१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
विश्वास नेपाली
२o८१ बैशाख २० बिहीबार o७:o३:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

विश्व सामाजिक मञ्च र नेपाली समाज

विश्वले विकासमा फड्को मारिसक्दा पनि नेपाली समाज अन्याय, अभाव र विभेदमा अल्झिरहेको छ, मानिसहरू दासताको अवस्थाबाट उठ्न सकिरहेका छैनन्

Read Time : > 4 मिनेट
विश्वास नेपाली
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:o३:oo

के ‘अर्काे विश्व सम्भव छ’ ? यही मूल नाराका साथ आगामी २०८० फागुन ३ देखि ७ सम्म काठमाडौंमा विश्व सामाजिक मञ्च आयोजना हुँदै छ । विश्वभरका करिब ४० देखि ५० हजार मानिस भेला हुने अनुमान गरिएको सम्मेलनमा प्रकृति, ब्रह्माण्ड र मानव जीवनका विविध विषयमा चारसय ५० भन्दा बढी सत्रमा विश्वका अनुभवी, दिग्गज र प्राज्ञिक व्यक्तिबाट छलफल, प्रशिक्षण, बहस, पैरवी हुने बताइएको छ । 

सन् २००१ मा ब्राजिलको पोर्ताे एलेग्रेमा भएको पहिलो विश्व सामाजिक मञ्चको १६औँ संस्करण नेपालमा आयोजना हुन लागेको हो । सामाजिक क्षेत्रमा काम गर्ने अभियन्ताहरूका लागि यो एउटा खुसीको क्षण हो । सँगसँगै विश्व समाजलाई नजिकबाट बुझ्ने थलो र नेपालको मुद्दा विश्वसाम पुर्‍याउने अवसर पनि । 

विश्व सामाजिक मञ्चमा मुख्यतः १३ वटा थिम ‘(१) आर्थिक असमानता र आर्थिक न्याय, (२) श्रम, प्रवास, जबर्जस्ती श्रम, दासत्व र बेचबिखन, (३) जातीय, काम र वंशमा आधारित भेदभाव, जाति, जातीय, आदिवासी जनजाति, छुवाछुत, भेदभाव, र सबै प्रकारका भेदभाव, (४) लिंग, लैंगिकता र पहिचान, र लिंक आधारित हिंसा, (५) भूमि, कृषि, कृषि पारिस्थितिकी, खाद्य सम्प्रभुता, ऊर्जा र प्राकृतिक स्रोतहरू, (६) शान्ति, द्वन्द्व, युद्ध, पेसा, विस्थापन र सुरक्षा, (७) शिक्षा, कला र संस्कृति, (८) सञ्चार, सामाजिक सञ्जाल र मिडिया (डिजिटल समानता), (९) लोकतन्त्र, मानव अधिकार, अधिनायकवाद, कानुन र न्याय, (१०) स्वास्थ्य, सामाजिक सुरक्षा र समानता, (११) जलवायु न्याय, पारिस्थितिकी, आवास र दिगो विकास, (१२) महिला, बालबालिका, युवा, किशोरकिशोरी, वृद्धवृद्धा र अपांगता भएका व्यक्तिहरू सामाजिक आन्दोलन नागरिक अन्तरिक्ष र विश्व सामाजिक फोरमको भविष्य, (१३) सामाजिक आन्दोलनहरू, नागरिक ठाउँ र विश्व सामाजिक फोरमको भविष्य’मा बृहत् छलफल र बहस हुनेछन् । 

विश्व मानव समाज यतिवेला जलवायु संकट, असमानता, गरिबी तथा भोकमरी, सार्वजनिक स्वास्थ्य, द्वन्द्व र हिंसा, वातावरणीय क्षति, प्रविधिको प्रयोगजस्ता समस्याबाट गुज्रिरहेका छन् । पृथ्वीमा विभिन्न खालका समस्या उत्पन्न भइरहेका छन् । यी मुद्दा संयुक्त राष्ट्र संघले सन् २०१५ देखि २०३० सम्म तय गरेको १७ वटा दिगो विकास लक्ष्यमा पनि समेटिएका र सम्बोधन गरिनुपर्ने विषय हुन् । 

