१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:४४:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

६ अर्ब बक्यौता उठाउन आजदेखि दुग्ध किसान आन्दोलित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:४४:oo

दुध बिक्री गरेको करिब ६ अर्ब रुपैयाँ बक्यौता उठाउन देशभरका किसानले सोमबारबाट आन्दोलन सुरु गर्ने भएका छन् । केन्द्रीय दुग्ध सहकारी संघको अगुवाइमा किसानले सोमबार र मंगलबार सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर बक्यौता असुलीका लागि दबाब दिने कार्यक्रम छ ।

संघका महासचिव रामप्रसाद आचार्यका अनुसार किसान तथा सहकारी सञ्चालकको सहभागितामा सम्बन्धित जिल्लास्थित प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र १० देखि १२ बजेसम्म धर्ना दिने कार्यतालिका छ । ‘दुध बिक्री गरेको पैसा ६ महिनादेखि पाउन सकिएन । त्यसैले बाध्य भएर अब आन्दोलनको कार्यक्रम जारी गर्नुपरेको हो,’ उनले भने ।

ललितपुरका किसानले मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाउने दुग्ध उत्पादक सहकारी संघ, ललितपुरका अध्यक्ष कृष्णपसाद सापकोटाले जानकारी दिए । ललितपुरका किसानले दुध बिक्री गरेको १४ करोड रुपैयाँ पाउन बाँकी रहेको उनले जानकारी दिए ।

ज्ञापनपत्र बुझाएपछि १७ फागुनबाट किसानले देशका प्रमुख राजमार्गमा दुई घण्टा यातायातमा अवरोध गरेर विरोध गर्ने जनाएका छन् । पश्चिम नवलपरासीको दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष पूर्णप्रसाद तिमिल्सिनाले १७ फागुनमा १० देखि १२ बजेसम्म दुई घण्टा राजमार्ग अवरोध गर्न सबै किसानलाई सुसूचित गरिसकेको जानकारी दिए ।

‘यहाँका किसानले दुध बिक्री नभएपछि शनिबार सडकमै दुधसमेत पोखेका छन्,’ उनले भने । पश्चिम नवलपरासीका किसानले दुध बिक्री गरेको पाँच करोड पाउन बाँकी रहेको उनले जानकारी दिए । जिल्लास्तरीय दबाब कार्यक्रमबाट पनि बक्यौता असुलीमा प्रगति नभए २१ फागुनदेखि माइतीघर मण्डलामा किसानले धर्ना दिने संघले जनाएको छ ।

केन्द्रीय दुग्ध सहकारी संघका महासचिव आचार्यले सुरुमा राजधानीआसपासका किसान भेला भएर माइतीघर मण्डलाकेन्द्रित आन्दोलन गर्ने र सुनुवाइ नभए देशभरबाट किसान आउने जानकारी दिए । ‘सरकार र डेरी उद्योगसँग बारम्बार छलफल गरे पनि बक्यौता उठ्न सकेन । त्यसैले आन्दोलनमा जाने निर्णय गरेका हौँ,’ आचार्यले भने ।

गत मंसिरमा सहकारी संघका प्रतिनिधिसँग कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालको उपस्थितिमा उद्योगी र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले पुस महिनासम्मको बक्यौता तिर्ने र माघदेखि नियमित रूपमा दुधको पैसा दिने समझदारी भएको थियो । तर, मन्त्रालयमा भएको समझदारीअनुसार अहिलेसम्म बक्यौता रकम नपाएको आचार्यले गुनासो गरे ।पाँच वर्षअघि उखु किसानले पनि बक्यौता उठाउन माइतीघर मण्डलाकेन्द्रित आन्दोलन गर्दा पैसा उठेको देखेकाले दुग्ध किसान पनि सोही प्रकृतिको आन्दोलनमा उत्रिएका हुन् ।

 दुध बिक्री नभएकाले पैसा दिन सकिएन : उद्योगी
डेरी उद्योगीले बजारमा दुध तथा दुग्धजन्य पदार्थको खपत घटेर उद्योगमा मौज्दात बढेका कारण किसानलाई समयमै भुक्तानी गर्न नसकेको जिकिर गरेका छन् ।राजधानीमा आयोजित एक कार्यक्रममा डेरी एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका सीताराम मिल्कका सञ्चालक सुमित केडियाले दुग्धजन्य पदार्थ बिक्री नभएकै कारण किसानलाई भुक्तानी दिन नसकिएको बताए ।

सरकारले सहुलियत कर्जा उपलब्ध गराएमा किसानलाई भुक्तानी दिन डेरी व्यवसायी तयार रहेको उनले जानकारी दिएका थिए । आन्तरिक खपत घटेका वेला निर्यातको सम्भावना खोजी गरेर दीर्घकालीन समाधानमा लाग्नुपर्ने उनको सुझाव थियो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयकी सहसचिव सम्झनाकुमारी काफ्लेले बक्यौताको समस्यालाई सबै मिलेर समाधान गर्नुपर्ने बताएकी थिइन् ।