
राप्रपा नेपालले आगामी १ चैतमा काठमाडौंमा बृहत् जनप्रदर्शन गर्ने भएको छ। भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दुराष्ट्र र राजासंस्था स्थापना, प्रदेश संरचना खारेजी र भ्रष्टहरूलाई कानुनी कारबाहीका लागि दबाब तथा मिटरब्याज, लघुवित्त र सहकारीपीडितका समस्या समाधानका लागि जनआन्दोलनको तयारी गर्ने राप्रपा नेपालले निर्णय गरेको हो।
आज काठमाडौंमा बसेको जनप्रदर्शन तयारी बैठकले यस्तो निर्णय लिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले एक्ला–एक्लै गरिने आन्दोलन निर्णायक हुन नसक्ने भन्दै संगठन निर्माण र आन्दोलनलाई सँगसँगै लैजानुपर्ने बताएका थिए।
आन्दोलनलाई निष्कर्षमा पुर्याउन बृहत् राष्ट्रवादी मोर्चा निर्माण गर्नुपर्ने थापाको भनाइ छ। बैठकमा उपत्यकाभित्रका नगर, क्षेत्र र जिल्ला समितिका अध्यक्षहरू, केन्द्रीय पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको महामन्त्री बर्तौलाले जानकारी दिए। जनप्रदर्शनको क्रममा उपत्यकाभित्र क्षेत्रीय भेला र कोणसभाहरू गर्ने निर्णयसमेत भएको उनले बताए।