मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ३ सोमबार
  • Monday, 15 April, 2024
२०८० फाल्गुण १० बिहीबार ०९:५८:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

कान्जी हाउसभित्र मरे दुई सय गाईवस्तु

काञ्जीहाउसमा ठूलो संख्यामा गाईबस्तु मर्नुको कारण पत्ता लगाउन अस्थिपञ्जरको नमुना परीक्षण गर्न पशु सेवा कार्यालयलाई निर्देशन

Read Time : > 2 मिनेट
२०८० फाल्गुण १० बिहीबार ०९:५८:००

कैलालीको गोदावरी नगरपालिका– ९, सेहरीमा रहेको ‘कान्जी हाउस’भित्र थुनेर राखिएका दुई सयभन्दा बढी गाईवस्तु स्याहार नपाएर मरेका छन् । कान्जी हाउसभित्र र बाहिर गाईका दर्जनौँ अस्थिपञ्जर यत्रतत्र छरिएको अवस्थामा छन् । हेरालुका अनुसार त्यहाँ राखिएका तीन सय आठ छाडा गाईवस्तुमध्ये करिब ६ महिनायता दुई सय गाई मरेका छन् ।

छाडा चौपायाले बालीनाली खाएर नष्ट गर्न थालेपछि सेहरीका स्थानीयले खुटिया नदीको किनार नजिक लक्ष्मी महिला सामुदायिक वनको खाली क्षेत्रमा तारबार लगाएर गत साउनमा छाडा चौपाया थुनेर राखेका थिए । त्यसरी खुला ठाउँमा थुनेर राखेका चौपायाका लागि आहाराको व्यवस्थापन गरिएको छैन । हिउँदको कठ्यांग्रिँदो चिसोमा खुला चौरमा थुनेर राख्दा केही गाईवस्तु चिसोले र केही रोगले मरेका हुन् । कतिपय चौपाया आहाराको कमीले पनि मरेका बताइएको छ ।

भदौयता दुई सय गाई मरे
गत भदौयता दुई सय गाई मरेको हेरालु नरबहादुर बोहराले बताए । बोहराका अनुसार कान्जी हाउसमा अहिले एक सय आठ गाईवस्तुमात्र बाँकी छन् । ‘धेरै गाईवस्तुमा शरीरमा फोका उठ्ने र पाक्ने रोग फैलिएको थियो । रोग देखिएका गाई हप्ता दिनमै मरे’ हेरालु बोहराले भने, ‘हिउँदमा चिसोले पनि केही गाई मरेका हुन् ।’ उनका अनुसार भदौदेखि गाईवस्तु मर्न थालेका हुन् । सबैभन्दा बढी गाईवस्तु माघमा मरेका बोहराले बताए ।

गाउँमा अन्यत्रबाट ल्याएर छोडिएका चौपायाले स्थानीयलाई खेतबारीमा लगाएको बाली जोगाउन मुस्किल थियो । स्थानीय तहले व्यवस्थापनमा ध्यान नदिएपछि गत साउनमा सेहरीका स्थानीयको भेलाले सामुदायिक वनमा तारबार लगाएर चौपाया थुन्ने निर्णय गरेको थियो । त्यसरी थुनिएका गाईवस्तु चराउन प्रतिहेरालु मासिक १० हजार रुपैयाँ तलब दिएर सुरुमा ६ जना हेरालुसमेत राखियो । 

स्थानीयले प्रतिघर मासिक एक सय रुपैयाँ उठाएर गाई हेरालुको तलबको व्यवस्था गर्दै आएका थिए । तलब दिन समस्या हुन थालेपछि अहिले तीनजना हेरालु छन् । ठूलो संख्यामा रहेका चौपायाका लागि उचित चरन क्षेत्र छैन । न आहाराको व्यवस्थापन गरिएको छ । हेरालुले कान्जी हाउसबाट बिहान साढे नौ बजे खोलेर जंगल छेउछाउ चराउने र बेलुकी ५ बजे हुल्ने गरेका छन् । 

चौपायाको व्यवस्थापनमा कठिनाइ

गोदावरीका स्थानीय विराज विष्टले छाडा चौपाया व्यवस्थापनका नाममा गरिएको लापरबाहीले ठूलो संख्यामा ‘गौहत्या’ भएको बताए । उनले स्थानीय र प्रदेश सरकारले छाडा चौपायाको व्यवस्थापनमा ध्यान नदिँदा यस्तो अवस्था आएको बताए ।

छाडा चौपायाको व्यवस्थापनमा कुनै निकायले चासो नदिएपछि गाउँले आफैँले कान्जी हाउस बनाएर राखेको सेहरीका स्थानीय डिल्लीसिंह खत्रीले बताए । ठूलो संख्यामा चौपाया मरेकोबारे भने हेरालुले यसअघि जानकारी नै नगराएको उनको भनाइ छ ।

‘गाउँभरि पाँच–छ सयको संख्यामा रहेका छाडा गाईगोरुले बाली खाइदिँदा खेतको अन्नबाली भित्र्याउन नपाउने अवस्था भयो । बारीको सागपातसमेत जोगाउन मुस्किल भएपछि गाउँभरिको भेलाले तारबार लगाएर राख्ने सहमति भएको हो,’ खत्रीले भने, ‘त्यसरी राखिएका गाईवस्तु चराउन हेरालु पनि राखिएको छ, तर रोगले धेरै चौपाया मरेकोबारे उनीहरूले जानकारी गराएनन् ।’ स्थानीयका अनुसार केही समयअघि गाउँमा पनि लम्की स्कीन रोग फैलिएर धेरै चौपाया मरेका थिए ।

अन्यत्रबाट ल्याएर छोड्दा गाउँमा छाडा चौपायाको समस्या भएको स्थानीयको भनाइ छ । ‘अरू ठाउँबाट चौपाया ल्याएर नदीछेउमा छोडिदिँदा हामीलाई समस्या भयो, खुटियामा ढुंगाबालुवा लिन आउने ट्याक्टरले समेत छाडा चौपाया ल्याएर यहाँ छोड्ने गरेको छन्,’ अर्का स्थानीय मदनराज भण्डारीले भने । नगरपालिकाले नदीपारि गौशाला बनाएको छ, तर टिन फलामलगायत सबै सामान चोरी भएको स्थानीयले बताएका छन् ।

दुई वर्षअघि बनाएको गौशालामा टिन, फलामलगायत सबै सामान चोरी भएको स्थानीयले बताएका छन् । ‘नगरपालिकाले लाखौँ लगानी गरेर बनाएको गौशाला अलपत्र छ,’ भण्डारीले भने, ‘गौशाला बन्यो तर चौपाया व्यवस्थापन गरिएन । अहिले त्यहाँका सबै सामान चोरी भएका छन् ।’ 

सेहरी गाउँ र कान्जी हाउस खुटिया नदी वारिपारि छन् । अरू वेला सुक्खा रहने खुटिया बर्खामा उर्लन्छ । गत बर्खामा नदी किनारनजिक तारबार गरेर थुनेर राखिएका करिब दुई दर्जन चौपाया बाढीले बगाएर लगेको बताइएको छ ।

जनप्रतिनिधि नै बेखबर

कान्जी हाउसको वारि करिब दुई किलोमिटरको दूरीमा वडा कार्यालय छ । तर, वडाध्यक्ष रामलाल रानाले कान्जी हाउसभित्र ठूलो संख्यामा गाई मरेकोबारे आफूले अहिले मात्र थाहा पाएको दाबी गरे । ‘आज हेर्न गएका थियौँ, ठूलो संख्यामा गाई मरेका देखियो,’ उनले भने, ‘उचित चरिचरन छैन, आहाराको पनि कमी रहेछ ।’ उनले बाँकी चौपायाको व्यवस्थापनका लागि नगरपालिकासँग पहल गर्ने बताए । यसअघि छाडा चौपायाको व्यवस्थापनका लागि नगरपालिकासँग बजेट माग गरे पनि नपाएको उनले बताए ।

कान्जी हाउसमा ठूलो संख्यामा गाईवस्तु मरेको सार्वजनिक भएपछि अनुगमनमा गएका कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले चौपाया मर्नुको कारण पत्ता लगाउन अस्थिपञ्जरको नमुना परीक्षण गर्न पशु सेवा कार्यालयलाई निर्देशन दिइएको बताएका छन् । स्याहारको अभावले वा रोगले मरेका हुन् भन्नेबारे परीक्षण रिपोर्ट आएपछि थाहा हुने उनले बताए । 

कैलाली, कञ्चनपुरमा छाडा चौपाया ठूलो समस्याको रूपमा रहेको छ । छाडा चौपाया व्यवस्थापनका नाममा स्थानीय तहले बर्सेनि ठूलो रकम खर्च गरिरहेका छन्, तर समस्या समाधान हुन सकेको छैन ।