मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १० बिहीबार
  • Tuesday, 18 February, 2025
२o८o फाल्गुण १० बिहीबार १५:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस महासमिति बैठकमा हिन्दुराष्ट्रसम्बन्धी प्रस्ताव पेस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १० बिहीबार १५:४९:oo

कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुराष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेस भएको छ। 

फागुन ७ गतेदेखि जारी बैठकमा सो प्रस्तावका पक्षमा एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन्। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर सुरु गरेको थियो।

अभियानका संयोजक शंकर भण्डारीले केही समयअघि महासमिति बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्। उनले सो प्रस्तावको आवश्यकता र औचित्यबारे महासमिति बैठकमा जानकारी गराई पार्टी सभापति शेरबहादुर देउवालाई प्रस्ताव बुझाएका थिए। 

विसं २०७१ कात्तिक २० गते स्थापना भएको उक्त महाअभियानले नेपाली कांग्रेसभित्रका विभिन्न बैठकहरूमा हिन्दुराष्ट्रको विषय गहन ढंगले उठाउँदै आएको छ। यसअघि नवलपरासीको त्रिवेणीधाममा सम्पन्न पार्टीको महासमिति बैठक र काठमाडौंमा भएको बैठकमा समेत हिन्दुराष्ट्रको मुद्दा उठेको थियो।

कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भण्डारीको संयोजकत्वको उक्त महाअभियानले ९४ प्रतिशत ओमकार परिवारभित्र रहेको हिन्दुधर्मको मुद्दालाई उठाउँदै आएको हो।

उक्त महाअभियानको सहसंयोजकमा पूर्वमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र महासमिति सदस्य लोकेश ढकाल तथा महासचिवमा केन्द्रीय सदस्यद्वय भीम पराजुली र मुक्ताकुमारी यादव छन्। यस्तै, पूर्वमन्त्री लक्ष्मण घिमिरेसहितको १५ सदस्यीय सल्लाहकार समितिसमेत निर्माण गरिएको छ।

उक्त अभियानमा आज अन्तिम दिनमा आइपुग्दा एक हजार ६१ महासमिति सदस्यले हस्ताक्षर गरेको महाअभियानका सहसंयोजक लोकेश ढकालले जानकारी दिए। 

महासमिति बैठकमा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबाट बोल्ने महासमिति सदस्यले हिन्दु राज्यको मुद्दालाई प्राथमिकतासाथ उठाएको पाइन्छ।