पुसभित्रै सुलभ फार्मेसी चलाउने घोषणा गरेको काठमाडौं महानगरले कार्यविधि नै बनाउन सकेन

बिहिबार, १७ फागुन, २०८०
डिजिटल संस्करण

सहुलियत मूल्यमा औषधि उपलब्ध गराउन पुसभित्रै ‘सुलभ फार्मेसी’ चलाउने घोषणा गरेको काठमाडौं महानगरपालिकाले कार्यविधि नै बनाउन सकेको छैन । महाराजगन्ज, वीर अस्पताल, कालीमाटी, लैनचौर र क्षेत्रपाटी गरी पाँच स्थानमा फार्मेसी चलाउन विनियोजन गरिएको ६ करोड पनि खर्च हुन सकेको छैन । 

महानगरपालिका स्वास्थ्य विभागकी निमित्त प्रमुख सजिना महर्जनले फार्मेसी सञ्चालनका लागि फागुनभित्र कार्यविधि बनाइसक्ने र त्यसपछि बाँकी काम अघि बढाइने बताइन् । ‘यसअघि के कसरी सञ्चालन गर्ने भनिएको थियो, त्यसबारे मलाई थाहा भएन । कार्यविधि नै तयार नभई फार्मेसी सञ्चालन गर्न सकिँदैन,’ उनले भनिन्, ‘कार्यविधिको मस्यौदा बनिरहेको छ । त्यसपछि विज्ञ र सरोकारवालासँग छलफल हुन्छ ।’ तत्कालीन स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल विवादमा मुछिएपछि निलम्बनमा छन् । 

कार्यविधिबाट फार्मेसी सञ्चालनसँगै के–कस्ता औषधि बिक्री गर्ने भन्नेबारे तय गर्नेछ । महानगरले यसअघि फार्मेसी सञ्चालनका लागि  दुई हजार एक सय ६४ प्रकारका औषधिबारे अध्ययन पनि गरेको थियो । सरकारी निकायका फार्मेसीमा सबै किसिमका औषधि नपाइने भएकाले महानगरले सबै औषधि राख्न खोजेको हो । फार्मेसीका लागि औषधि सप्लायर्स कम्पनीसँग पनि समन्वय, सफ्टवेयर निर्माण काम भएको महानगरले जनाएको छ ।  

घर भाडामा भेटिएनन्
महानगरले फार्मेसी सञ्चालनका लागि घर भाडामा खोजे पनि अझै भेटेको छैन । ५ पुसमा सार्वजनिक सूचना जारी गरी महानगरले ‘१५ दिनभित्र मासिक के–कति दरमा दिन सकिने हो, सो उल्लेख गरी गोप्य सिलबन्दी खामसहित दर्ता गराउन’ भनेको थियो । तर, महानगरले खोजेको क्षेत्र ‘प्राइम लोकेसन’मा घर भाडामा पाइएको छैन । बबरमहलमा भने महानगरपालिका–११ को वडा कार्यालय रहेको भवनको एक तलामा सुलभ फार्मेसी राख्ने तयारी भएको छ । सुलभ फार्मेसीमा बजारमा अहिले पाइने औषधिभन्दा सस्तो हुने महानगरको दाबी छ । महानगरभित्र हाल सरकारी र निजी गरी दुई हजार सात सय फार्मेसी छन् । उपत्यकाभर चार हजार सात सय फार्मेसी छन् । 

सुझावित समाचार