मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
महाकाली करिडोरअन्तर्गत ब्याँस गाउँपालिका–२, दुम्लिङ क्षेत्रमा खुलेको सडकको ट्रयाक ।
२०८० फाल्गुण ६ आइतबार ०७:५७:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

दार्चुला–तिंकर सडकको चर्चा धेरै, काम थोरै : ४१३ किलोमिटर लामो सडक निर्माणको काम १५ वर्षअघि सुरु, १६० किमिको अझै ट्रयाकसमेत खोलिएन

Read Time : > 2 मिनेट
२०८० फाल्गुण ६ आइतबार ०७:५७:००

सामरिक हिसाबले महत्वपूर्ण मानिएको महाकाली करिडोरअन्तर्गतको दार्चुला–तिंकर सडकको चर्चा धेरै हुन्छ । तर, चर्चाअनुसारको काम भने छैन । १५ वर्षअघि सुरु भएको दार्चुला–तिंकर सडक महाकाली करिडोरमा गाभिएपछि यसको निर्माण गति झनै सुस्त भएको छ । हाल कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकर नाका हुँदै तिब्बत जोड्ने योजनाअनुसार करिडोर नामकरण गरिएको छ । कुल चार सय १३ किमि सडकमध्ये एक सय ६० किमिको ट्रयाक नै खोलिएको छैन । 

नेपाली सेनाले तुसरपानीदेखि माथिल्लो क्षेत्रमा तीन वर्षदेखि काम थालेको छ । तर, बजेट अभावमा सडकले पूर्णता पाउन सकेको छैन । ‘हामीले यो सडक (दार्चुला–तिंकर) करिडोरमा होइन, छुट्टै चाहेका छौँ,’ एकीकृत समाजवादीका दार्चुला इन्चार्ज गणेशकुमार जोशी भन्छन्, ‘सामरिक रणनीतिक महत्व बोकेको सडकलाई सरकारले प्राथमिकता नदिँदा ओझेलमा परेको छ ।’ 

दार्चुला–तिंकर सडकलाई करिडोरमा गाभ्दा तिंकर सडकले गति लिन नसकेको भन्दै समाजवादीका जिल्ला इन्चार्ज जोशीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ज्ञापनपत्र बुझाए । ‘०६५ बाट सुरु भएको दार्चुला–तिंकर सडकले अझै गति नलिएको अवस्थामा करिडोरको नाममा दार्चुला तिंकर सडक ओझेलमा पर्‍यो,’ जोशी भन्छन्, ‘अब करिडोरबाट खलंगा–तिंकर सडक छुट्टै नामकरण गरी पर्याप्त बजेट विनियोजन गर्नुपर्छ ।’

भारत र चीनको सीमासम्म पुग्ने यो सडकमा बर्सेनि बजेट घटेर आउँदा ब्याँसको तिंकरसम्म सडक पुग्ने सपना तत्काल पूरा हुने देखिँदैन । सुदूरपश्चिमको आर्थिक नाका, धार्मिक तथा पर्यटकीय महत्वका साथै कैलाश मानसरोवर जाने छोटो मार्ग पनि हो यो सडक । 

याधुरा क्षेत्रनजिकका छांगरु र तिंकर गाउँ भएर चीनको सीमासम्म जोड्न यो सडक सुरु भएको थियो । ब्याँसका स्थानीय योगेश बोहरा सडक नबन्दा ब्याँसीहरूले कुन्जा सर्दा सास्ती खेप्दै आएको बताए । सडक नहुँदा ब्याँसका बासिन्दा कुन्जा आउँदा भारतको बाटो प्रयोग गर्नुपर्छ । 

मन्त्री ज्वालाले गत ५ पुसमा दार्चुला–तिंकर सडकखण्डको भ्रमण गरेका थिए । सो भ्रमणपछि सडकलाई प्राथमिकतामा राख्ने गरी आफ्नो पहल भइरहेको मन्त्री ज्वालाले बताएका थिए । ‘म सो सडकबारे गम्भीर छु, गर्न सक्ने काम गर्छु,’ मन्त्री ज्वालाले भने ।

सेनाले जिम्मा लिएको सडक पनि उस्तै 
महाकाली करिडोरअन्तर्गत पर्ने दार्चुला–तिंकर सडकखण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ । चालू आर्थिक वर्षको ६ महिनामा सेनाले सात सय २० मिटर सडक निर्माण गरेको छ । साउनदेखि पुस मसान्तसम्मको अवधिमा सात सय २० मिटर लामो सडकको नयाँ ट्रयाक निर्माण र चार सय ८० मिटर सडकको स्तरोन्नति गरिएको सेनाले जनाएको छ ।

कुल ७९ किलोमिटर सडक निर्माणको जिम्मेवारी पाएको सेनाले गत वर्षसम्म साढे १० किलोमिटर सडकको ट्रयाक निर्माण र डेढ किलोमिटर सडकको स्तरोन्नति गर्ने कार्य गरेको थियो । ब्याँस गाउँपालिकाको वडा नम्बर ३ अन्तर्गत तुसारपानीदेखि दुम्लिङ हुँदै तम्बाकुसम्मको क्षेत्रमा सेनाले सडक निर्माण गरिरहेको छ । चालू आर्थिक वर्षमा तीन किलोमिटर नयाँ ट्रयाक निर्माण र दुई किलोमिटर स्तरोन्नति गर्ने सेनाको लक्ष्य छ ।

सेनाले फतङगाड, पलटेधार, कोठधार, फुलचिमधार, तल्लो दुम्लिङ, काठा दुम्लिङ, आकतुङती र तम्बाकुमा सडक निर्माणको काम भइरहेको दार्चुला–तिंकर सडक आयोजनाका प्रमुख एवं प्रमुख सेनानी शिवकुमार केसीले बताए । ‘वैशाखसम्ममा मालगाउँमा गाडी पुर्‍याउने लक्ष्यसहित काम भइरहेको छ,’ उनले भने । 

फतङगाड क्षेत्रमा दुईवटा तथा दुम्लिङ र कोठधारमा एक–एकवटा स्काइभेटर मेसिन सडक निर्माणमा प्रयोग भइरहेका छन् । श्रमिक टोली खटिएका नौवटै स्थानमा चट्टान फुटाउन जिलेटिन प्रयोग भइरहेको र कम्प्रेसर मेसिन सबै ठाउँमा पुर्‍याएको छ ।

सरकारले दार्चुला–तिंकर सडक निर्माणका लागि चालू आर्थिक वर्षमा १४ करोड १९ लाख २० हजार बजेट विनियोजन गरेको छ । सेनाले ६ महिनाको अवधिमा विनियोजित बजेटको २१ दशमलव ३५ प्रतिशत मात्रै खर्च गरेको छ ।

नेपाली सेनाले दार्चुला–तिंकर सडक निर्माणका लागि ब्याँस गाउँपालिकाको केन्द्र सुन्सेरामा आयोजना कार्यालय र वडा नम्बर २ को दुम्लिङ र थी क्षेत्रमा सैनिक क्याम्प राखेको छ । सडक निर्माण भइरहेको क्षेत्रमा जिलेटिनसहित निर्माण सामग्रीको व्यवस्थापनका साथै प्राविधिक अनुगमनको कार्य पनि सैनिक क्याम्पबाट भइरहेको छ ।

दुम्लिङबाट सदरमुकाम खलंगा तथा गाउँपालिका र वडाका अन्य बस्तीसम्म आवतजावत गर्न महाकाली नदीमा तुइन तर्नुपर्ने बाध्यता रहिआएको छ । तुइनको बाध्यता हटाउन सडकलाई प्राथमिकता दिनुपर्ने स्थानीयको माग छ । 

करिडोर निर्माण पनि सुस्त
महाकाली करिडोरअन्तर्गत २० किलोमिटर नयाँ ट्रयाक खोल्ने, १० किलोमिटर सडक ग्राभेल गर्ने लक्ष्य छ । यो अवधिमा नौ किलोमिटर नयाँ ट्रयाक निर्माण गरिएको र तीन किलोमिटर सडक ग्राभेल गरिएको आयोजनाका इन्जिनियर दीपक विष्टले बताए । दार्चुलाको बेत–उकु खण्ड र खलंगा–हिकिला खण्डमा पनि सडक कालोपत्रेका लागि सडक चौडा बनाउने कार्य भइरहेको छ । 

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्मको तीन सय ३४ किलोमिटर सडक महाकाली कोरिडोरअन्तर्गत निर्माण भइरहेको हो । योमध्ये पुस मसान्तसम्म दुई सय ४२ किलोमिटर सडकको ट्रयाक खुलिसकेको छ । कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा २७ किलोमिटर, बैतडीमा एक सय १० किलोमिटर र दार्चुलामा ९४ किलोमिटर सडकको ट्रयाक खुलिसकेको योजना कार्यालयले जनाएको छ ।

डडेल्धुराको सिमलतालदेखि भागेश्वर गाउँपालिका हुँदै सुनर्यासम्म, बैतडीको शिवनाथ र पञ्चेश्वर गाउँपालिका क्षेत्र तथा दार्चुलाको लेकम र मालिकार्जुन गाउँपालिका क्षेत्रमा सडकको ट्रयाक निर्माण गर्न बाँकी छ । डडेल्धुरामा ३१ किलोमिटर, बैतडीमा ३४ किलोमिटर र दार्चुलामा २७ किलोमिटर सडकको ट्रयाक निर्माण बाँकी रहेको विष्टले बताए । महाकाली कोरिडोरका लागि चालू वर्षमा २९ करोड ६५ लाख बजेट विनियोजन भएकोमा हालसम्म २४ करोड खर्च भइसकेको छ ।