विश्व सामाजिक मञ्चको १६औँ संस्करण नेपालमा आयोजना हुनु सामाजिक क्षेत्रमा काम गर्ने अभियन्ताका लागि खुसीको क्षण हो भने विश्व समाजलाई नजिकबाट बुझ्ने थलो र नेपालको मुद्दा विश्वसामु पुर्‍याउने अवसर पनि हो

यी समस्यासँग जुध्दै मानव जीवन र विश्व मानव समुदायलाई जोगाइराख्नका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायबीच सहकार्य, सहअस्तित्व र सहयोग आदानप्रदान जरुरी छ । यसका लागि व्यक्ति, समाज, सरकार, व्यवसायी र नागरिक समाजको सहकार्य जरुरी छ । तर, के अहिलेको हाम्रो विश्व समाज यी कार्यका लागि तयार छ त ?

अहिले विश्व सीमित संख्याका शक्तिशाली राष्ट्र र सीमित संख्याकै पुँजीपतिको कब्जा, अर्थात् उनीहरूकै इसारामा चल्नुपर्ने प्रत्यक्ष–अप्रत्यक्ष मारबाट गुज्रिरहेको छ । बजार उनीहरूको कब्जामा छ । राजनीति उनीहरूको कब्जामा छ । उत्पादन र वितरणसमेत उनीहरूकै कब्जामा छ । उपभोग्य वस्तुको मूल्य उनीहरूकै नियन्त्रणमा छ ।

अहिलेको विश्वमा प्रमुख समस्याको रूपमा जलवायु संकट देखा परेको छ । यसले मानव समुदायलाई मात्र नभई विश्वको जलवायु, प्रकृति, वातावरण, जीवजन्तु र पर्यावरणलाई नै नराम्रो प्रभाव पार्दै लगेको छ । जसले गर्दा हिजोको सेता हिमाल देखिन छाडे । पानीका मुहान सुक्ने थाले । बढ्दो तापक्रम, बढ्दो सुक्खापन र खडेरीले कृषि उत्पादन घट्न थाल्यो । यस्तो जलवायु संकट निम्त्याउने पनि मानवीय क्रियाकलाप नै हुन् ।

आजका विकासशील देश, जसले ठुल्ठूला आणविक भट्टी, कलकारखाना, उद्योगधन्दा चलाए, उनीहरूकै कारण ब्रह्माण्डमा प्रत्यक्ष असर पर्न गएको हो । युरोपियन युनियनको कपर्निकस क्लाइमेट चेन्ज सर्भिसले सन् २०२३ को फेब्रुअरीदेखि २०२४ को जनवरीसम्म गरेको सर्वेक्षणमा पृथ्वीको तापक्रम सरदर १.५ डिग्री बढेको बताएको छ । कार्बन उत्सर्जन न्यूनीकरणमा औद्योगिक मुलुकले जुन कदम चाल्नुपर्ने हो, त्यता बेवास्ता गरिदिँदा उत्सर्जन बढ्दो छ । यो विषयमा उचित बहस र पैरवी नहुने हो भने यसले भयावह स्थिति ल्याउने निश्चित छ ।

