Skip This
बक्यौता उठाउन दुग्ध किसान पनि सडकमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १८ शुक्रबार
  • Saturday, 27 July, 2024
अत्तरिया चोकमा दुध पोखेर विरोध जनाउँदै कैलालीका किसान । तस्बिर : तेजराज भट्ट/नयाँ पत्रिका
जिल्ला ब्युरो नयाँ पत्रिका
२o८o फाल्गुण १८ शुक्रबार o६:२६:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बक्यौता उठाउन दुग्ध किसान पनि सडकमा

६ अर्बभन्दा बढी बक्यौता नपाएका देशभरका दुग्ध किसान २१ फागुनपछि काठमाडौं आएर राजधानीकेन्द्रित आन्दोलन गर्ने तयारीमा

Read Time : > 5 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८o फाल्गुण १८ शुक्रबार o६:२६:oo

६ अर्बभन्दा बढी बक्यौता नपाएपछि देशभरका दुग्ध किसान सडकमा उत्रिएका छन् । बिहीबार दुध पोखेर विरोध जनाउनेदेखि राजमार्गमा चक्काजाम गर्नेसम्मका कार्यक्रम उनीहरूले गरेका छन् । भुक्तानी नपाए २१ फागुनदेखि काठमाडौं नै आएर राजधानीकेन्द्रित आन्दोलन गर्ने तयारी छ । 

केन्द्रीय दुग्ध सहकारी संघले भदौदेखि बेचेको दुधको पैसा नउठेको भन्दै ७ फागुनमै विज्ञप्तिमार्फत आन्दोलनको घोषणा गरेकोमा बिहीबार किसानले राजमार्गमा दुई घण्टा धर्ना दिए । संघका महासचिव रामप्रसाद आचार्यका अनुसार बिहीबार ३५ जिल्लाका दुग्ध किसानले मुख्य राजमार्गका विभिन्न ठाउँमा आन्दोलन गरेका छन् । ‘हामीले दुध बिक्री गरेको पैसा उठाउन बाध्य भएर ३५ जिल्लाका मुख्य राजमार्गमा बिहीबार अवरोध गरेका छौँ । अधिकांश ठाउँमा शान्तिपूर्ण रूपले विरोधका कार्यक्रम सम्पन्न भएका छन्,’ उनले भने ।

दुग्ध किसानले घोषित कार्यक्रमअनुसार १४ र १५ फागुनमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । पुरानो बक्यौता नउठेको मात्रै होइन, किसानले उत्पादन गरेको दुध डिडिसीले किन्नसमेत छाडेको छ ।

यता बिहीबारको प्रदर्शनपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसानलाई वार्ताका लागि अनौपचारिक आह्वान गरेको संघका महासचिव आचार्यले बताए । ‘हामीलाई अनौपचारिक रूपमा वार्ताका माध्यमबाट समस्या समाधान गरौँ भनेर सरकारी अधिकारीले सम्पर्क गर्नुभएको छ,’ उनले भने, ‘हामीले औपचारिक रूपमा आह्वान गर्नुस्, त्यसपछि सल्लाह गरौँला भनेका छौँ ।’ वार्ताबाट समाधान हुने भए आन्दोलनका कार्यक्रम रोक्न तयार भएको उनले बताए । तर, उधारो आश्वासनमा भने आन्दोलन नरोकिने चेतावनी दिए । 

विरोधका अनेक शैली
काभ्रेका किसानले सडककिनारमै दुध उमालेर स्थानीयलाई खुवाए

अरनिको राजमार्गअन्तर्गत बनेपा चारदोबाटोमा किसानले आधा घण्टा चक्काजाम गरे । उनीहरूले बिक्री नभएको दुध सडककिनारामै उमालेर स्थानीयलाई खुवाए । समयमै भुक्तानी नपाएको तथा गुणस्तरीय दुध बिक्रीमा पनि समस्या भएको भन्दै किसानले गरेको आन्दोलनमा विभिन्न राजनीतिक दलले समेत साथ दिएका थिए । काभ्रेका किसानले मात्रै दुध बिक्री गरेको ५० करोड रुपैयाँभन्दा बढी भुक्तानी पाउन बाँकी छ ।

