
विभिन्न सरकारी कार्यालय, संघसंस्थासँगै व्यक्तिगत नाम उल्लेख गरिएका छाप र जरायोको सिङसहित पोखराबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका- १९ पुरनचौर घर भई हाल पोखरा- ९ नयाँबजार बस्ने वर्ष २८ को सलिश बास्तोला, पोखरा- ९ चिप्लेढुंगा बस्ने वर्ष २५ का सुजन गिरी र पोखरा- ९ बस्ने वर्ष २९ का विवेक श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए ।
पोखरा- ९ नयाँबजारस्थित ब्लु होम डेकोर नाम गरेको पसलमा विभिन्न सरकारी कार्यालयहरू, वडा कार्यालयहरूसमेतका छापहरू तथा जंगली जनावर जरायोको सिङसमेत लुकाइछिपाई राखेको भन्ने गोप्य सूचना प्रहरीलाई प्राप्त भएसँगै वडा प्रहरी कार्यालय बैदाम र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई सोही पसलबाट पक्राउ गरेको हो ।
प्रहरीले सो पसलबाट विभिन्न सरकारी कार्यालय, वडा कार्यालय, संघसंस्थासँगै विभिन्न व्यक्तिको नाम उल्लेख गरिएको २४ थान छाप र जरायोको सिङ दुई थान बरामद भएको थापाले जानकारी दिए ।
यसैगरी प्रहरीले छापहरू बनाउन प्रयोग हुने मेसिन एक थान, मनिटर एक थान, सिपियू एक थानसमेत बरामद गरेको एसपी थापाले जानकारी दिए । पक्राउ परेका उनीहरूलाई बिहीबार अदालतबाट लिखत किर्तेसम्बन्धी कसुरमा १० दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
अदालतबाट म्याद थप भएसँगै बरामद भएको जरायोको सिङसहित उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइनेछ ।