१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १८:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

रैथाने बाली प्रवर्द्धनमा काभ्रे कृषि महोत्सवकाे जोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:४७:oo

काभ्रे जिल्लाको बनेपामा बृहत् काभ्रे कृषि महोत्सव जारी छ। फागुन ७ गतेसम्म चल्ने महोत्सव ४ गते शुक्रबारबाट सुरु भएको हो। महोत्सवको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले  गरेका हुन्।

महोत्सवको स्टल नंं. ६० मा रोसी गाउँपालिका वडा नं. ११ का मीनबहादुर रुचाल मगरलाई भ्याइनभ्याई छ। कोही फापर मागिरहेका छन् भने कोहीले कोदोको पिठो मागिरहेका छन्। मिजासिलो स्वभावमा मुस्कुराउँदै ग्राहकको मागबमोजिम दिन र पैसा लिन मगर व्यस्त छन्।

दैनिक उपभोगका सामग्रीदेखि गाउँका लोकल कृषि सामग्रीहरू राखेका रुचालको स्टलमा महोत्सवमा आएका मानिसहरूको भिड छ। उनले गाउँका अर्गानिक रैथाने बाली कोदोको पिठो तथा दाना, तिते फापर, मिठे फापर, मकैको पिठो, सिलाम, अमला, सिस्नु, बेसार, तरुल, पिँडालु, गुन्द्रुक, गोलभेँडा, सागलगायतका कृषिजन्य उत्पादनहरू राखेका छन्।

महोत्सवमा गाउँका कृषि उपजहरू राम्रै बिक्री भएको रुचालले बताए। फाइदाको लागिभन्दा पनि रैथाने बाली र तरकारीको प्रवर्द्धनका लागि सस्तोमा बिक्री गरिरहेको उनको भनाइ छ। कृषिजन्य वस्तु बिक्री तथा प्रदर्शन गर्न स्टल भाडा रोसी गाउँपालिकाले सहयोग गरेको रुचालले बताए। रुचालले महोत्सवमा रोतिम कृषि सहकारीमार्फत कृषिजन्य वस्तु बिक्री तथा प्रदर्शनमा ल्याएको जानकारी दिए।

यसैगरी, स्टल नं. ८२ मा हेमन्तकुमार घिमिरे डायरीमा नाम, ठेगाना र सम्पर्क नम्बर टिप्नमा व्यस्त थिए। खानीखोला गाउँपालिकाले अर्गानिक तथा रैथाने बालीहरू प्रदर्शनीमा राखेको छ। प्रदर्शनीमा ग्राहकले मागेको वस्तुहरू डायरीमा टिपोट गर्ने र खानीखोलाका किसानसँग जोडिदिएर गाउँबाट ल्याइदिने काम भइरहेको छ।

उक्त स्टलमा फापर, कोदो, धान, पिँडालु, तरुल, सिलाम, असारे सिमी, तुने बोडी, भटमास, मासको दाल, अर्गानिक कफी, बेसार, सिस्नुको पाउडर, सिन्की, गुन्द्रुकलगायतको वस्तु प्रदर्शनमा राखिएको छ।

प्रदर्शनमा राखेका वस्तुहरू ग्राहकले चाहेमा किसानको सम्पर्क नम्बर दिने र किसानसँग सीधै जोडिदिने काम गरेको खानीखोला गाउँपालिका पशु सेवा शाखा प्रमुख हेमन्तकुमार घिमिरेले जानकारी दिए।

‘तिते फापर चिनेकै थिएन’
नमोबुद्ध नगरपालिका वडा नं. ६ की सबिना न्यौपानेले तितेफापर देखेकै थिइनन्। स्टल नं. ६० मा तितेफापर देखेपछि उनी छक्क परिन्। ‘मैले मिठेफापर देखेको छु, खाएको छु। तर तितेफापर देखेको पनि थिइन,’ उनले भनिन्, ‘प्रतिकिलो एक सयका दरले २ किलो किनेकी छु।’ महोत्सवले गर्दा नचिनेका बाली तथा कृषिजन्य उपजहरू चिन्ने मौका मिलेको उनले सुनाइन्। उनले सिस्नुको पाउडर पनि पहिलोपटक देखेको बताइन्। 

अन्य स्टलहरूमा पनि रैथाने बाली प्रदर्शन तथा बिक्रीमा राखिएको छ। डेढ सयभन्दा बढी स्टल रहेको कृषि महोत्सवमा केहीमा कृषि सामग्रीहरू पनि प्रदर्शनमा छ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख तथा बृहत् काभ्रे कृषि महोत्सव समारोह समितिका संयोजक दीपककुमार गौतमले काभ्रेका कृषिजन्य वस्तुको प्रवर्द्धनका लागि महोत्सवको आयोजना गरेको बताए। कृषिसम्बन्धी नजानेका कुरा अवलोकन गरी सिक्ने र सिकेका कुरा सिकाउनका लागि महोत्सवको आयोजना गरेको उनको भनाइ छ। कृषिजन्य वस्तुको प्रवर्द्धनको लागि महोत्सव आयोजना गरेको उनले बताए।

जिल्ला समन्वय समिति काभ्रे, कृषि विकास कार्यालय काभ्रे, पशु सेवा कार्यालय काभ्रे र बनेपा नगरपालिकाको आयोजना, काभ्रे उद्योग वाणिज्य संघको व्यवस्थापन तथा जिल्लास्थित स्थानीय तहको प्रत्यक्ष सहभागितामा भएको महोत्सव फागुन ७ गते समापन हुनेछ।

ad
ad