विश्व सामाजिक मञ्चमा यो विषय प्रमुखताका साथ उठ्ने र छलफल गर्ने एवं सम्बन्धित देशलाई यो विषयमा उचित कदम चाल्न आह्वान पनि गर्नुपर्ने देखिन्छ । विश्वका करिब एक प्रतिशत धनीहरूले विश्व बजार कब्जा गरेका छन् । स्रोत र सम्पत्ति थुपारेका छन् । संसारका अधिकांश मानिस मध्य र साना आय भएका वर्गमा पर्छन् । मानव विकासक्रमको सामूहिक उत्तरदायित्व र सामूहिक जीवन पद्धतिबाट मानिस व्यक्तिगत सम्पत्ति र व्यक्तिवादी जीवन पद्धतितर्फ बदलिएपछि क्रमशः सामूहिक जीवन पद्धति छिन्नभिन्न हुँदै गएको छ । निजी सम्पत्तिप्रति मोह बढ्न थाल्दा हुने र सक्नेहरूले सम्पत्ति थुपार्दै आएका छन् । मानिसलाई जतिसक्दो बढी आफ्नो स्वामित्वमा भूमि, सम्पत्ति र स्रोत राख्ने हुटहुटीले समाजमा वर्ग विभाजित छ । माक्र्सले उहिल्यै भनेका थिए, समाजमा हुने र नहुने वर्गहीच द्वन्द्व छ । अहिले वर्गीय समाज छ । जसलाई नभत्काएसम्म न त समाजवाद आउँछ, न त साम्यवादमै पुग्न सकिन्छ । साम्यवाद अर्थात् सबै बराबरी । 

आज हामी देखिरहेका छौँ, जनसंख्याको अधिकांश हिस्सा किसान र मजदुर छन् । तर, उनीहरू भुइँमा छन्, त्यही भुइँको स्वामित्व र पहुँच उनीहरूसँग छैन । यसले गर्दा यो जगत्मा एउटा वर्गलाई अब त बाँच्नै सकिँदैन कि भन्ने आभास हुन्छ । र, उनीहरू जमिन र जगत्मा आश्रय र जीविकाका लागि संघर्ष गरिरहेका छन् । भूमि, पानी, जलवायु, रोजगारी, खाद्यन्नका लागि लामो लडाइँ लडिरहेका छन् । 

आफ्नो स्वामित्वमा जमिन वा उत्पादन गरी खाने भूमिको पहुँच नहुँदा विश्वमा अहिले पनि करिब १० प्रतिशत जनसंख्या भोकमरीमा छन्, अर्थात् संसारका एक अर्बजति मानिस राति भोकै सुत्छन् । गरिबीमध्ये करिब एक भाग मानिस भूमिहीन छन् । विश्व भोकमरी सूचक प्रतिवेदन २०२२ अनुसार ८२ करोड ८० लाख मानिस भोकमरीको चपेटामा बाँच्न विवश छन् । हरेक वर्ष ९० लाख मानिसको भोकमरीका कारण मृत्यु हुने गरेको छ । विश्व भोकमरी सूचीमा १२१ देशमध्ये नेपाल ८१औँ स्थानमा छ । 

संयुक्त राष्ट्र संघले सन् २०१५ मा दिगो विकासका लागि १७ वटा लक्ष्य सार्वजनिक ग¥यो । यो लक्ष्य आगामी २०३० सम्म पूरा गर्ने महत्वाकांक्षी योजना अघि सारिएको छ । संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रले यी लक्ष्य कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाएका छन् । तर, दिगो विकास लक्ष्यको पहिलो बुँदामै राखिएको गरिबी अन्त्य र दोस्रो लक्ष्यमा राखिएको शून्य भोकमरी भने पनि आज पनि विश्वमा करोडौँ मानिस गरिबीमा छन् । भोकमरीको चपेटामा छन् । एक छाक पेट भर्न गाह्रो छ ।

विश्वमा अहिले पनि हिंसात्मक द्वन्द्वका घटना बढ्दो छ । एउटा देशले अर्काे देशलाई कब्जा गर्ने वा अधीनमा राख्ने नाममा द्वन्द्व बढ्दो छ । पहिल्लो समयमा रुस–युक्रेन युद्ध होस् वा इजरायल–प्यालेस्टाइन युद्ध । जसले मानव समुदायलाई नराम्रो प्रभाव पारिरहेको छ । कतिपय विकसित मुलुकले आफ्नो देशमा उत्पादन भएको आधुनिक हतियार बिक्री गर्नका लागि दोस्रो–तेस्रो देशलाई युद्धप्रति अभिप्रेरित गरिरहेका छन् । नाफामा रहन र शक्तिमा रहिरहन गरिएको यस्तो कार्यले सिंगो मानव समुदायलाई प्रत्यक्ष असर पारिरहेको छ । उनीहरूको बाँच्न पाउने अधिकार हनन भइरहेको छ । 

अहिले हामी आधुनिक युगमा छौँ । यो युग प्रविधि र सञ्चारको युग हो । संसारका विकसित देश यस्तो प्रविधिको प्रयोगमार्फत विभिन्न ग्रहको भ्रमण गर्न थालिसके । प्रविधिकै प्रयोगले विकासमा धेरै फड्को मारिसके । तर हाम्रो नेपाली समाज अहिले पनि विभिन्न समस्याले गुज्रिरहेको छ । यहाँका युवालाई देशले रोक्न सक्ने अवस्था छैन । विभिन्न तेस्रो मुलुकमा गएर पसिना बगाउनुपर्ने बाध्यतामा नेपाली छन् । युद्धरत देशमा समेत गएर आफ्नो जीवन युद्धमा होमाउन बाध्य छन् । 

नेपाली राजनीति र राज्य व्यवस्था जनमुखी हुन नसक्दा यहाँ विभिन्न खालका अवसर सिर्जना हुन सकिरहेका छैनन् । पढ्नका लागि धेरै खर्चेर बिदेसिनु बाध्यता बन्दै छ । काम गर्न बाहिर जानुपर्ने बाध्यता छ । मजदु््री गर्न बाहिर जानुपर्ने बाध्यता छ । देशमा शिक्षा, स्वास्थ्य, रोजगारी, आवासका लागि सबै मानिसको पहुँच छैन । यी विषय राज्यले निःशुल्क पनि गर्न सकेको छैन । विकृत राजनीतिले देशलाई गन्जागोल बनाइरहेको छ । भुइँतहका मानिस पीडामा छन् । नेपाल अहिले पनि कृषि उत्पादनमा निर्भर देश हो । सक्नेजति युवा त विदेश गएका छन् । परिश्रम गरिरेहका छन् । त्यहाँबाट केही रेमिट्यान्स पठाएर परिवारको जीविकोपार्जनमा मद्दत पनि गरिरहेका छन् । तर, यहीँ बस्ने अधिकांश मानिस त कृषिमै निर्भर छन् । 

नेपाली किसानका समस्या, भूमिहीनता, गरिबी, जलवायु संकट र त्यसले पारेको असर न्यूनीकरणका लागि विश्व समुदायको ध्यान जानुपर्छ । विकसित मुलुकका कारण नेपाली समुदायले भोग्नुपरिरहेको समस्याको उचित सम्बोधनका लागि उनीहरूले पनि पैरवीको विषय बनाउनुपर्छ । 

विश्वले विकासमा फड्को मारिसक्दा नेपाली समाज अहिले पनि अन्याय, अभाव र विभेदमा अल्झिरहेको छ । मानिसहरू दासताको अवस्थाबाट माथि उठ्न सकिरहेका छैनन् । पश्चिममा कायम हलिया प्रथा होस् या तराईंका हरवाचरवा, हजारौँ मानिसले दासताको जीवनबाट उन्मुक्ति पाउन सकिरहेका छैनन् । राज्यले त्यता ध्यान दिएको छैन । लाखौँ मानिस गरिबी, भूमिहीनताको जीवन बिताइरहेका छन् । कुल जनसंख्या १४ प्रतिशतभन्दा बढी दलित जनसंख्या अहिले पनि छुवाछुतजन्य विभेदकारी अभ्यासबाट पिल्सिएका छन् । यी विषयमा पनि विश्व समुदायको ध्यान जानुपर्छ र नेपाली समाजलाई सुन्ने गरी भन्नुपर्छ कि मानव सबै एक हुन्, आर्थिक, सामाजिक, जातीय, वर्गीय रूपमा विभेद गरिनु अमानवीय कार्य हो । 

ad
ad