१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १o:५९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खोटाङमा आगामी वैशाखमा ‘खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव’ हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:५९:oo

आगामी वैशाख ११ गतेदेखि २२ गतेसम्म बृहत् महोत्सव

लोकतन्त्र दिवसको अवसर पारेर खोटाङको दिक्तेलमा ‘बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सव–२०८१’ आयोजना गर्ने तयारी गरिएको छ । खेल संस्कृतिको विकास गर्दै विभिन्न विधाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुर्‍याउने लक्ष्यका साथ नेपाल खेलकुद प्रतिष्ठान खोटाङले आगामी वैशाख ११ गतेदेखि २२ गतेसम्म बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सवको आयोजना गर्ने तयारी गरेको हो । 

आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङले शनिबार साँझ दिक्तेलको रूपाकोट होटेलमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय कराँते प्रतियोगिता, खुला म्याराथन, विभिन्न उमेर समूहको दौड, साहित्यिक तथा सांगीतिकलगायतका प्रतियोगिता समेटिएको महोत्सव गर्न लागेको जनाएको छ । नेपाल कराँते महासंघ खोटाङको संयोजन र नेपाल सितोरियो कराँते संघ खोटाङको व्यवस्थापनमा हुन लागेको महोत्सवमा करिब ५० लाख खर्च हुने प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए । 

प्रतिष्ठानका अनुसार आगामी वैशाख १५ गतेदेखि १७ गतेसम्म राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको छ । कराँतेमा सातवटै प्रदेशसहित गोजुरियो, सोतोकान, वादोरियोमा प्रतिस्पर्धा हुनेछ । यस्तै, वैशाख ११ गतेदेखि महिला तथा पुरुष खुला म्याराथन प्रतियोगिता गरिनेछ । 

खुला म्याराथनमा प्रथम, दोस्राे र तेस्राे स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ प्रदान गरिनेछ । यस्तै, १२ वर्षदेखि १४ वर्ष उमेर समूहको तीन किलोमिटर दौडमा प्रथम, दोस्राे र तेस्राे हुने खेलाडीलाई क्रमशः सात हजार, ६ हजार र पाँच हजार रुपैयाँ प्रदान गरिनेछ । 

१४ वर्षदेखि १६ वर्ष उमेर समूह (महिला तथा पुरुष)को पाँच किलोमिटर दौडमा प्रथम, दोस्राे र तेस्राे हुने खेलाडीले क्रमशः  १० हजार,  सात हजार र  पाँच हजार पाउनेछन् । 

यस्तै, १६ वर्षदेखि १८ वर्ष उमेर समूह (महिला–पुरुष)को १० किलोमिटर दौड प्रतियोगितामा प्रथम, दोस्राे र तेस्राे स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः  १५ हजार, १० हजार र सात हजार प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ । 

राजनीतिक दलका नेता, जनप्रतिनिधि, पत्रकार, राष्ट्रसेवक कर्मचारी र शिक्षकको पाँच किलोमिटर दौडमा प्रथम, दोस्राे र तेस्राे हुनेलाई क्रमशः  १५ हजार,  १० हजार र सात हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ । 

यस्तै, वैशाख २२ गते हुने साहित्यिक प्रतियोगितामा प्रथम, दोस्राे र तेस्राे हुने श्रष्टालाई क्रमशः ३० हजार, २५ हजार र २० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । 

यसैगरी, साहित्यतर्फ चौथो र पाँचौँ हुने श्रष्टालाई क्रमशः १५ हजार र १० हजार प्रदान गरिने व्यवस्थापनको जिम्मा लिएको नेपाल सितोरियो कराँते संघका सचिव मोतिचन्द्र राईले जानकारी दिए । 

खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, आगामी १५ वर्षभित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यका साथ खेलकुद, साहित्यिक, सांगीतिक तथा पर्यटन महोत्सवको तयारी गरिएको आयोजकले जनाएको छ। 

कराँते प्रतियोगिताका लागि अनुमानित ३५ लाख, एथलेटिक्स (म्याराथन र समूहगत दौड)मा दश लाख र साहित्यिक प्रतियोगितामा दश लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसमेत सहभागी पत्रकार सम्मेलनमा नेपाल सितोरियो कराँते संघ खोटाङका अध्यक्ष मिलन कसजूले खेलकुदको क्षेत्रमा खोटाङले हालसम्म हासिल गरेको उपलब्धिसमेत प्रस्तुत गरेका थिए ।