
एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि भएको खेलमा नेपालले मलेसियालाई एक सय १६ रनको लक्ष्य दिएको छ ।
निर्धारित २० ओभरको खेलमा नेपालले ६ विकेटको क्षतिमा एक सय १५ रन बनाएपछि मलेसियाले एक सय १६ रनको लक्ष्य पाएको हो ।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रनको योगदान दिइन् । उनले ३७ बल खेलेकी थिइन् । तर, अन्तिमतिर आएकी डोली भट्टले १३ बलमा दुई छक्काको मद्दतमा बनाएको २३ रन महत्वपूर्ण रह्यो ।
यस्तै, कविता कुँवरले ३१ बलमा २३, सबैभन्दा अनुभवी ब्याटर रुबिना क्षेत्रीले १८ बलमा २० रनको योगदान दिइन् । ओपनर सीता रानामगर १३ बलमा ६ रन बनाएर आउट भइन् भने कविता जोशीले सात बलमा दुई रन मात्र बनाइन् ।
मलेसियाका लागि महिराह इजाती इस्मालीले दुई तथा विनिफ्रेड धुरइसिंगमले एक विकेट लिइन् ।
मलेसियाको क्वालालम्पुरमा जारी म्याचमा टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको हो । अब केहीबेरमा मलेसिया जवाफी ब्याटिङमा उत्रनेछ ।
आजको खेलविजेता प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने मात्र नभई यसै वर्ष हुने महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताका लागि छनोट हुने भएकाले पनि निकै महत्वपूर्ण रहेको छ ।