१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार १२:o९:oo
Read Time : > 3 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

हुनेखानेलाई कर्जा प्रवाह हुन थालेपछि समस्या आएको हो : शंकरमान श्रेष्ठ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:o९:oo
शंकरमान श्रेष्ठ, अध्यक्ष स्वावलम्बन विकास केन्द्र

लघुवित्त वित्तीय संस्थाहरूले गरिबी न्यूनीकरणको उद्देश्य प्राप्तिमा कसरी काम गरिरहेका छन् ?
लघुवित्त एउटा उद्देश्यमुखी कार्यक्रम हो । लघुवित्त चमत्कारी अस्त्र हो, गरिबीलाई शून्यमा झार्न सक्छ । धेरै देशमा लघुवित्तमार्फत गरिबीलाई करिब–करिब शून्यमा झार्ने काम भएको छ । हाम्रो नेपालमा पनि उत्साहका साथ दुईवटा ग्रामीण बैंकको स्थापनाबाट सुरुवात भएको थियो । त्यसपछि ग्रामीण बैंक पाँचवटा पुग्यो । त्यो वेलामा विकास क्षेत्रको अवधारणा थियो । त्यसपछि दुईवटा गैरसरकारी संस्था स्वावलम्बन विकास केन्द्र र निर्धनले गैरसरकारी क्षेत्रमार्फत यसको सुरुवात गरे । आधुनिक लघुवित्त प्रणालीको सुरुवात त्यही वेलामा भएको थियो । साना किसान विकास कार्यक्रमले पनि लघुवित्तसँग समन्वय गरेको थियो । त्यो प्रणाली लघुवित्तको मात्रै भएन । सुरुमा राम्रो काम भयो । विदेशीहरूले पनि यसलाई फूलमुन इन डार्कनेस (अँध्यारोको पूर्णिमा) भनेका थिए । पछि पञ्चायतकालमा यसको राजनीतीकरण भयो । जसले लघुवित्तको प्रभावकारितामा ह्रास ल्यायो । नेपाल राष्ट्र बैंकले विभिन्न मोडलको खोजी गर्‍यो । जसमा ग्रामीण मोडलको माइक्रोफाइनान्स उपयुक्त मानियो । 

बंगलादेशमा नवल लरेट प्राध्यापक महम्मद युनुसले ४१ जना गरिबसँग पहिलोपटक परीक्षण गरेका थिए । गरिबहरू बैंकेबल (बैंकिङ कारोबार गर्न योग्य) हुन सक्छन् कि सक्दैनन् भन्ने उनको खोजको उद्देश्य थियो । सबैको मान्यता थियो, गरिबले धितो दिन सक्दैन । धितो नभई ऋण दियो भने डुब्छ भन्ने थियो । त्यही भएकाले वाणिज्य बैंकहरू लघुवित्तसँग टाढा भाग्थे । साना किसान विकास कार्यक्रम सुरु गर्दा पनि साना किसानबाट डराइडराई धितो लिएर दिन थाले । तर, यो ग्रामीण मोडल सुरु भएपछि पूर्ण रूपमा गरिबलाई नै लक्षित गरेर विनाधितो लघुवित्त प्रवाह भयो । सुरुको अवस्थामा यसले चामत्कारिक प्रभाव पार्‍यो । म आफैँले पनि स्वावलम्बन विकास केन्द्रबाट यसको सुरुवात गरेँ । स्रोत–साधन भएको वाणिज्य बैंकसँग मात्रै थियो । वाणिज्य बैंकसँग हामीले पैसा चाहियो भने उनीहरूले विश्वास गर्दैनथे । टालटुल गर्थे । ग्रिनलेज बैंक (हालको स्ट्यान्डर्ड चार्टर्ड बैंक)सँग हामीले पैसा माग्दा नाइँ भनेन, तर दुई वर्षसम्म उसले कर्जा प्रवाह गरेन ।

मैले प्रोफेसर युनुसलाई चिनेको थिएँ । उहाँ बंगलादेशको माइक्रोफाइनान्सको जन्मदाता हुनुहुन्थ्यो । उहाँ अमेरिकामा पढेको आफ्नै देशमा बस्नुपर्छ भनेर फर्किनुभएको हो । प्रोफेसर युनुस चितगाउँ युनिभर्सिटीको प्रोफेसर हुनुहुन्थ्यो । अर्थशास्त्रको प्रोफेसर भए पनि उहाँले सिकाउनुभएको ज्ञानको उपयोग हुन सकेको थिएन । गरिबलाई ऋण दिने भन्ने थिएन । युनुस गरिबले ऋण तिर्छ कि तिर्दैन भनेर २७ डलरबराबरको टक्का लिएर गाउँगाउँमा जानुभयो । टोकरी बुनेको देख्नुभयो । उनीहरूले बनाएको टोकरी पाँच रुपैयाँमा बिक्री भयो । तर, उनीहरूले ५० पैसा पाउने रहेछन् । यो त शोषण रहेछ । उनीहरूले सबै सामान साहुबाट लिएर टोकरी बुनेर दिने गरेका रहेछन् । यदि यो टोकरी बुन्ने सामान आफ्नै भयो भने कतिमा पाउँछ भन्दा साढे दुईमा पाइन्छ भन्ने जवाफ आयो । ४१ जनालाई टोकरी बुन्ने सामान किन्न २७ डलर दिइयो । १९७५ को वेलाको कुरा हो यो । उनीहरूले टोकरीमा ५० पैसाको ठाउँमा साढे दुई फाइदा भयो । पुँजी आफ्नो हुने भएपछि रिटर्न बढी भयो । पैसा पनि सजिलै तिर्‍यो । धितो नचाहिने रहेछ भन्ने प्रमाणित भयो । गरिबहरू इमानदार हुन्छन् भन्ने अवधारणाले चल्यो लघुवित्त । यसरी लघुवित्त सुरु भयो । यसलाई संस्थागत रूपमै अघि बढाउनुपर्‍यो भनेर युनुसले गरिबले ऋण तिर्दो रहेछ भनेर ऋण मागे । बैंकहरूले प्रोफेसरको पछाडि कुरा काट्न थाले । प्रोफेसर आफैँ जमानी बस्ने भनेपछि बैंकहरूले लगानी गर्न तयार भए । ऋण लगानीको भुक्तानी शतप्रतिशत भयो । यसरी उनले सञ्जाल विस्तार गरे । सोनाली बैंकसँग उनले सम्झौता गरेर १० भन्दा बढी गाउँमा लघुवित्तको सुरुवात गरे । त्यसपछि ग्रामीण बैंकको सुरुवात गरे । सरकारले विश्वास गरेर छुट्टै ग्रामीण बैंक ऐन नै जारी गर्‍यो । त्यो ग्रामीण बैंकले एक करोड ३४ लाखमा सेवा पुर्‍यायो । नेपालमा ५७ लघुवित्त छन्, ६० लाखलाई सेवा पुर्‍याएको दाबी गर्छन् । तर, २९ लाखले मात्रै ऋण लिएका छन् । जुन आधाभन्दा पनि कम हो । ग्रामीण बैंकमा ९५ प्रतिशतले ऋण लिएका छन् । त्यहाँ कुनै किसिमको समस्या छैन । 

यति राम्रो उद्देश्य भएको लघुवित्तमा अहिले समस्या कसरी आयो ?
लघुवित्तमा केही आधारभूत मान्यता छन्, जसलाई पछ्यायो भने काम हुन्छ । पहिलोमा यसले गरिबलाई मात्रै ऋण दिनुपर्छ । धनीलाई ऋण दिन वाणिज्य बैंक छँदै छन् । यो गरिबमुखी कार्यक्रम हो । हुनेखानेलाई कर्जा प्रवाह हुन थालेपछि लघुवित्तमा समस्या आएको हो । दोस्रोमा लक्षित वर्गमुखी हुनुपर्छ । यसले विपन्नलाई लक्षित गर्नुपर्छ । यसका लागि लक्षित वर्गको पहिचान हुनुपर्छ । यसका लागि सहभागितामूलक वेल्थ र्‍याङकिङ गर्नुपर्छ । गरिबको पहिचान समुदाय आफैँले गर्नुपर्छ । गाउँका शिक्षित, गाउँपालिकाका प्रतिनिधि सबैलाई बोलाएर म्यापिङ गर्नुपर्छ । हामीले सुरुवातमा यसरी नै म्यापिङ गरेका थियौँ । लक्षित वर्गको पहिचान भएपछि उनीहरूलाई साक्षरता प्रदान गरिन्छ । बचत भनेको के हो र किन गर्नुपर्छ भन्ने सिकाइन्छ । त्यसपछि उनीहरूलाई थोरै–थोरै पैसा बचत गर्न सिकाइन्छ । 

हाम्रोमा समस्या किन आयो भने एकैचोटि तीन लाखभन्दा बढी पैसा दिइयो । जो गरिब पनि होइनन् । यो गरिबीबाट माथि उठाउने भनेको एकैपटक सम्भव छैन । आफ्नो सन्तानलाई एकैपटक एसइई उत्तीर्ण गराउँछु भनेजस्तै हो । आफ्ना बालबालिकालाई केजी, नर्सरी हुँदै सुरु गर्नुपर्ने हुन्छ । आवश्यकताभन्दा बढी कर्जा प्रवाह गर्दाको परिणाम हो । कम्पनी ऐनअनुसार वित्तीय संस्था दर्ता भए, कम्पनी भनेकै कमाउनका लागि हो । सेयर पुँजी राखेको हुन्छ, लाभांश खोज्न थालियो । यसले मानसिकता नै कमाउनेतर्फ केन्द्रित भयो । मैले सुरुवात गर्दा म्यानेजरलाई १५०० रुपैयाँ तलब दिएको थिएँ । उनीहरू खुसी थिए । गरिबको दैलोमा गएर सेवा गर्थे । विधिलाई छोडेर काम गर्दाको परिणाम अहिले देखिएको हो । केन्द्रीय बैंकको नियमन कमजोर भएकै हो । नियमनले उद्देश्यपरक काम भएको हो कि होइन भनेर हेरिएन । अनुगमन हुन सकेन । तर, लघुवित्त निष्क्रिय भएको होइन ।

स्वावलम्बन विकास केन्द्रले हाल के–कस्तो काम गरिरहेको छ ?
अहिले तीन शून्य (थ्री जिरो) अवधारणामा काम गरिरहेका छौँ । एउटा जिरो भनेको गरिबीलाई शून्यमा झार्ने हो । तराईमा गएर हेर्नुभयो भने ३० वर्ष पहिले र अहिलेकोमा केही फरक पाइँदैन । ५७ वटा लघुवित्त छन् । देशभरका गरिबको पहिचान गर्नुपर्छ । उनीहरूको आवश्यकता पहिचान गर्नुपर्छ । हामीले युवाहरूलाई समेटेर थ्री जिरो क्लब सञ्चालनमा ल्याएका छौँ । डिसेम्बरसम्म एक हजारभन्दा बढी क्लब गठन भएका छन् । स्थानीय तहमा समस्या पहिचान गर्ने काम गर्छन् । स्वरोजगार प्राप्त गर्छन् । ती युवाले अर्को थ्री जिरो क्लब गठन गर्छन् । अहिले वृक्षारोपणको काम गरिरहेका छन् । हरेक युवा आफू बसेको ठाउँमै बसोस् भन्ने हो । एउटा जिरो गरिबीलाई जिरोमा झार्ने हो । अर्को बेरोजगारीलाई जिरोमा झार्ने हो । अन्तिमको शून्य भनेको कार्बनलाई जिरोमा झार्ने हो । 

अहिले हाम्रो शक्ति पलायन भइरहेको छ । हाम्रै काँधमा देश बनाउने जिम्मेवारी छ भनेर रणनीति बनाएका छौँ । अर्को हामीले इकोभिलेजको पनि अवधारणा अघि बढाएका छौँ । हामीले बाह्रबिसेमा सुरु गरिसकेका छौँ । त्यहाँ टनेल बनाएर गोलभेँडा खेती गरिएको छ । गँड्यौलापालन पनि हुन्छ । प्लास्टिकको पोखरी निर्माण गर्ने काम पनि भएको छ । अर्गानिक उत्पादन बढाउने अवधारणामा छ । यस्तो गाउँमा एकजना सदस्य पनि बेरोजगार छैन । एउटा स्वतन्त्र र सामाजिक अर्थतन्त्र निर्माण गर्ने योजनामा छौँ । ऋण दिने काम केन्द्रले गर्दैन, लघुवित्तले गर्ने हो । 

ad
ad