलेसिया एयरलाइन्स बरहादले कम भ्याट तिरेको छ । उसको भने राजस्व विभागले असुल गर्नेछ । मलेसिया एयरलाइन्सले तिर्नुपर्नेभन्दा ५८ हजार एक सय ८१ रुपैयाँ कम अर्थात् आठ करोड ५१ लाख भ्याट तिरेको छ । उसले एक वर्षमा ६३ हजार पाँच सय ८५ यात्रु बोकेर विदेश उडाएको थियो । 

आन्तरिक उडानमा वर्चस्व राख्ने बुद्धलाई भ्याट मिलानको लाभ
करदाताले आफ्नो कर लाग्ने कारोबारसँग सम्बन्धित वस्तु वा सेवा आयात तथा खरिद गर्दा तिरेको कर आफूले कर लाग्ने वस्तु तथा सेवा बिक्री गर्दा उठाएको करसँग मिलान गर्न पाउने व्यवस्था मूल्य अभिवृद्धि कर ऐनमा छ । सोही व्यवस्थाअनुसार आन्तरिकतर्फ सर्वाधिक उडान गर्ने बुद्ध एयरले जहाज खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि करमा मिलान गरेको विभागका प्रवक्ता अर्जुन भट्टराईले बताए । जहाज खरिदमा भन्सार बिन्दुमै भ्याट तिरिसकेका कम्पनीहरूले मिलान गर्नु स्वाभाविक भएको उनको भनाइ छ ।

यदि कुनै महिनामा वायुसेवा कम्पनीले टिकट बिक्रीमा असुल गरेको भ्याटभन्दा जहाज वा कारोबारसँग सम्बन्धित खरिद तथा आयातमा तिरेको भ्याट बढी भएमा, बढी भएको रकम कम्पनीले सोही महिनासम्म बुझाउनुपर्ने कुनै रकम भए त्यसमा मिलान गर्न पाउने ऐनमा उल्लेख छ । त्यसरी मिलान गरेपछि बाँकी रहेको रकम करदाताले अर्को महिनामा बुझाउनुपर्ने करको रकममा पनि मिलान गर्न सक्ने व्यवस्था छ ।

बुद्धले पछिल्लो समय दुईवटा ‘एटिएस–७२’ जहाज खरिद गरेको थियो । प्रतिविमान १६ करोडका दरले भ्याट तिर्दा अहिलेसम्म ३२ करोड मूल्य अभिवृद्धि कर तिरिसकेको बुद्ध एयरका निर्देशक रूपेश जोशीले बताए । भ्याट मिलानको सुविधा हुने भएकाले अहिलेसम्म सरकारलाई तिर्नुपर्ने भ्याटबापतको राजस्व तिर्नैपर्ने अवस्था नरहेको उनले बताए । ‘भ्याट तिर्ने सवालमा हाम्रो दायित्वमा परेको छैन । तर, हिसाबचाहिँँ बुझाउनुपर्ने हुन्छ । जतिवेला भ्याट मिलान गर्ने अवस्था सकिँदै जान्छ, त्यतिवेला नियमित तिर्नेछौँ,’ उनले भने । बुद्धले सन् २०२३ मा २५ लाख ७७ हजार ६१८ यात्रु ओहोरदोहोर गराएको थियो ।

ad
ad