१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार o६:११:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

धरानमा विमानस्थल निर्माण सम्भव नरहेको क्यानको निष्कर्ष

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o६:११:oo

धरानमा बनाउने भनिएको विमानस्थल निर्माण नहुने भएको छ । धरान विमानस्थल निर्माण गर्न आर्थिक एवं प्राविधिक रूपमा फिजिबल नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निष्कर्ष निकालेको हो । धरानमा विमानस्थल निर्माणका लागि पर्यटनमन्त्री सुदन किराँती र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको जोडबल थियो ।

मेयर साम्पाङले धरान विमानस्थल निर्माणका लागि पहल गरिदिन पत्र पठाएपछि मन्त्री किराँतीले सम्भाव्यता अध्ययन गर्न क्यानलाई निर्देशन दिएका थिए । क्यानले प्रबन्धक नलविक्रम थापाको संयोजकत्वमा अर्का प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहेको समिति गठन गरेको थियो । समितिले धरानमा विमानस्थल निर्माण गर्न नीतिगत, भौगोलिक, प्राविधिक र व्यावसायिक सम्भवनाका हिसाबले सम्भव नभएको प्रतिवेदन बुझाएको थियो ।

क्यानले मंगलबार धरानमा विमानस्थल निर्माण गर्न फिजिबल नदेखिएको निष्कर्ष निकालेपछि मेयर साम्पाङ आक्रोशित देखिएका छन् । उनले नियामक निकायलाई इंगित गर्दै फेसबुकमार्फत नियम संशोधन गरेर भए पनि विमानस्थल बनाउने बताएका छन् । संविधान त परिवर्तन हुन्छ भने नियमावली संशोधन गर्नु कुनै ठूलो कुरा नरहेको उनको भनाइ छ । 

धरान विमानस्थल निर्माण गर्दा विद्यमान हवाई नीति, २०६३ मा भएको ‘तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने’ नीतिगत व्यवस्थाविपरीत हुने अध्ययन समितिको निष्कर्ष छ । विराटनगर विमानस्थलबाट धरानको दूरी करिब ४० किलोमिटर रहेको छ । यति छोटो दूरीमा दुईवटा हवाई अड्डा सञ्चालन सम्भव नरहेको क्यानको निष्कर्ष छ । विराटनगर विमानस्थलबाट त्यति नजिकै अर्बौँ रुपैयाँ खर्च गरेर विमानस्थल बनाउनु आर्थिक रूपमा भायबल नहुने क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

सडक यातायातको सहज पहुँच तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा वान वे एप्रोच मात्र सम्भव रहेको हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नभएको अध्ययन समितिको निष्कर्ष छ । यस्तै, विमानस्थल सञ्चालनमा टेक्निकल तथा अप्रेसनल कठिनाइ पनि रहेको बताइएको छ ।

धरानमा विमानस्थल बनाउन भन्दै खरिद गरेको जग्गामा दुई दशकसम्म पनि विमानस्थल निर्माण अगाडि नबढेपछि स्थानीयले पुरानै मूल्यमा जग्गा फिर्ता गर्न दबाब दिँदै आइरहेका छन् । स्थानीयले जग्गा फिर्ता दिलाउन भन्दै उपमहानगरमा पटक–पटक निवेदन दिइरहेको मेयर साम्पाङको भनाइ छ । विगतमा पनि पटक–पटक धरान विमानस्थल निर्माणका लागि अध्ययन गर्न माग गरिँदै आएको थियो । नेपालमा सम्भाव्यता अध्ययन नै नगरी हचुवाका भरमा विमानस्थल निर्माण हुँदै आइरहेका छन् ।

कतिपय जिल्लामा विमानस्थल निर्माणलाई राजनीतिक नाराका रूपमै अगाडि बढाइएको छ । अहिले देशभर तीनवटा अन्तर्राष्ट्रियसहित ५४ वटा विमानस्थल निर्माण भएका छन् । जसमध्ये २२ वटा विमानस्थलमा एउटै उडान हुँदैनन् । यी विमानस्थलमा उडान नहुनुमा प्राविधिक जटिलता, आर्थिक सम्भाव्यता नहुनु, जहाज अभावलगायत कारण रहेका छन् । 

ad
ad