१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मनीष खड्का रुकुम पश्चिम
२o८१ बैशाख २० बिहीबार १४:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दुई छोरीका लागि न्याय खोज्दै रुकुम पूर्वबाट काठमाडौं पुगे तारामान

Read Time : > 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:५o:oo

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका– ३ रन्माका तारामान बुढा न्यायको माग गर्दै काठमाडौं पुगेका छन्। गत वर्ष आफ्नी दुई छोरीको हत्या भएको र आफूहरूले न्याय नपाएको भन्दै तारामान काठमाडौं पुगेका हुन्।

रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफ्नी दुई छोरीहरू ११ वर्षीया रिना र नाै वर्षीया कालीमायाले अहिलेसम्म न्याय पाउन नसकेकोमा दुःख व्यक्त गरे।

०७९ चैत २२ गते घरबाट सिस्नो टिप्न भन्दै निस्किएका दिदीबहिनी त्यसको भोलिपल्ट चैत २३ गते गाउँनजिकैको भिरमा मृत फेला परेका थिए। उनीहरूले लगाएका गहना लुटेको र शवको प्रकृति हेर्दा हत्या गरिएको देखिएको थियो। प्रहरीले घटनाको अनुसन्धान अघि बढाउँदै घटनामा संलग्न भएको आशंकामा सोही वडाका दुई बालिकालाई पक्राउ गरेको थियो। उनीहरू वडा नम्बर ४ को घुन्मा भन्ने ठाउँबाट पक्राउ परेका थिए।

उनीहरूले रिना र कालीमायाको हत्या आफूहरूले गरेको र सुन लुटेको बयान दिएका प्रहरीले जनाएको थियो। पक्राउ परेका बालिकाहरूको बयानअनुसार खानतलास गर्दा रिना र कालीमायाले लगाएका सुन भेटिएको तथा उनीहरूले घटना घटाएको प्रमाणहरू भेटिएपछि आफूहरूले सोहीअनुसार मुद्दा बुझाएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठको भनाइ छ। प्रहरीले प्रमाणका आधारमा ती बालिकाविरुद्ध मुद्दा अघि बढाएको बताएको छ।

जिल्ला अदालतले ती दुई बालिकालाई घटनामा संलग्न भएको भन्दै ६ महिना बाल सुधारगृहमा राख्न आदेश गरेको थियो। त्यति वेला आरोपित बालिका ११ र १३ वर्षका थिए। उनीहरू यति वेला सुधारगृहबाट निस्किसकेका छन्।

उनीहरूले आफ्नी दुई छोरीको हत्या नगरेको भन्दै तारामान असली दोषी अहिले पनि खुलेआम हिँडिरहेको दाबी गर्छन्। प्रहरीले असहयोग गरेका कारण खास दोषी पक्राउ पर्न नसकेको उनले पत्रकार सम्मेलनमा आरोप लगाए। अदालतले दोषी ठहर्‍याएका दुई बालिकालाई साथमा लिएर उनी यति बेला न्यायको माग गरिरहेका छन्।

‘डर त्रास देखाएर यी नानीहरूलाई अभियोग स्वीकार गर्न लगाइयो, खास हत्यारा यिनीहरू होइनन्। मेरा छोरीहरूलाई मार्ने अहिले पनि खुलेआम गाउँमा छन्, प्रहरीले सहयोग गर्दैन, न्याय नपाएपछि बाध्य भएर पत्रकार सम्मेलन गरेको छु,’ तारामानले भने। उनले दुई पुरुष र एक महिलाको नाम लिएर आफ्ना दुई छोरीका हत्यारा गरेको आरोप लगाएका छन्। न्यायका लागि सहयोग गर्न उनले सम्बन्धित निकायलाई आग्रहसमेत गरेका छन्। 

रिना र कालीमायाको हत्यामा अदालतले दोषी ठहर गरेका बालिकाले पनि आफूहरूले हत्या नगरेको दाबी गरेका छन् । आफूहरू कामबाट फर्किने क्रममा स्थानीय तीनजनाले कालीमाया र रिनाको हत्या गरी बोकेर ल्याइरहेको अवस्थामा देखेको र त्यसपछि उनीहरूले आफूहरूलाई पनि मार्ने धम्की दिएको बताए। घटनाबारे कसैलाई नभन्ने र प्रहरीसमक्ष हत्या गरेको स्वीकार गर्न राजी भएपछि आफूहरूलाई हत्याराहरूले छाडेको उनीहरूको दाबी छ।

‘पहिला हामीले घटनाबारे स्विकार्न मानेका थिएनौँ, तर हत्याराहरूले तिमीहरूलाई नि मार्छौँ, तिम्रो घरपरिवारलाई पनि मारिदिन्छौँ भनेपछि हामी घटना स्विकार्न बाध्य भएका हौँ,’ पत्रकार सम्मेलनमा दुईमध्येकी एक बालिकाले भनिन्।

ad
ad