Skip This
रुसी सञ्चित कोष जफत गरिनुपर्छ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ९ बुधबार
  • Saturday, 27 July, 2024
मिसेल आर स्ट्रेन
२o८o फाल्गुण ९ बुधबार o८:३९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

रुसी सञ्चित कोष जफत गरिनुपर्छ

Read Time : > 2 मिनेट
मिसेल आर स्ट्रेन
नयाँ पत्रिका
२o८o फाल्गुण ९ बुधबार o८:३९:oo

दुई वर्षअघि युक्रेनमाथि रुसको आक्रमणपछि अमेरिकालगायत पश्चिमा सरकारले रुसको केन्द्रीय बैंकको तीन खर्ब डलर रोक्का गरिदिएका थिए, अर्थात् मुलुकको आधा विदेशी सञ्चिति र सुन सञ्चिति रोक्का भएको थियो । रुसले युद्धका लागि रकम प्रयोग नगरोस् वा अमेरिका र युरोपेली आर्थिक नाकाबन्दीलाई भुत्ते नपारोस् भनेर यो रोक्का गरिएको थियो ।

रुसी सम्पत्तिलाई रोक्का लगाउनु पश्चिमा प्रतिक्रियाको आक्रामकता हो । तर, केही अधिकारी र टिप्पणीकर्ताले रोक्का गरिएको रुसी सम्पत्ति युक्रेन पुनर्निर्माणमा प्रयोग गर्न माग गरिरहेका छन् । यो महिना रिपब्लिकन पार्टीभित्रको प्राथमिक प्रतिस्पर्धामा डोनाल्ड ट्रम्पलाई चुनौती दिइरहेकी निक्की हेलीले रुसी रोक्का सम्पत्ति युक्रेन पुनर्निर्माणमा प्रयोग गर्नुपर्ने माग गरेकी छिन् ।

उनले ब्लुमबर्ग न्युजलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘एक स्वतन्त्र मुलुकमाथि अतिक्रमण गर्ने ठग एवं युद्ध अपराधी’ भएको बताएकी थिइन् । उनका अनुसार पुटिनले आफ्नो कर्मको फल व्यहोर्नुपर्नेछ । यसैकारण हेली रिबिल्डिङ इकोनोमिक प्रोस्पेरिटी एन्ड अपर्चुनिटी (रेपो) फर युक्रेनियन ऐनलाई समर्थन गर्छिन् । गत महिना २० विरुद्ध एक मतले यो विधेयकलाई अमेरिकी सिनेटको विदेश सम्बन्ध समितिले प्रस्तुत गर्न अनुमति दिएको थियो । यदि रेपो कानुन बन्छ भने अमेरिकाले पहिलोपटक आफूले युद्ध नगरिरहेको मुलुकको केन्द्रीय बैंकको सम्पत्ति जफत गर्न सक्नेछ ।    

रुसको आक्रामकता एवं विनाशलाई हेर्दा उसको केन्द्रीय बैंकको सम्पत्ति जफत गरिनु अन्तर्राष्ट्रिय कानुनअनुसार स्वीकार्य हुनुपर्छ

 रुसी सम्पत्ति जफत गर्नुका पछाडि सोझो कारण छ । रुसले कुनै कारणविनै छिमेकी मुलुकमा नृशंस अतिक्रमण गरेर आमजनताको हत्या र सम्पत्ति तहसनहस गरेको छ । युद्ध र कोभिड महामारीभन्दा पहिले सन् २०१९ मा युक्रेनको कुल गार्हस्थ उत्पादन एक खर्ब ५४ अर्ब डलर थियो । अहिले विश्व बैंकका अनुसार युक्रेनलाई आगामी १० वर्षभित्रमा पुनर्निर्माण र पुनर्वहालीका लागि ११ अर्ब डलरबराबरको रकम लाग्नेछ । निश्चय नै यो खर्चको जिम्मेवारी सबैभन्दा पहिला रुसले नै लिनुपर्नेछ । त्यसपछि मात्र युक्रेन, अमेरिका र युरोपेली मुलुकले लिनेछन् । तर, रुसी सम्पत्ति जफत गर्नुभन्दा पहिले सचेत हुन जरुरी छ ।

केही आलोचकका अनुसार रुसी सम्पत्ति सार्वभौम प्रतिरक्षाअनुरूप जोगिन सक्छ । यदि रुसी सम्पत्ति जफत हुन्छ भने अन्य मुलुक आफ्नो डलर वा युरो सञ्चितिमा राख्न चाहन्नन् । त्यसैगरी डलरको प्रभुत्वमा खतरा पर्न सक्छ र अन्तर्राष्ट्रिय व्यापार एवं वित्तमा असर पर्न सक्छ । यति मात्रै नभई खराब कर्ता मुलुक आफ्नो सम्पत्ति आफैँले जफत गराउन उद्यत हुन सक्छन् । यी चासो निश्चय नै वैधानिक हुन्, तर अन्तिम भने होइनन् । रुसको आक्रामकता एवं विनाशलाई हेर्दा केन्द्रीय बैंकको सम्पत्ति जफत अन्तर्राष्ट्रिय कानुनअनुसार स्वीकार्य हुनुपर्छ । यसका लागि पहिले नजिर नै बसेको छ । सन् १९९२ मा अमेरिका र युरोपेली संघले सद्दाम हुसेनको इराकी सत्ताले प्रताडित कुवेत र अन्य राज्यलाई क्षतिपूर्ति दिन इराकी राज्यको सम्पत्ति जफत गरेका थिए ।      

