मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
संस्थानले दुधको भुक्तानी रोकेको भन्दै अत्तरियामा दुध पोखेर गरिएको विरोध। 
Invalid date format १७:१८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भुक्तानी नपाएका किसानले गरे दुध पोखेर प्रदर्शन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१८:oo

दुग्ध विकास संस्थानले दुधको मूल्य भुक्तानी नगरेको भन्दै कैलालीको अत्तरियामा दुध पोखेर विरोध जनाइएको छ।

नेकपा एमालेनिकट अखिल नेपाल किसान महासंघको अगुवाइमा दुध पोखेर प्रदर्शन गरिएको हो। विरोध प्रदर्शनमा सहभागी किसानले पाँच महिनादेखि संस्थानबाट दुध बिक्री गरेको रकम नपाउँदा आफूहरू समस्यामा परेको गुनासो गरेका छन्।

दुध बिक्री नभएको भन्दै संस्थानले भुक्तानी रोकिदिएको गोदावरी नगरपालिकाका किसान मोहनलाल जोशीले बताए। भुक्तानी नपाउँदा वस्तुभाउका लागि दाना किन्नसमेत समस्या भएको उनले बताए। ‘संस्थानमा पैसा रोकिएपछि हामी समस्यामा छौँ,’ जोशीले भने, ‘घर खर्च धान्नै समस्या भइसक्यो।’

गोदावरीकै किसान पदमराज गिरीले दुधको भुक्तानी नपाउने, उचित मूल्य नपाउने र बिक्रीको समस्याले किसान विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको बताए। ‘दुध बेचेरै गुजारा गर्नुपर्छ, छ–छ महिनासम्म भुक्तानी नपाउँदा किसान कसरी बाँच्ने?’ उनले भने। 

दुग्ध विकास संस्थान धनगढी दुग्ध वितरण आयोजना कार्यालय अत्तरियाले गत १६ असोजदेखि किसानलाई दुधको रकम भुक्तानी दिन नसकिएको जनाएको छ। कार्यालयका संकलन प्रमुख चन्द्रमोहन लेखकले दुधको करिब पाँच करोड १० लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको जानकारी दिए। दुध बिक्री घटेपछि भुक्तानी रोकिएको उनले बताए।

संस्थानले अहिले प्रदेशभरिबाट दैनिक पाँच हजार लिटर दुध संकलन गरिरहेको छ। तर, दैनिक पाँच सय लिटर मात्र बिक्री भइरहेको संकलन प्रमुख लेखकले जानकारी दिए। बाँकी दुध पाउडर बनाउनका लागि संस्थानको पोखरा कार्यालय पठाउनुपरिरहेको उनले बताए। ‘दुध बिक्री भएन, संस्थानको आम्दानी घटेपछि किसानलाई भुक्तानी दिन नसकिएको हो,’ उनले भने।

संस्थानको दुधभन्दा निजी डेरीले बेच्ने दुधको मूल्य सस्तो रहेकाले बिक्रीमा समस्या रहेको बिक्री प्रमुख लेखकले बताए। संस्थानले दुधको गुणस्तर, उत्पादन र उपभोग्य मिति, दुधमा चिल्लो पदार्थलगायतको मात्रा कति छ भन्ने सूचकसमेत उल्लेख गरेर बिक्री गर्छ।

‘हामीले बिक्री गर्ने दुधको गुणस्तर तोकिएको हुन्छ, तर डेरीले बेच्ने दुधमा गुणस्तर, उत्पादक, उत्पादन मिति, उपभोग्य मिति आदि केही खुलाइएको हुँदैन, गुणस्तरबारे उपभोक्तालाई जानकारी दिएको हुँदैन,’ लेखकले भने, ‘गुणस्तर कायम हुने भएकाले हामीले बेच्ने दुध केही महँगाे पर्छ।’

डेरीमा पनि दुधमा तोकिएको गुणस्तर, उत्पादक, उत्पादन र उपभोग्य मितिलगायत अनिवार्य राख्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न सके संस्थानले बजारमा प्रतिस्पर्धा गर्न सक्ने उनले बताए। संस्थानका अनुसार कोरोना कालदेखि नै दुध बिक्रीमा कमी आएको हो।