१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format ११:५८:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

बंगलादेशसँग पिपिए दरमा जुटेन सहमति

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५८:oo

विद्युत् खरिद–बिक्रीदरबारे ठोस सहमति नभएपछि नेपाल विद्युत् प्राधिकरणको टोली बंगलादेशबाट नेपाल फर्किएको छ । विद्युत् खरिद–बिक्रीदरलाई अन्तिम टुंगोमा पुर्‍याएर सम्झौता गर्न प्राधिकरणको टोली बुधबार बंगलादेश गएको थियो । तर, बिहीबार प्राधिकरण र पावर डेभलपमेन्ट बोर्ड (बंगलादेश)बीच भएको छलफलमा सहमति जुट्न नसकेपछि प्राधिकरणको टोली बिहीबार साँझ काठमाडौं आइपुगेको बैठकमा उपस्थित प्राधिकरणका एक अधिकारीले बताए । 

स्रोतका अनुसार प्राधिकरणले प्रस्ताव गरेको मूल्य महँगो भएको प्रतिक्रिया बंगलादेशको छ । प्राधिकरणले बिडमा प्रस्ताव गरेको दर भने सार्वजनिक गरेको छैन । ‘प्राधिकरणले प्रस्ताव गरेको दर र बंगलादेशले चाहेको दरमा केही अन्तर देखिएको छ । बिहीबारको बैठकमा यसबारे ठोस सहमति हुन सकेन,’ बैठकमा उपस्थित एक अधिकारीले भने, ‘बंगलादेशको बोर्डले पनि माथिल्लो निकायबाट सहमति लिनुपर्ने देखियो । यसबारे थप छलफल आवश्यक देखिएको छ । तर, ढिलो भने हुँदैन होला ।’

गत आइतबार बंगलादेशको डेली अब्जर्भर मिडियाले पनि नेपालबाट प्रस्ताव गरेको दर महँगो भएको समाचार प्रकाशित गरेको छ । बैठकमा उपस्थित नेपालका एक अधिकारीले पनि मूल्यको विषय गम्भीर रूपमा देखापरेको बताए । ‘मिलनविन्दुमा जान सक्ने ठाउँ भने छ । तर, बिहीबारकै बैठकमा यसबारे सहमति जुटेन,’ उनले भने । यद्यपि, बंगलादेश नेपालबाट विद्युत् किन्न भने एकदमै इच्छुक रहेको स्रोतको भनाइ छ । थप छलफल गरेर यसबारे सम्झौता गर्ने उनले बताए । 

प्राधिकरणको प्रस्ताव मूल्य महँगो भएको बंगलादेशको प्रतिक्रिया, भारतसँग लिएबराबर मूल्य नै लिने नेपालको अडान

विभिन्न चरणमा भएको अन्तरसरकारी समझदारीपश्चात् प्राधिकरणले भारतीय प्रसारणलाइन प्रयोग गरेर बंगलादेशमा ४० मेगावाट विद्युत् बिक्री गर्ने तयारी गरेको हो । त्यसको खरिद प्रक्रिया पूरा गर्न बंगलादेशले गत माघ दोस्रो साता ४० मेगावाट विद्युत् किन्ने गरी नेपालसँग प्रस्ताव मागेको थियो । त्यसलगत्तै प्राधिकरणले बंगलादेशमा प्रस्ताव पेस गरेको हो । त्यसलाई बिहीबारको छलफलमार्फत अन्तिम रूप दिने प्राधिकरणको योजना थियो । तर, बिहीबारको छलफल अन्तिम टुंगोमा पुग्न सकेन ।

 भारतसँग लिने मूल्य दिनुपर्ने नेपाली अडान 
नेपाल र बंगलादेशका अधिकारीबीच भएको छलफलमा प्राधिकरणले भारतबाट लिने मूल्य हाराहारीकै पिपिए दर निर्धारण गर्नुपर्ने अडान लिएको थियो । अहिले भारत र नेपालबीच ८.४० रुपैयाँ (५.२५ भारु)मा दुई सय मेगावाट विद्युत् मध्यकालीन मोडलमा खरिद–बिक्री भइरहेको छ ।

माघमा भारतले योभन्दा पनि बढी मूल्यमा थप चार सय मेगावाट विद्युत् किन्ने प्रस्ताव गरेको छ । सोही मूल्य हाराहारीमै विद्युत् किन्न बंगलादेशलाई प्रस्ताव गरेको प्राधिकरणका उपअधिकारीले जानकारी दिए । ‘भारत र बंगलादेश हाम्रा मित्र राष्ट्र हुन् । एक–अर्कालाई फरक–फरक मूल्यमा विद्युत् बिक्री गर्न नैतिक रूपमा पनि मिल्दैन,’ उनले भने, ‘भारतले प्रस्ताव गरेको नयाँ रेटमै विद्युत् किन्दा हामीलाई सहज हुन्छ भनेका छौँ । यसलाई अर्काे छलफलमार्फत टुंगो लगाउँछौँ ।’

आउँदो बर्खाबाटै निर्यात गर्ने दाबी 
यद्यपि, प्राधिकरणले बिहीबारको वार्ता सकारात्मक भएको बताएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एकदमै सकारात्मक रूपमा वार्ता अघि बढेको बताए । आगामी वर्षायामबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी जतिसक्दो छिटो विद्युत् बिक्री सम्झौता गरिने उनको भनाइ छ । 

विद्युत् बिक्री सम्झौतामा राखिने हरेक बुँदाहरूको विस्तृत छलफल भएको र यसलाई अन्तिम रूप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको उनले बताए । ‘बोर्डले त्यहाँको नियमन कानुनबमोजिम हामीसँग माग गरेअनुसार विद्युत् बिक्रीको परिणामसहितको बोलपत्र पेस गरेका थियौँ, हामीले पेस गरेका प्रस्ताव र सम्झौतामा राखिने बुँदाहरूमा विस्तृत रूपमा छलफल गर्‍यौँ,’ उनले भने, ‘बोर्डले पनि माथिल्लो निकायबाट स्वीकृति लिनुपर्ने रहेछ, स्वीकृतिलगायत प्रक्रिया जतिसक्दो छिटो सम्पन्न गरेर आगामी वर्षायामबाटै नेपालबाट विद्युत् खरिद गर्ने गरी सम्झौता गर्ने सहमति जुटेको छ ।’

प्राधिकरणले हरेक वर्ष १५ जुनदेखि–१५ नोभेम्बरसम्म वर्षायामका ६ महिनामा ४० मेगावाटसम्म विद्युत् निर्यातका लागि बंगलादेशसमक्ष प्रस्ताव पठाएको छ । विद्युत् बिक्री सम्झौता पाँच वर्षको गर्न लागिएको छ । नेपालले ढल्केबर–मुजफ्फपुर चार सय केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत भारतको बरमपुर–भेरामारा प्रसारणलाइनबाट विद्युत् निर्यात गर्ने गरी सम्झौता हुनेछ ।