१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
सुवास भट्ट काठमाडाैं
२o८१ जेठ १ मंगलबार o६:१५:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्री कार्यालयमा नयाँ संगठनात्मक संरचना

Read Time : > 2 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:१५:oo

- अब १७२ दरबन्दी कायम, दुई सचिव र एक सहसचिवसहित ६८ जनाको दरबन्दी कटौती
- मुख्य सचिवका अतिरिक्त प्रशासनतर्फ तीन, न्यायतर्फ एक सचिवको दरबन्दी कायम
- राष्ट्रिय तथ्यांक कार्यालयमा १११ दरबन्दी कटौती, साबिकका ३३ कार्यालय खारेज गरेर १८ नयाँ समन्वय कार्यालय स्थापना

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) स्वीकृत भएको छ । यससँगै कार्यालयमा कर्मचारीको दरबन्दी संरचना फेरबदल भएको छ । 

नयाँ संगठन संरचनाले दुई सचिव र एक सहसचिवसहित ६८ जनाको दरबन्दी कटौती भएको छ । अब कार्यालयमा एक सय ७२ जनाको दरबन्दी कायम गरिएको छ । 

डेढ महिनाअघि नै मन्त्रिपरिषद्ले संगठन संरचना स्वीकृत गरे पनि कार्यान्वयनको तहमा निर्णय भएर आएको थिएन । मन्त्रिपरिषद्बाट स्वीकृत भएबमोजिम निर्णय गरेर दरबन्दी संरचना अब कार्यान्वयनको तहमा आएको छ । 

स्वीकृत दरबन्दी संरचनाअनुसार अब कार्यालयमा चारजना सचिव (विशिष्ट श्रेणी) को दरबन्दी हुनेछ । साबिकमा सात सचिवको दरबन्दी रहेकामा प्रशासनतर्फका दुई र इन्जिनियरिङतर्फको एकसहित तीन दरबन्दी कटौती भएको छ । 

साबिकमा कार्यालयमै कायम रहने गरेको राष्ट्रिय तथ्यांक कार्यालयको सचिवको दरबन्दी उतै मिलान गरिएको छ । साबिकमा कार्यालयको एक सचिवको दरबन्दी तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी पदमा मिलान गरिएकाले सचिवको कटौती भएको वास्तविक दरबन्दी संख्या दुई मात्र हुन गएको छ । 

यससँगै अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मुख्य सचिवका अतिरिक्त प्रशासनतर्फ तीन, न्यायतर्फ एकजना सचिवको दरबन्दी कायम भएको छ । 

त्यस्तै, सहसचिव (रापत्रांकित प्रथम श्रेणी) तर्फ १० जनाको दरबन्दी स्वीकृत भएको छ । साबिकमा प्रशासनतर्फ रहेका नौमध्ये दुईजनाको दरबन्दी काटिएको छ भने सूचना प्रविधितर्फ एकजनाको नयाँ दरबन्दी सिर्जना गरिएको छ । ओ एन्ड एमले सूचना प्रविधिको नयाँ महाशाखा थप गरेर त्यसका लागि सहसचिवको नयाँ दरबन्दी सिर्जना गरेको हो । 

त्यस्तै, उपसचिव (राजपत्रांकित द्वितीय श्रेणी) तर्फ २८ जनाको दरबन्दी कायम गरिएको छ । साबिकमा ३० जनाको दरबन्दी रहेकामा प्रशासनतर्फ तीन दरबन्दी कटौती गरेर तथा इन्जिनियरिङ (सिनियर डिभिजनल इन्जिनियर)को नयाँ दरबन्दी सिर्जना गरिएको छ । 

यसैगरी शाखा अधिकृततर्फ साबिकको ५५ जनाको दरबन्दीलाई ४३ मा सीमित गरिएको छ । यसभित्र अर्थशास्त्रीको नयाँ दरबन्दी सिर्जना गरिएको छ भने कम्प्युटर इन्जिनियरतर्फ दुई दरबन्दी थप गरिएको छ । 

प्रधानमन्त्री कार्यालयमा साबिकमा कायम रहेको दुई सय ३४ जनाको दरबन्दी अब एक सय ७२ मा झारिएको छ । यसभित्र ६८ दरबन्दी कटौती गरेर ६ दरबन्दी थप तथा नयाँ सिर्जना गरिएको छ । 

कार्यालयमा कर्मचारी दरबन्दी ठूलो भएको भन्दै आलोचना हुँदै आएको थियो । विगतमा गठन भएका विभिन्न आयोग तथा अध्ययन समितिहरूले पनि दरबन्दी घटाउन सुझाव र सिफारिस गर्दै आएका छन् । 

तथ्यांक कार्यालयमा १११ दरबन्दी कटौती 
प्रधानमन्त्री कार्यालयअन्तर्गतकै राष्ट्रिय तथ्यांक कार्यालयमा एक सय ११ दरबन्दी कटौती भएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएको नयाँ ओ एन्ड एमले कार्यालयको दरबन्दी सीमित गरेको हो । खारेज भएका यो दरबन्दी सहायकस्तरका हुन् । 

तथ्यांक कार्यालयअन्तर्गत साबिकमा विभिन्न ३३ जिल्लामा रहेका कार्यालय खारेज भएका छन् । ती कार्यालयमा तीन सय ८४ जनाको दरबन्दी कायम थियो । 

नयाँ संगठन संरचनाअनुसार अब प्रदेशगत रूपमा १८ वटा तथ्यांक समन्वय कार्यालय रहनेछन् । ती कार्यालयले समन्वय गर्नुपर्ने स्थानीय तह पनि किटान गरिएको छ । नयाँ संगठन संरचनाअनुसार अब कोशी प्रदेशमा मोरङ, इलाम र खोटाङमा गरेर तीन समन्वय कार्यालय रहनेछन् । 

मधेश प्रदेशको धनुषा र पर्सा तथा बागमतीमा मकवानपुर, काभ्रेपलाञ्चोक र काठमाडौंमा तथ्यांक समन्वय कार्यालय रहनेछन् । त्यस्तै, गण्डकीमा कास्की, गोरखा र बागलुङ, लुम्बिनीमा रूपन्देही, पाल्पा र दाङ, कर्णालीमा सुर्खेत र जुम्ला तथा सुदूरपश्चिममा कैलाली र डोटीमा तथ्यांक समन्वय कार्यालय रहनेछन् । 

चालू आव ०८०/८१ को बजेटले राष्ट्रिय तथ्यांक कार्यालयमातहत रहेका देशभरका जिल्ला तथ्यांक कार्यालय खारेज गर्ने घोषणा गरेको थियो । त्यसैबमोजिम साबिकका कार्यालय खारेज गरेर प्रादेशिक संरचनामा नयाँ कार्यालय सिर्जना गरिएको हो । 


 

ad
ad