१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १२:२५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गाईघाट झरना र बराह ताल जोड्न पदमार्ग निर्माण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२५:oo

बागलुङका दुई पर्यटकीय क्षेत्रलाई जोड्न पदमार्ग निर्माण गर्न थालिएको छ। ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिमानामा रहेको गाईघाट झरनालाई बराह तालसँग जोड्न पदमार्ग निर्माण गर्न थालिएको हो। 

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट चालू आर्थिक वर्षमा विनियोजन भएको रु. १० लाखले पदमार्ग निर्माण गर्न थालिएको हो। पदमार्ग निर्माणका लागि पर्यटन तथा उद्योग कार्यालय बागलुङसँग सम्झौता गरेर काम सुरु गरिएको गाईघाट झरना–बराहताल पदमार्ग निर्माण समितिका अध्यक्ष नरबहादुर घर्तीमगरले जानकारी दिए।  

यस वर्ष विनियोजन भएको बजेटले तालसम्म पदमार्ग पुर्‍याउन नसकिने उनको भनाइ छ। पक्की पदमार्ग निर्माण गर्न बढी खर्च लाग्ने हुँदा यस वर्ष करिब सात सय मिटर निर्माण हुने अध्यक्ष घर्तीमगर बताए। गाईघाट झरनादेखि करले गाउँसम्म पदमार्ग निर्माण गर्ने मगरले बताए।

उनले भने, ‘झरनादेखि केही माथिसम्म यसभन्दा अगाडि पदमार्ग निर्माण भएको छ, त्यहाँबाट नयाँ काम सुरु गरेका छौँ, योजना बराह तालसम्म पुर्‍याउने हो, तर बजेटले पुग्दैन, माथि गाउँसम्म पुग्ने ‘स्टिमेट’ भएको छ, कामलाई तीव्रता दिन थालेका छौँ, पदमार्गमा सिमेन्ट, बालुवाको प्रयोग बढी गर्नुपर्ने हुँदा बढी खर्चिलो हुन्छ।’

ताराखोला– १ मा पर्ने झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ। झरनामा आउने पर्यटकलाई तालसम्म पुर्‍याउन पदमार्गले सहजता प्रदान गर्ने ताराखोला– १ का अध्यक्ष यामबहादुर श्रीषले बताए। खासगरी पर्यटन प्रवर्द्धनका लागि पदमार्ग निर्माण गर्न थालिएको उनको भनाइ छ।

गाईघाट झरनादेखि बराह ताल पाँच किलोमिटर उत्तरमा रहेको जनाउँदै तालसम्मै पदमार्ग पुर्‍याउनका लागि आगामी वर्ष प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्ने अध्यक्ष श्रीषले बताए। झरनामा गाउँपालिकाले यसभन्दा अगाडि सोलार बत्ती जडान, बगैँचा व्यवस्थापन, खोलामा पुल बनाएको जनाउँदै पछिल्लो समय पर्यटकको आकर्षण पनि बढ्दै गएको उनको भनाइ छ।

महिनामा करिब दुई हजारभन्दा बढी पर्यटकले झरनाको अवलोकन गर्ने गरेको श्रीषले बताए। सबैभन्दा बढी बिदाको दिनमा पर्यटक आउने गरेका उनले जानकारी दिए।

झरनालाई व्यवस्थित बनाउन प्रदेशले चालू आवमा पदमार्ग निर्माणसहित रु. १५ लाख विनियोजन गरेको उनले बताए। झरनाभन्दा माथि रहेको ताललाई सौन्दर्यकरण गर्नुका साथै त्यस वरपर मन्दिर निर्माणसमेत गरेको वडाध्यक्ष श्रीषको भनाइ छ।

‘अहिलेसम्म झरनामा आउने पर्यटक तालसम्म पुर्‍याउन सकिएको छैन, ताल धेरै टाढा पनि होइन, पाँच किलोमिटरको दूरीमा छ, पदमार्ग निर्माणपछि झरना र ताललाई पर्यटकीय गन्तव्य बनाउन सकिन्छ कि भन्ने लागेको छ,’ अध्यक्ष श्रीषले भने, ‘यस वर्ष पुर्‍याउन नसके पनि आगामी वर्षमा पालिका र प्रदेश सरकारसँग सहकार्य गर्छौँ, तालसम्म पदमार्ग पुर्‍याउने छौँ, पर्यटकको चाप बढ्दै गएको छ, झरनामा आएका पर्यटकलाई तालसम्म पुर्‍याउन सके गाउँका उत्पादनले मूल्य पाउनेछ, रोजगार सिर्जना हुने भने अन्य अवसर सिर्जना हुने अपेक्षा लिएका छौँ।’