१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
रमेश सुवेदी काठमाडौं
Invalid date format २१:५१:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

इराकको पोस्टमा नेपालको पाँच गोल, पाँचैँ गोल गरेकी सावित्राको कीर्तिमानी प्रदर्शन

३७ मिनेटभित्रै साम्बाकाे ह्याट्रिक, प्रतियोगितामा लगातार दोस्रो जितसँगै नेपाल एक खेलअघि नै सेमिफाइलनमा

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:५१:oo

स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बाको कीर्तिमानी प्रदर्शनमा नेपालले वाफ महिला च्याम्पियनसिप २०२४ को दोस्रो खेलमा इराकलाई ५–० गोलले पराजित गरेको छ। नेपालको जितमा पाँचै गोल सावित्राले गरिन्। 

पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरले पराजित गरेको नेपालले आफ्नो सानदार लयलाई दोस्रो खेलमा पनि कायम राख्यो। 

प्रतियोगितामा लगातार दोस्रो जितसँगै नेपाल एक खेलअघि नै सेमिफाइलन प्रवेश गरेको छ। नेपालले शनिबार प्यालेस्टाइनसँग समूह ‘बी’ को अन्तिम खेल खेल्नेछ। 

लगातार दुई खेल जित्दै ६ अंक जोडेर नेपाल शीर्ष स्थानमा छ। गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा नेपालले पहिलो खेलमा सिरियालाई ४–१ ले हराएको थियो। पहिलो खेलमा सावित्राले एक गोल गरेकी थिइन्। उनको अन्तर्राष्ट्रिय फुटबलमा ५० औँ गोल हो। नेपाली फुटबलले ५० गोल गरेको यो पहिलोपटक हो। 

यही खेलबाट चन्द्रा भण्डारी र सबिना चौधरीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । प्रशिक्षक राजेन्द्र तामाङले चन्द्रालाई रेखा पौडेलको स्थानमा डेब्यु गराउँदा सबिनालाई हिराकुमारी भुजेलको स्थानमा मैदान छिराएका हुन्। 

महिला फुटबलको ३८ वर्षे इतिहासमा नेपालले दशपटक विभिन्न प्रतियोगिताको फाइनल खेले पनि हालसम्म उपाधि जित्न सकेको छैन। महिला फुटबलमा कमजोर मानिएको मध्यपूर्वी क्षेत्रमा नेपाल ऐतिहासिक उपाधि जित्ने लक्ष्यमा छ। 

पहिलो हाफमै ह्याट्रिक
साउदी अरेबियाको रियादमा जारी खेलको ३७औँ मिनेटमा सावित्राले ह्याट्रिक गरेकी हुन्। पहिलो हाफमै सावित्राले चार गोल गरेपछि खेल नेपालले नियन्त्रणमा राखेको हो। 

दुई मिनेटभित्र सावित्राले दुई गोल गरेपछि नेपाल सहज स्थितिमा पुगेको थियो। सावित्राले खेलको १४औँ मिनेटमा पहिलो गोल गरिन्। दीपा शाहीले मध्यभागबाट काउन्टर अट्याकमा बल उपलब्ध गराएपछि सावित्राले अगाडि बढाउँदै इराकका तीन खेलाडीलाई बिट गरेर सहज गोल गरेकी हुन्। 

दुई मिनेट पूरा हुन नपाउँदै युरोपेली लिग खेलिरहेकी सावित्राले दोस्रो गोल गरिन्। इराककी रक्षक दिरिन मुलाबाकरबाट बल खोस्दै सावित्राले पहिलो बारबाट सहज फिनिसिङ गरिन्। उनी यसै प्रतियोगिताको लागि फ्रेन्च लिग छाडेर साउदी अरेबिया पुगेकी हुन्। 

खेलको ३७औँ मिनेटमा सावित्राले ह्याट्रिक गोल गरिन्। पूजा रानाले दायाँ भागबाट मिलाएको बललाई सिक्स यार्ड बक्सबाट सावित्राले हेडर गोल गरेकी हुन्। 

४४औँ मिनेटमा सावित्राले चौथो गोल गरिन्। गोलकिपर जाहरा अल सादेइले आफ्नै प्रहार रोकेर आएको रिबाउन्डलाई सावित्राले सानदार एक्रोब्याटिक गोल गर्दै अन्तर्राष्ट्रिय गोल संख्या ४८ पुर्‍याएकी हुन्। 

दोस्रो हाफमा नेपालले एक गोल थप्यो। प्रीति राईले मिलाएको बललाई सावित्राले बक्सबाहिरबाट बढाउँदै पाँचौँ गोल गरेकी हुन्। 

यसअघि खेलको २५औँ मिनेटमा अनिता बस्नेतले प्रहार गरेको कर्नर बल दोस्रो बारमा लागेर फर्किएपछि नेपालको तेस्रो गोल असफल भएको थियो। पहिलो खेलमा सिरियाविरुद्ध पनि अनिताले कर्नरबाटै विश्वस्तरीय गोल गरेकी थिइन्। 

इराकले खेलभर एक मात्रै अवसर बनाएको थियो। रक्षक गीता रानालाई बिट गर्दै सोखन सालिहीले हानेको प्रहार गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले उत्कृष्ट बचाउ गर्दै संकट टारेकी थिइन्। खेलको ७८औँ मिनेटमा प्रशिक्षक तामाङले एञ्जिलाको स्थानमा गोलकिपर अन्जना रानामगरलाई अवसर दिएका थिए।