Skip This
वीरगन्जको विवाद समाधान गर्न पाँचबुँदे समझदारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ८ मंगलबार
  • Saturday, 27 July, 2024
तिवारी यादव वीरगन्ज
२o८o फाल्गुण ८ मंगलबार १५:४५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वीरगन्जको विवाद समाधान गर्न पाँचबुँदे समझदारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ८ मंगलबार १५:४५:oo

वीरगन्जमा देखिएको विवाद समाधान गर्न जिल्ला प्रशासन कार्यालय पर्साको सभाकक्षमा बसेको सर्वदलीय बैठकले पाँचबुँदे समझदारी गरेको छ। मंगलबार बसेको सर्वदलीय बैठकले वीरगन्जमा सदियौँदेखि कायम जातजाति, भाषा, धर्म, समुदायबीचको एकतालाई अझ मजबुत बनाउने समझदारी गरेको छ।

यस्तै, वीरगन्जमा रहेको धार्मिक स्थलहरूमा नाराबाजी, जुलुसलगायतका विरोधका कार्यक्रम नगर्ने–नगराउने र यस्ता किसिमका गतिविधि गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई सहयोग गर्ने सहमति पनि भएको बैठकमा सहभागी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले जानकारी दिए।

वीरगन्जमा दुई फरक धर्म समुदायबीचको द्वन्द्वका कारण सोमबारदेखि उत्पन्न तनावलाई साम्य पार्न मंगलबार बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले नेपाली जनताबीचको सम्बन्ध र एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्न सामूहिक प्रयास गर्ने निर्णयसमेत गरेको छ।

यस्तै, खुलमखुला डिजे बजाउने र चर्को स्वरमा माइक बजाउने, राँके जुलुस, लाठी, भालासहितको जुलुस निकाल्नेलगायतका क्रियाकलाप गर्नेविरुद्ध कानुनबमोजिम करबाही गर्न प्रशासनसमक्ष अनुरोध गर्ने र यसमा सबै दलले सहयोग गर्ने सहमति भएको छ।

जिल्लाको शान्ति सुरक्षा र अमनचयनलाई खलल पर्ने किसिमका धार्मिक तथा सामाजिक सदभाव बिगार्ने एवं द्वन्द्वलाई उक्साउने अवाञ्छित गतिविधिका साथै धार्मिक, साम्प्रदायिक र्‍याली, जुलुस, बन्द, हडताललगायतका गतिविधि कुनै पनि संघसंस्था र समुदायले नगर्ने र यसमा सबै दल, नागरिक समाज र संघसंस्थाले सहयोग गर्ने सहमाति भएको अध्यक्ष तिवारीले जानकारी दिए।

यसैगरी, बैठकले सामाजिक सञ्जालमा कुनै पनि जातजाति, धर्म वा समुदायलाई लक्षित गरी नकारात्मक कुराहरु पोस्ट गर्ने–गराउनेउपर प्रशासनले कडा कारबाही गर्ने निर्णय पनि भएको उनले बताए। बैठकमा विभिन्न राजनीतिक दलका जिल्ला अध्यक्ष, जनप्रतिनिधि, महानगर प्रमुख, नागरिक समाज, पत्रकार र धार्मिक गुरुहरू सहभागी थिए।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले सोमबार साँझदेखि वीरगन्जमा जारी कर्फ्युको विषयमा भने जिल्ला सुरक्षा समितिको बैठक बसेर आवश्यक निर्णय लिने बताए। वीरगन्जमा दुई पक्षबीचको विवाद बढ्दै गएपछि स्थानीय प्रशासनले सोमबार साँझ ५ बजेदेखि लगाएको कर्फ्यु दोस्रो दिन पनि यथावत् छ।

हिन्दु युवा परिषद्ले सोमबार वीरगन्ज बजार बन्द गराएपछि मुस्लिम र हिन्दु युवाहरूबीचको विवाद उग्र बन्दा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो। मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म सर्वसाधारणको दैनिक किनमेलका लागि खुकुलो गरिएको कर्फ्यु बिहान १० बजेपछि पुनः लागू गरिएको लम्सालले बताए।

वीरगन्जको परवानीपुर चोकदेखि भन्सार चोकसम्म र महानगरको तिलावे पुलदेखि बाराको सीमा जोडिएको नगवासम्म कर्फ्यु लगाइएको छ।