Skip This
कपिलवस्तु बस दुर्घटना :  १० को मृत्यु, कञ्चनपुरका मात्रै सात
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ४ शुक्रबार
  • Saturday, 27 July, 2024
डिलाराम भुसाल कपिलवस्तु
२o८o फाल्गुण ४ शुक्रबार o६:o९:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कपिलवस्तु बस दुर्घटना :  १० को मृत्यु, कञ्चनपुरका मात्रै सात

Read Time : > 2 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८o फाल्गुण ४ शुक्रबार o६:o९:oo

- दुर्घटनामा मृत्यु भएका कञ्चनपुरको पुनर्वास नगरपालिका– ९ बिचफाँटाका किसन भट्ट र उनकी श्रीमती विमलादेवी भट्ट काठमाडौंमा रहेकी कान्छी छोरी सावित्रा भट्टलाई भेट्न हिँडेका थिए ।

- सन्तानको भविष्य कोर्न वैदेशिक रोजगारीका लागि काठमाडौं हिँडेका भीमदत्त नगरपालिका– १ बाराकुण्डाका राहुलराम कामी बीचबाटोमै अस्ताए । उनका श्रीमतीसहित दुई छोराछोरी छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका– १ सुरही खोलामा रात्रिबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । ३० यात्रु घाइते भएका छन् । यात्रु निद्रामा रहेका वेला बुधबार मध्यराति करिब १ बजेतिर दुर्घटना भएको हो । बस बुधबार दिउँसो साढे २ बजे महेन्द्रनगरबाट छुटेको थियो । 

दुर्घटनामा सात पुरुष र तीन महिलाको ज्यान गएको छ । जसमध्ये सातजना कञ्चनपुरका हुन् । त्यसमा पनि पाँचजना एउटै नगरपालिकाका रहेको प्रहरीले जनाएको छ । कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सुनौलो महाकाली यातायातको सुप प्र ०२–००१ ख ००९८ नम्बरको बस राजमार्गबाट सुरही खोलामा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । 

दुर्घटनामा भीमदत्त नगरपालिका–१ का २७ वर्षीय राहुलराम कामी, वडा नम्बर २ का सुदीप भट्ट, वडा नम्बर ४ का २४ वर्षीय उमेश भण्डारी, वडा नम्बर ११ भुजेलाकी सञ्जु थापा र भीमदत्तको बाह्रकुण्डीकी खगेश्वरी खातीको मृत्यु भएको छ । सञ्जुकी आमा नारायणी थापा घाइते छिन् । उनको बुटवलमा उपचार भइरहेको छ ।

त्यस्तै,  पुनर्वास नगरपालिका–९ बिचफाँटाका विमलादेवी भट्ट र उनका श्रीमान् किसन भट्टको पनि मृत्यु भएको छ । पुनर्वास– ९ का वडाध्यक्ष नरबहादुर विकले भट्टद्वय दम्पती रहेको र उनीहरू काठमाडौंमा छोरीको घर जाने क्रममा दुर्घटनामा परेको जनाए । रौतहटको औरही नगरपालिका–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान घर भई नेपाली सेनाको कालीजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी र भारतको उत्तर प्रदेश मुरदाबादका सकिल मुसलमानको पनि ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख नवरत्न पौडेलका अनुसार दुर्घटनामा घाइते  भएका नौजनालाई बुटवल पठाइएको छ । साथै, अरू घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको छ । 

घाइते भन्छन्–  एक्कासि ठूलो आवाज आयो, बस खोलामा खस्यो 
बस एक्कासि हल्लिएर ठूलो आवाज आएको र त्यसपछि खोलामा खसेको घाइते यात्रुले बताएका छन् । दुर्घटनामा बचेका काठमाडौं कीर्तिपुरका अनिल तण्डुकारले भने, ‘क्याबिनमा बसेको थिएँ । ड्राइभरले गियर चेन्ज गर्दा ठूलो आवाज आएको थियो, त्यसपछि त बस एक्कासि खोलामा खस्यो ।’ उनी मूर्तिकार हुन् ।

महेन्द्रनगरका ज्ञानेन्द्र पालले भने एक्कासि ठूलो आवाज आएपछि बस खोलामा खसेको बताए । ‘एक्कासि ठूलो आवाज आयो । सबै चिच्याउन थाले, त्यसपछि बसको बत्ती निभ्यो र बस खोलामा खस्यो,’ घाइते पालले भने, ‘बस खोलामा खसेपछि सबै चिच्याउँदै रुँदै गुहारगुहार गरेका थिए, म होसमै थिएँ । पटक–पटक उठ्न खोजे पनि सकिनँ । मेरो ढाडमा बेस्सरी दुखिरहेको थियो । आँखैअगाडि धेरै सक्त घाइते देख्दा पनि केही गर्न सकिनँ ।’ 

भारतको उत्तर प्रदेश मोरदाबादका अनिश नाउका अनुसार खाना खाएको आधा घन्टाको यात्रापछि करिब १ बजेतिर दुर्घटना भएको हो । प्रहरीसँग सम्पर्क हुन नसक्दा उद्धारमा ढिलाइ भएको थियो । सशस्त्र प्रहरी, नेपाल प्रहरी कपिलवस्तुको रोप रेस्कु टिमले उद्धार गरेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए । दुर्घटनाको जानकारी यात्रुले प्रहरीको १०० नम्बरमा दिएका थिए । 

सडकको वर्गीकरण गरेर मात्र सार्वजनिक सवारी चलाउन दिन गृहको निर्देशन 

दूर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालनामा कडाइ र जोखिमयुक्त सडकमा सार्वजनिक यातायात सञ्चालन रोक्न गृह मन्त्रालयले ७७ जिल्लाकै सिडिओ र प्रहरीलाई निर्देशन दिएको छ । दैनिकजसो भइरहेका सडक दुर्घटनाबाट जनधनको ठूलो क्षति भएकाले पाँचबुँदे परिपत्र गरिएको गृहका सहायक प्रवक्ता एकदेव अधिकारीले बताए ।

सडक सञ्जालको वर्गीकरण गर्ने, जोखिम क्षेत्र पहिचान गर्ने, ट्र्याक मात्र खुला भएको कच्ची तथा सवारीसाधन चलाउन उपयुक्त नभएका सडकमा सार्वजनिक/ठूला सवारीसाधन सञ्चालन सम्बन्धमा स्थानीयस्तबाट समन्वय गरी आवश्यक मापदण्ड बनाई कार्यान्वयन गर्ने परिपत्रमा उल्लेख छ ।

त्यस्तै, चालकको लापरबाही न्यूनीकरणका लागि प्रहरी चेकजाँच, निरीक्षणलगायत भए–नभएको सम्बन्धमा सिडिओ तथा जिल्ला प्रहरी प्रमुख स्वयंले निगरानी गर्न परिपत्रमा भनिएको छ । दुर्घटना न्यूनीकरणका लागि भएका कामको विवरण तीन–तीन महिनामा सबै सिडिओले गृह मन्त्रालयमा पठाउन भनिएको छ ।