१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण ७ सोमबार १२:१६:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचनलाई जीवन पद्धतिका रूपमा ग्रहण गरौँ : प्रमुख आयुक्त थपलिया

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण ७ सोमबार १२:१६:००

‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने मूल नाराका साथ आठौँ निर्वाचन दिवस मनाइएको छ।

७ फागुन २०१५ मा नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै निर्वाचन आयोगले आज दिवस मनाएको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दिवसका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मतदातालाई हार्दिक शुभकामना व्यक्त गरे। 

आममतदातामा निर्वाचन र मतदानको महत्वलाई मनन गरी निर्वाचनका क्रियाकलापमा सरिक हुन दिवसले सदैव जागरुकता र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले निर्वाचनलाई जीवन पद्धतिका रूपमा ग्रहण गर्न आग्रह गरे। 

‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचन : शान्ति, स्थिरता, समृद्धि र सुशासन’को मूलमन्त्रलाई आत्मसात् गर्दै आयोगले स्थापनाकालदेखि नै निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनीयताको प्रत्याभूतिसहित निर्वाचन व्यवस्थापन गर्दै आएको छ।

वर्तमान संविधान जारी भएपछि सम्पन्न दुई आवधिक निर्वाचन र विभिन्न समयमा सम्पन्न उपनिर्वाचन एवं राष्ट्रिय सभा सदस्यको निर्वाचनबाट देशभर करिब ८३ हजार चार सय जनप्रतिनिधि निर्वाचित भएका आयोगले जनाएको छ।

आवधिक निर्वाचनद्वारा बालिग मताधिकारको प्रयोग, निर्वाचन प्रणालीको क्रियाशीलता तथा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक संघीय शासन प्रणालीको सुदृढीकरणमा उल्लेख्य भूमिका निर्वाह भएको छ।

निर्वाचनका माध्यमबाट नेपाली मतदाताले गोप्य मतदानद्वारा आफूले रोजेका प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने नागरिक अधिकारको वैधता र सुनिश्चितता छ। 

वर्तमान निर्वाचन प्रणालीलाई मितव्ययी र कम खर्चिलो बनाउन, बढ्दै गएको निर्वाचन तथा प्रचारप्रसार खर्चलाई नैतिकता र इमानदारिताको अभ्यास, स्वनियन्त्रण पद्धतिको अनुशरण र सामाजिक सचेतनाको प्रयासबाट निस्तेज गर्ने विषयमा साझा संकल्प र इमानदार प्रयत्नको खाँचो रहेको उनको भनाइ छ। 

राजनीतिक दल, आममतदाता तथा सरोकारवालासँग यस विषयमा निरन्तर संवाद र अन्तर्क्रिया गरी उम्मेदवारले गर्ने खर्चको सीमा निर्धारण र अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउने विषयमा आयोग संवेदनशील रहेको आयोगको भनाइ छ। 

विगतका निर्वाचनको तुलनामा पछिल्ला निर्वाचन ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी’ हुँदै आएको आयोगको दाबी छ। 

आयोगको संस्थागत सुदृढीकरण, प्रविधियुक्त निर्वाचन व्यवस्थापन, निर्वाचनसम्बन्धी नीतिगत तथा कानुनी सुधारको पहल, निर्वाचनका क्रियाकलापमा नागरिकको पहुँच अभिवृद्धि, राजनीतिक दलको दर्ता र नियमनमा सुधार भइरहेको आयोगले उल्लेख गरेको छ।

निर्वाचन व्यवस्थापन एवं नागरिक शिक्षामा समन्वय र सहकार्य तथा निर्वाचनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन यस अवधिका देखिने र अनुभूत गर्न सकिने उपलब्धि हुन्।

निर्वाचन व्यवस्थापनमा अवलम्बन गरिएका अभ्यास, विधि, पद्धति र संयन्त्रबाट निर्वाचन प्रणालीका अन्तरनिहित चुनौतीका साथै सुधारका मार्ग पहिचान गरी निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा नेपाल सरकारसमक्ष पेस गरिसकिएको आयोगको भनाइ छ।

निर्वाचनका लागि सार्वभौमसत्तासम्पन्न मतदाता नै सर्वोपरि भएकाले मतदाता नामावलीको शुद्धता र दर्ता सहजीकरणका लागि स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्ने र विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्ने कार्यविधिसमेत अगाडि बढाइएको छ।

निर्वाचनको सफलता निर्वाचन शिक्षाको व्यापकताले निर्धारण गर्दछ भन्ने कुरालाई हृदयगंम गर्दै स्थानीय तहसँगको सहकार्यमा मतदाताको घरदैलोसम्म नै निर्वाचन तथा मतदाता शिक्षालाई सघन र प्रभावकारी बनाउन आयोग अग्रसर भएको छ। 

संविधानमा उल्लेख भएको समानुपातिक समावेशी सिद्धान्तको कार्यान्वयन एवं समावेशीभित्रको समावेशिता र लैंगिक सवालको सम्बोधन गर्ने गराउने पक्षमा आयोग क्रियाशील छ। 

राजनीतिक दलको आन्तरिक लोकतन्त्र तथा संस्थागत सुशासनको सुचक्र स्थापित हुनुपर्नेमा आयोगले जोड दिँदै आएको छ।

यसैबीच, आयोगले निर्वाचन दिवसका अवसरमा वर्षभरमा उत्कृष्ट कार्य सम्पादन गर्ने १२ जना कर्मचारीलाई पुरस्कृत गरेको छ। पुरस्कृत हुनेमा आयोगका पाँच र मातहतका प्रदेश र जिल्लाका सातजना  कर्मचारी छन्। 

आज आयोजित कार्यक्रममा निर्वाचन आयुक्तद्वय डा. जानकी तुलाधर र सगुनशमशेर राणाले आयोगद्वारा प्रकाशित वार्षिक स्मारिक लोकार्पण गरे। उक्त स्मारिकामा निर्वाचनसँग जोडिएका १२ वटा लेख समावेश छन्। 

सो अवसरमा आयुक्त डा. तुलाधरले पछिल्लो समय निर्वाचनका माध्यमबाट मुलुक समावेशीकरणतर्फ उन्मुख भइरहेको बताए। 

आयोगका निमित्त सचिव यज्ञप्रसाद भट्टराईले आयोग पदाधिकारी, राजनीतिक र निर्वाचनमा संलग्न राष्ट्रसेवक कर्मचारीका निष्ठा र दृढताका कारण निर्वाचन स्वच्छ, स्वतन्त्र र मितव्ययी निर्वाचन बन्दै गएको बताए।