
नेपाल राष्ट्र बैंकले समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको उल्लेख गर्दै सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको बताएको छ।
केही व्यक्ति र समूहले बैंक तथा वित्तीय संस्थाविरुद्ध भ्रामक अभिव्यक्ति र दुष्प्रचार गरिरहेको अवस्थामा नियामक केन्द्रीय बैंकले ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न सरोकारवालालाई आग्रह गरेको छ।
‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको व्यहोरा अनुरोध छ,’ राष्ट्र बैंकले भनेको छ, ‘बैंकिङजस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्दछ।’
पछिल्लो समयमा इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवं तरलताको अवस्थासम्बन्धी परिसूचकहरू तोकिएअनुरूप नै रहेको राष्ट्र बैंकले प्रस्ट पारेको छ।