पूर्वी नवलपरासीका किसानले राजमार्गमा बगाए दुध
पूर्वी नवलपरासीका दुग्ध किसानले कावासोतीको फलफूल चोकमा दुध पोखेर पूर्व–पश्चिम राजमार्गमा एक घण्टा चक्काजाम गरे । बिहीबार बिहान कावासोतीस्थित जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध गरेका हुन् । दुधको भुक्तानी नपाउँदा पनि मूकदर्शक बनेको भन्दै उनीहरूले ‘निकम्मा कृषिमन्त्री राजीनामा दे, किसानमारा सरकार मुर्दावाद, दुधको आयात बन्द गर्’जस्ता प्लेकार्ड बोकेर नाराबाजी गरे । पूर्वी नवलपरासीमा दैनिक करिब ७० हजार लिटर दूध उत्पादन हुन्छ । 

कृषि र उद्योगमन्त्रीको राजीनामा माग्दै पश्चिम नवलपरासीका दुग्ध किसान
पश्चिम नवलपरासीका दुग्ध किसानले बर्दघाटमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको राजीनामा मागेका छन् । उनीहरूले पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध गरे । त्यसक्रममा प्रहरी र आन्दोलित किसानबीच केहीबेर तनाव उत्पन्न भएको थियो ।

कैलालीका किसानले पनि अत्तरियामा भेला भएर पोखे दुध
कैलालीका किसानले पनि अत्तरियामा दुध पोखेर विरोध जनाए । प्रदर्शनमा सहभागी गोदावरी नगरपालिकाका किसान मोहनलाल जोशीले पाँच महिनादेखि डिडिसीमा बिक्री गरेको दुधको रकम नपाएको गुनासो गरे । ‘संस्थानमा पैसा रोकिएपछि हामी समस्यामा छौँ,’ जोशीले भने, ‘घरखर्च धान्नै समस्या भइसक्यो ।’

गोदावरीकै किसान पदमराज गिरीले दुधको भुक्तानी नपाउने, उचित मूल्य नपाउने र बिक्रीको समस्याले किसान विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको बताए । ‘दुध बेचेरै गुजारा गर्नुपर्छ, ६ महिनासम्म भुक्तानी नपाउँदा किसान कसरी बाँच्ने ?’ उनले प्रश्न गरे । 

दुग्ध विकास संस्थान धनगढी दुग्ध वितरण आयोजना कार्यालय अत्तरियाले गत १६ असोजदेखि किसानलाई दुधको रकम भुक्तानी दिन नसकिएको जनाएको छ । कार्यालयका संकलन प्रमुख चन्द्रमोहन लेखकले दुधको करिब पाँच करोड १० लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको जानकारी दिए । दुध बिक्री घटेपछि भुक्तानी रोकिएको उनको भनाइ छ । संस्थानले अहिले प्रदेशभरबाट दैनिक पाँच हजार लिटर दुध संकलन गरिरहेको छ । 

रूपन्देहीका किसान प्लेकार्ड बोकेर बुटवलको सडकमा
बुटवलमा किसानले प्लेकार्ड बोकेर प्रदर्शन गरे । एक घण्टा चक्काजाम गर्न खोजे पनि प्रहरीले हस्तक्षेप गर्‍यो । दुग्ध उत्पादक सहकारी संघ, रूपन्देहीका अध्यक्ष लेखनाथ पाण्डेले एक घण्टाको चक्काजाम कार्यक्रममा प्रहरीले दमन गरी अगुवाहरूलाई लछारपछार गरेको बताए । प्रहरीले हस्तक्षेप गरे पनि त्यसलाई प्रतिवाद गर्दै आन्दोलनमा उत्रिएको र विरोध कार्यक्रम पूर्ण रूपमा सफल भएको उनले बताए । प्रहरीबाट घेरिएका किसानले सरकारविरुद्ध नारा–जुलुस गरेका थिए । रूपन्देहीको तिलोत्तमा, देवदहलगायत स्थानका दुग्ध किसान बुटवलमा भेला भएका थिए । 

बाराका किसानले गरे निजगढमा सडकजाम
दुधले बजार नपाएको र बिक्री भएको दुधको भुक्तानी पनि नपाएपछि बाराका किसानले पनि प्रदर्शन गरेका छन् । बिहीबार निजगढ सहिद चोकमा जम्मा भएर चक्काजाम गर्दा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भयो । त्यसक्रममा प्रहरी र किसानबीच तनावको स्थिति बन्यो । 

जिल्लाभर दैनिक ६० हजार लिटर दुग्ध संकलन हुने गरेको छ । यस क्षेत्रका किसानको विगत ३ महिनादेखिको करिब १८ करोड रुपैयाँ भुक्तानी बाँकी रहेको दुग्ध उत्पादक सहकारी संघ, बाराका अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिए । ‘विभिन्न वहानामा यस भेगका किसानले अघोषित मिल्क होलिडेको सामना गरिरहेका छन् । आजभोलि जिल्लामा उत्पादित दैनिक १२ हजार लिटर दुध बिक्री भएको छैन,’ उनले भने । बारामा चार दुग्ध उत्पादक सहकारी संस्थामार्फत ११ हजार किसान आबद्ध छन् ।

सर्लाहीका किसानले दुधका परिकार खाँदै गरे सांकेतिक विरोध
हरिवनमा जम्मा भएका सर्लाहीका किसानले दुधका विभिन्न परिकार सेवन गर्दै सांकेतिक विरोध गरे । उनीहरूले हरिवन बजारस्थित पूर्व–पश्चिम राजमार्गमा दुई घण्टा जक्काजाम र त्यसपछि कोणसभा गरे । सर्लाहीका किसानको मात्रै ५० करोडभन्दा बढी बक्यौता रहेको जनाएका छन् । स्थानीय दुध किसान रामहरि घिमिरेले किसानको लगानी सुनिश्चित गर्न सरकारले तदारुकता देखाउनुपर्ने बताए । ‘हामी दुध बेचेर घरखर्च धान्ने परिवार हौँ,’ उनले भने, ‘हाम्रो अन्य कुनै उपाय छैन । परिवारमा केही भैपरी आए औषधिमूलो गर्ने उपाय पनि यही हो । तर, दुध बेचेको महिनौँ भइसक्दा पनि पैसा पाउने अत्तोपत्तो छैन । अब आन्दोलन गर्नेबाहेक के उपाय छ हामीसँग ?’

आठ महिनादेखि दुधको भुक्तानी नपाएको भन्दै सप्तरीका किसान सडकमा
दुध बिक्री गरेबापतको आठ करोड रुपैयाँभन्दा बढी भुक्तानी माग गर्दै सप्तरीका किसान सडकमा उत्रिएका छन् । आठ महिना भइसक्दा पनि दुधको रकम नपाएपछि गाईभैँसीलाई दाना खुवाउन, बैंकको ब्याज–किस्ता तिर्न, घरखर्च चलाउन कठिन भएको भन्दै उनीहरूले पूर्व–पश्चिम राजमार्गअन्तर्गत महुलीमा एक घण्टा चक्काजाम गरेका हुन् 

जिल्लाका किसानले उत्पादन गरेको दुध विभिन्न सहकारी संस्थामार्फत संकलन गरी दुग्ध विकास संस्थान, विराटनगर दुग्ध वितरण आयोजना र निजी दुग्ध व्यवसायीलाई बिक्री गर्दै आएका दुग्ध उत्पादक सहकारी संघ, सप्तरीका अध्यक्ष दीपेन्द्रकुमार आचार्यले बताए ।

मकवानपुरका किसानले प्रदेश कृषि मन्त्रालयमै पुगेर दिए धर्ना 
मकवानपुरका किसानले दुधको भुक्तानी नपाएको विरोधमा हेटौँडा बजार प्रवेश गर्ने चार मुख्य नाकाबाट प्रदर्शन गर्दै बुद्धचोकमा भेला भएर राजमार्ग अवरुद्ध गरे । जिल्लाका विभिन्न पालिकाबाट आएका उनीहरूले विभिन्न ब्यानर तथा प्लेकार्डसहितको र्‍याली प्रदर्शन गर्दै बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअघि पुगेर धर्ना दिएका थिए ।

किसानले दुधको भुक्तानी तत्काल पाउनुपर्ने, दुधको बिक्रीको ग्यारेन्टी गर्नुपर्ने, मिल्क होलिडेको अन्त्य हुनुपर्ने, दुधको लागत मूल्य निर्धारण हुनुपर्ने, उत्पादनका आधारमा अनुदान पाउनुपर्ने, सहुलियत कर्जा पाउनुपर्ने, दुग्धजन्य पदार्थको निर्यातको प्रबन्ध गर्नुपर्ने, पशुधन संरक्षण कार्यक्रम लागू गर्नुपर्नेलगायतका नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेका थिए । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कँडेलले सरकारी स्वामित्वको दुग्ध वितरण आयोजना र निजी क्षेत्रबाट सञ्चालित डेरी उद्योगहरूबाट ६ महिनादेखिको ६० करोड रुपैयाँ भुक्तानी पाउन नसकेको बताए ।

दमौली परिक्रमापछि तनहुँका किसानले गरे भोर्लेटार चोकमा बसेर राजमार्ग अवरुद्ध
तनहुँका दुग्ध किसानले नाराबाजीसहित दमौली बजारको परिक्रमा गरी भोर्लेटार चोकमा पुगेर राजमार्ग अवरुद्ध गरे । राजमार्गमा सवारीसाधन आवागमन ठप्प भयो । किसानले दूधको लागत मूल्य घटाउनुपर्ने, लिटरमा अनुदान कम्तीमा पाँच रुपैयाँ लागु गर्नुपर्ने, पशु आहार, औषधिलगायत पशुपालनसँग सम्बन्धित वस्तुको मूल्य राज्यले अविलम्ब नियन्त्रण गर्नुपर्ने, बिमा कार्यक्रमलाई प्राथमिकतामा राखी बिमा रकम भुक्तानी सहज बनाउनुपर्नेलगायत माग राखेका छन् । 

चितवनका किसानले रत्नगरमा राजमार्ग अवरुद्ध गरेर मागे ५२ करोड
चितवनका दुग्ध किसानले रत्ननगरको बेल्सीचोकमा दुई घण्टा पूर्व–पश्चिम राजमार्ग अवरोध गरे । चितवनका किसानको दुध बिक्री गरेको ५२ करोडभन्दा बढी बक्यौता छ । जसमध्ये डिडिसीले तिर्नुपर्ने मात्रै २० करोडभन्दा बढी रहेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए । चितवनमा ४० हजारभन्दा बढी पशुपालक किसान नियमित रूपमा दूध उत्पादनमा सक्रिय छन् ।

किसानको बक्यौता तिर्न सरकारले डिडिसीलाई साताभित्रै ३० करोड सहुलियत ऋण निकासा गर्दै 

डा. रेवतीरमण पौडेल सचिव, कृषि तथा पशुपक्षी विकास मन्त्रालय

किसानको बक्यौता भुक्तानी गर्ने सर्तमा सरकारले आफू स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई ३० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले बढीमा एक साताभित्र डिडिसीलाई सरकारका तर्फबाट सहुलियत ऋण उपलब्ध गराएर किसानको बक्यौता भुक्तानीमा सहजीकरण गर्ने कार्य भइरहेको बताए । 

‘अर्थबाट रकम निकासा गर्ने कुरामा लगभग सहमति जुटिसकेको छ । एक–दुईवटा कागजात मिलाउनु भनेर डिडिसीलाई निर्देशन भइसकेको छ,’ सचिव पौडेलले भने, ‘सबै प्रक्रिया पूरा भएपछि डिडिसीलाई सरकारबाट तर्फबाट ३० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध हुन्छ र सो पैसा किसानको बक्यौता भुक्तानीमा प्रयोग हुन्छ ।’

डिडिसीले भुक्तानी थालेपछि निजी क्षेत्रलाई पनि दबाब हुने र भुक्तानी थाल्ने सरकारको विश्वास छ । डिडिसीले गोदाममा एक अर्ब १० करोड रुपैयाँभन्दा बढीको पाउडर दुध, बटर, घिउलगायत बिक्री नभई मौज्दात रहेकाले किसानको पैसा भुक्तानी गर्न नसकिएको दाबी गर्दै आएको छ ।

केन्द्रीय दुग्ध सहकारी संघले देशभरका किसानको दुई अर्ब रुपैयाँभन्दा बढी बक्यौता डिडिसीले राखेको जनाएको छ । यद्यपि, डिडिसीले भने करिब एक अर्ब रुपैयाँआसपास मात्रै बक्यौता रहेको दाबी गर्दै आएको छ । बक्यौताबापतको अन्य रकम पशु आहाराबापत किसानलाई वितरण गरेर मिलान गर्ने कार्य भइरहेको डिडिसीको दाबी छ ।

काभ्रेमा इन्द्रबहादुर थापा, नवलपरासीमा रामकुमार श्रेष्ठ, धनगढीमा तेजराज भट्ट, बुटवलमा विष्णुप्रसाद घिमिरे, बारामा इन्दीप कोइराला, सर्लाहीमा श्रवण थापा, सप्तरीमा सौरभ यादव, मकवानपुरमा पोष्टराज अधिकारी, तनहुँमा उपेन्द्र खनाल, चितवनमा विवेक पोख्रेल काठमाडौंमा अजित अधिकारी