 यसबाहेक विश्वव्यापी सञ्चित मुद्राका रूपमा डलरको विकल्प छैन र पश्चिमा वित्तीय संस्था लगानीकर्ताका लागि संसारमा सबैभन्दा सुरक्षित छन् । रुसको केन्द्रीय–बैंकको सम्पत्ति दुई वर्षका लागि रोक्का गरिएको छ र सञ्चितिमा कुनै उल्लेखनीय प्रभाव परेको छैन । अन्तर्राष्ट्रिय प्रवाहमा कुनै अवरोध भएको छैन । यसर्थमा सम्पत्ति जफत सम्भवतः एक सामान्य घटना हुन सक्छ । आक्रामकताबाट अन्य खराब कर्तालाई रोक्न युक्रेनका आवश्यकता रुसका अगाडि राख्नुपर्छ । भविष्यमा रुसको जस्तै आक्रामक कार्यको प्रोत्साहनलाई रोक्न रुसलाई कडा दण्ड दिइनुपर्छ ।

सम्पत्ति जफत कानुनलाई अनुमोदन गरेर हेली युक्रेनसाथ उभिएकी छिन्, जबकि धेरै रिपब्लिकन सिनेटर र सदनका सदस्यले यो कानुनलाई बेवास्ता गरेका छन् । उनको यस अडानका कारण उनी रिपब्लिकन पार्टी, मुलुक र विश्वकै लागि राष्ट्रपति पदमा उम्मेदवार हुन योग्य छिन् । उनको अडान डोनाल्ड ट्रम्पभन्दा विपरीत छ । ट्रम्पको दोस्रो विश्वयुद्धपछिको उदारवादी अन्तर्राष्ट्रिय व्यवस्थाप्रतिको प्रतिबद्धतामा पहिल्यै सन्देह थियो । ट्रम्पले नेटोप्रति आफ्नो वित्तीय दायित्व पूरा नगर्ने अमेरिकी सहयोगीलाई आक्रमण गर्न रुसलाई ‘प्रोत्साहित’ गर्ने बताएका थिए । यस सन्दर्भमा हेलीले ब्लुमबर्गलाई ‘केही दिनयता ट्रम्पले नेटोको सट्टा पुटिनलाई साथ दिएका छन् । युक्रेन र हाम्रा साझेदारलाई उपेक्षा गर्ने उनको इच्छाले हरेक अमेरिकीलाई खतरामा पारेको छ । हाम्रो जोड जहिले पनि युद्ध रोक्न र हाम्रा सेनालाई क्षतिबाट टाढा राख्नमा हुनुपर्छ । र, यसो गर्नका लागि हामीलाई नैतिक स्पष्टता भएको राष्ट्रपति चाहिन्छ,’ भनेकी छिन् ।

रुसी सम्पत्ति जफत गर्ने वा नगर्ने भन्नेमा बहस गर्नुका सट्टा अमेरिका र यसका साझेदारले कसरी रुसी सम्पत्तिलाई स्थानान्तरण गर्ने, कसरी युक्रेनको पुनर्निर्माणमा जफत गरिएको रुसी सम्पत्ति प्रयोग गर्नेलगायत जटिल प्रश्नको उत्तर खोज्नुपर्छ । विश्वव्यापी नेतृत्वबाट अमेरिका पछि हट्नुले अमेरिकी गठबन्धनलाई कमजोर बनाएको छ र विश्वभरका तानाशाह, ठग एवं अधिनायकवादीलाई प्रोत्साहित गरेको छ । तर, यो गल्तीलाई सच्याउन सकिन्छ । दोस्रो विश्वयुद्धको अन्त्यदेखि उदार अन्तर्राष्ट्रिय व्यवस्था नै समृद्धिको आधार हो । यसले दमनकारी शासन र आक्रामक राज्यमाथि अंकुश लगाएको छ र व्यापार फस्टाउनका लागि आवश्यक शान्ति र स्थिरता प्रदान गरेको छ । रुसको सम्पत्ति जफत गर्नाले युद्धपछिको कमजोर प्रणालीलाई पुनर्जीवित गर्नेछ । सम्पत्ति जफत अभूतपूर्व हुनेछ भन्ने तथ्य नै सम्पत्ति जफत गर्नुपर्ने अर्को कारण हो । जफत जोखिमपूर्ण भए पनि जोखिम लिन आवश्यक छ । 
(स्ट्रेन अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटस्थित इकोनोमिक पोलिसी स्टडिजका निर्देशक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट